माथिल्लो बलेफी ‘ए’को परीक्षण शुरू

सिन्धुपाल्चोक/पर्वत । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजनाको संरचना परीक्षण शुरू    गरिएको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरू गर्नुअघि संरचनामा कुनै समस्या भए÷नभएको यकिन गर्न परीक्षण थालिएको हो । अहिले आयोजनामा जडान भएका उपकरणको परीक्षण भइरहेको र सुरुङ लगायत संरचनामा पानी भरेर हेर्न लागिएको प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजूले बताए । पानी भरेर संरचनाको अवस्था ठीक भए/नभएको निश्चित गर्न करीब २ साता लाग्ने जानकारी उनले दिए । ‘उपकरणहरूको आन्तरिक परीक्षण सकिएको छ, अब आयोजनाको बाँध, सुरुङ र पाइपलाइनमा पानी भरेर कुनै समस्या भए नभएको हेर्ने काम थालेका छौं,’ उनले भने, ‘संरचनाको परीक्षण सफल भए तत्काल उत्पादन शुरू गर्नेछौं ।’ सबै चरणको परीक्षण पूरा गरेर विद्युत् उत्पादन शुरू गर्न बढीमा १ महीना लाग्ने उनले बताए । आयोजनाको सबै संरचनाको निर्माण पूरा भइसकेको छ । आयोजनाको विद्युत् दशैंअघि नै राष्ट्रि प्रसारण लाइनमा जोड्ने योजना अनुसार काम भइहेकोमा गत असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोको अवरोधले उत्पादन मिति पछि धकेलिएको हो । यसअघि आयोजनाबाट २०७८ जेठदेखि नै विद्युत् उत्पादन शुरू गर्ने लक्ष्य थियो । यही समयमा कोरोना महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण निर्माण सामग्री तथा उपकरण ढुवानीमा भएको समस्या भएको थियो । साथै केही कामदार र कर्मचारी कोरोना संक्रमित भएपछि निर्माण प्रभावित हुँदा उत्पादन तालिका असोजमा सारिएको थियो । आयोजनाको विद्युत्गृहमा १२ मेगावाटका तीनओटा उत्पादन युनिट रहनेछन् । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् २२ किमी दूरीमा रहेको १३३ केभी क्षमताको प्रसारण लाइन मार्फत लामोसाँघु सबस्टेशनमा जोडिनेछ । विद्युत्गृहदेखि सबस्टेशनसम्म आवश्यक प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिसकेको छ । यो आयोजना सम्पन्न हुँदासम्म ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ३० प्रतिशत ऋण र ७० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाइमा एभरेष्ट, सानिमा, नेपाल एसबिआई र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका छन् । यसैबीच, पर्वतको मोदीखोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको छ । निर्माण थालिएको ९ वर्षमा आयोजनाले विद्युत् उत्पादन शुरू गरेको हो । पर्वतको कुश्मा नगरपालिका–८ मा विद्युत्गृह र मोदी गाउँपालिका–२ मा बाँध रहेको यो आयोजनाले उत्पादित विद्युत् हालै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमानसहित २०६९ साउनमा शुरू भएको आयोजना ६० महीना अर्थात् २०७४ असारभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर, भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवाद लगायत कारण निर्धारित समयभन्दा करिब ४ वर्ष ५ महिना ढिलाइ भएको हो । आयोजनाको विद्युत् करिब ५ सय मिटर टाढाको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि आयोजनाले सार्वजनिक गरेको छैन । आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भइनसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिए । २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाबाट वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । तर समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको बताइएको छ ।