कैलालीमा ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप, कारण यस्तो !

कैलाली । कैलालीमा नेकपा (एमाले) का दुई पक्षीय कार्यकर्ताबीच झडप भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच बुधबार झडप भएको हो । पार्टी कार्यालयमा ओली पक्षीय कार्यकर्ताले राखेको बोर्ड नेपाल पक्षले तोडफोड गरिदिएपछि दुवै समूहबीच झडप भएको थियो । एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट कि भीम रावल भन्ने विषयमा विवाद बढ्दै जाँदा झडपको अवस्था आएको हो । एमालेको ओली समूहले तत्कालीन सुदूरपश्चिम इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड फालेर लेखराज भट्ट र कर्ण थापाको बोर्ड लगाएका थिए । त्यो बोर्ड माधव नेपाल पक्षीय कार्यकर्ताले तोडफोड गरेपछि नेपाल र ओलीपक्षीय कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । नेकपाको नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा भंग भएपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता लेखराज भट्ट ओली पक्षमा उभिएर सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका थिए । तर, माधव नेपाल पक्ष भने भीम रावल नै प्रदेश इन्चार्ज हुनुपर्ने अडानमा छ । झडपपछि पार्टी कार्यालय आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित सामग्री

स्याङ्जा चापाकोटमा एमाले-माओवादी कार्यकर्ताबीच झडप, हवाई फायर

पोखरा । स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ । झडपका कारण मतदान हुन नसक्ने स्थिति आएपछि एक राउन्ड हवाई फायर गरिएको स्याङ्जा प्रहरीका डिएसपी रवीन्द्र खनालले नेपाल प्रेसलाई जानकारी दिए । अहिले त्यहाँ सर्वदलीय बैठक बसी मतदान सुचारु गर्न लागिएको छ ।

रौतहटमा झडप : दुईजना घाइते

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत रौतहटको गढीमाई नगरपालिकामा झडपका कारण रोकिएको मतदान पुनः सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित गरिएको थियो । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार झडपमा परी दुईजना घाइते भएका छन् । सिंगारमन निर्वाचन केन्द्रमा भोट खसाल्ने विषयमा झडप...