६ सय जनालाई कोरिया र इजरायल पठाउँदै महासंघ, मासिक ४ लाख कमाइ हुने

कृषि सम्बन्धि ज्ञान आर्जनका लागि नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली युवाहरुलाई पठाउने भएको छ । जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई बलियो बनाउन उनीहरुकै सिफारिसमा ६ सय जनालाई कोरिया र इजरायल पठाउन लागिएको महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले जानकारी दिए ।उनका अनुसार कोरियामा ५ सय जना र इजरायलमा १ सय जना गरी ६ सय जना कृषि प्रशिक्षार्थी पठाउन लागिएको हो । कोरिया र इजरायल जाने कृषि प्रशिक्षार्थी जिल्ला उद्योग वाणिज्य संघले नै छनोट गर्ने गरी छनोटको विधि प्रस्ताव गरिएको सभापति सुमार्गीले जानकारी दिए । छनोटका क्रममा जाने प्रशिक्षार्थीले बुझाउने दस्तुरमध्ये केही रकम जिल्ला नगरलाई नै दिएर आर्थिक रुपमा जिल्ला नगर उद्योग वाणिज्य संघलाई बलियो बनाउने योजना रहेको सुमार्गीले सुनाए । छनोट भएका प्रशिक्षार्थीलाई आधारभूत तालिम यहीँ प्रदान गरिनेछ । यस्ता प्रशिक्षार्थीले ५ महिनाको भिसा पाउनेछन् । हवाइ भाडा, बीमा, स्वास्थ्य परीक्षण र बायोमेट्रिक गरी जम्मा २ लाख ५० हजारको हाराहारीमा खर्च हुनेछ । हप्तामा ५ दिन प्रतिदिन ८ घण्टाका दरले काम गर्नुपर्नेछ । प्रतिमहिना १९ सय डलर तलब पाउनेछन् । हरेक दिन बिहान र बेलुका २/२ घण्टा ओभरटाइम काम गर्ने र सो वापत भत्ता पाउने गरी सम्झौता हुन लागेको सुमार्गीले जनाए । ओभर टाइम गर्दा प्रतिघण्टा ८ डलरका दरले भत्ता पाइनेछ ।त्यस्तै, बिदा हुने शनिबार र आइतबार पनि काम गर्ने छुट रहेको र उक्त दिन काम गर्दा ओभरटाइम सरह भत्ताको प्रवन्ध रहेको सुमार्गी बताउँछन् । ‘३० वर्षदेखि ५५ वर्ष सम्मका व्यक्तिहरु पठाउने गरी उताबाट प्रस्तावमा अन्तिम सहमति हुनेवाला छ, तर यहाँ नेपाली युवाहरुले २५ वर्षमाथि उमेर भएकाले जान पाउने गरी प्रस्ताव गर्न अनुरोध गर्नुभएको छ, हामी अब २५ वर्ष माथिका युवाहरु जान पाउने गरी अर्को प्रस्ताव पनि गर्दैछौँ’ उनले भने ।यसरी हुन्छ महिनाको ४ लाख कमाईसुमार्गीका अनुसार प्रतिमहिना ३ लाख रुपैयाँ चोखो जोगाएर ५ महिनामा १५ लाख रुपैयाँ लिएर फर्किन सक्ने गरी पहिलोपटक महासंघ र कृषि उद्यम केन्द्रले पहल गरेर नेपाली युवालाई कोरिया र इजरायलमा कृषि प्रशिक्षार्थीका रुपमा पठाउन लागिएको हो ।‘मासिक ४ लाख बढी कमाउने र खाएर, रमाएर पनि ३ लाख चोखो बचाएर आउँदा उसले ५ महिनामा १५ लाख लिएर आउन सक्ने भयो । उसले त्यहाँ पैसा मात्रै कमाउँदै, सीप पनि सिक्छ, सिकेको सीप यहाँ लगाउँदा लगानीका लागि अलिकति पैसा पनि भयो’ सुमार्गी भन्छन्, ‘यदि उसले उता भने अनुसार राम्रो काम गर्यो भने अर्को ५ महिना पनि थप गर्न सक्ने प्रावधान छ । ५ महिना थप गरेर बस्न सक्यो भने ३० लाख लिएर आउँछ । ३० लाख यहाँ आएर कृषिमा लगाउँदा आफू उद्यमी पनि भयो, रोजगारी पनि सिर्जना भयो ।’तलब वापतको १९ सय डलर अनुसार नेपाली २ लाख ४५ हजार, हरेक दिन बिहान २ घण्टा र बेलुका २ घण्टा गरी महिनामा २५ दिनको १ सय घण्टा ओभरटाइमको १ लाख ३ हजार र बिदाको दिन (शनिबार र आइतबार) प्रतिदिन ८ घण्टा मात्रै काम गर्दा मासिक ६४ घण्टाको ६६ हजार गरी कुल ४ लाख ११ हजार आम्दानी हुने र खर्च गरेर पनि ३ लाख जोगाउने गरी प्रवन्ध मिलाइएको सुमार्गीको दाबी छ ।  छनोट प्रावधान केही दिनमायोग्यता लगायतका प्रवधान भने केही दिनमै टुंगो लाग्ने उनको भनाइ छ । जिल्ला नगरले सूचना आह्वान गरेर यसरी कोरिया र इजरायल जाने प्रशिक्षार्थी छनोट गर्ने भनिएपनि छनोटका मापदण्ड भने केही समयपछि फाइनल गरिने सुमार्गी बताउँछन् ।

सम्बन्धित सामग्री

इजरायल, बेलायत र दक्षिण कोरियामा मौसमी श्रमिकको माग, मासिक कमाइ २ लाखमाथि

बेलायत, दक्षिण कोरिया र इजरायल मौसमी रोजगारीमा जाने कामदारको भिसा ६ देखि ९ महिनाको लाग्नेछ ।