चितवन । चितवनको कालिका नगरपालिकाले वित्तीय जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रवार नगरपालिकाले सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग अन्तरक्रिया गरेको हो । पछिल्लो समय आर्थिक संकटले सहकारीमा पारेको असर, वित्तीय जोखिम र त्यसले स्थानीय आर्थिक विकासमा पार्ने प्रभावका विषयमा छलफल गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए ।
सहकारीको नीति, सिद्धान्तको अनुशरण गरी सेवाग्राही मैत्री कारोबार गर्न रेग्मीले सहकारीका सञ्चालकलाई निर्देशन दिए । सहकारीले संयमित र सन्तुलन कायम गरी बचत तथा ऋण लगानी गर्नुपर्ने उनको भनाइ थियो । आर्थिक संकटका बेला सहकारीले अवलम्बन गर्नुपर्ने सजकता, बचत तथा ऋण लगानीको विषयमा सञ्चालकलाई सचेत गराइएको प्रमुख प्रशासकीय अधिकृत केशवप्र्रसाद उपाध्यायले जानकारी दिए । कार्यक्रममा स्थानीय र प्रदेशस्तरीय कार्यक्षेत्र भई कालिकामा सञ्चालनमा रहेका २५ ओटा सहकारीको सहभागिता थियो ।