विश्वकै ठूलो पाम तेल निर्यातकर्ता इन्डोनेशियाले निर्यातमा गर्यो कडाइ, नेपालको निर्यात व्यापार ठप्प हुने

फागुन २६,  काठमाडौं। विश्वको शीर्ष पाम तेल आपूर्तिकर्ता देश इन्डोनेशियाले पाम तेलको निर्यात थप कसिलो बनाएको छ । घरेलुस्तरमा तेलको आपूर्ति बढाउन र स्थानीय बजारमा खाने तेलको मूल्यमा भइरहेको वृद्धि रोक्न बिहिवारदेखि लागू हुने गरी यस्तो कदम चालिएको हो ।  पछिल्लो घोषणा अनुसार इन्डोनेशियाली पाम तेल निर्यातकर्ताहरुले निर्यात योजनाको ३० प्रतिशत कच्चा पाम तेल र ओलिन घरेलु बजारमा विक्री गर्नु पर्नेछ । यस अघि यो अनुपात २० प्रतिशत मात्रै थियो । नयाँ प्रतिबन्ध कम्तिमा पनि ६ महीनासम्म रहनेछ ।  इन्डोनेशियाको पछिल्लो कदमले विश्व बजारमा प्रतिमहीना १ लाख टन पाम तेल कम आपूर्ति हुनेछ । यसले खाने तेलको उपलब्धता थप कसिलो हुनेछ । यस अघि नै सूर्यमुखी तेलको प्रमुख आपूर्तिकर्ता देशहरु रुस र युक्रेनबीच युद्धका कारण विश्वमा खानेतेलको आपूर्ति प्रभावित भएर भाउ बढिरहेको थियो ।  इन्डोनेशियाले पाम आयल निर्यात कडाई गरेपछि बुधवार मलेशियन बेञ्चमार्कको पाम फ्यूचर्स १० प्रतिशतले बढेर ७ हजार रिंगिट माथि पुगेर बन्द भएको थियो । खाने तेलको सञ्चिति कसिलो भएको र कालो सागर क्षेत्रबाट हुने खाने तेलको ढुवानी ठप्प भएकोले आगामी महीनाहरुमा पाम आयलको भाउ कीर्तिमानी स्तर नजिक रहने विश्लेषकहरुले बताएका छन् । इन्डोनेशिया पछि मलेशिया विश्वको दोस्रो ठूलो पाम आयल आपूर्तिकर्ता हो । विश्वको कुल पाम आयल आपूर्तिमा यी दुई देशको हिस्सा ९० प्रतिशत छ । विश्व बजारमा मूल्य बढेसँगै वर्षको शुरुमा घरेलु बजारमा खाने तेलको भाउ ४० प्रतिशतभन्दा धेरैले बढेपछि इन्डोनेशियाले जनवरीको अन्त्यतिर पहिलो पटक निर्यात कसिलो बनाएको थियो । विश्वभर आपूर्ति अभावका कारण विगत एक वर्षमा खाने तेलको मूल्य बढेको छ । पाम आयलको भाउमा भइरहेको वृद्धिका कारण भट्मासको तेल, सूर्यमुखी तेल र तोरिको तेल जस्ता अन्य तेलको माग बढेका छन् । विगत एक वर्षमा पाम आयल भट्मासको तेल र क्यानोलाको मूल्यले पटक पटक नयाँ उचाई छोएका छन् । बुधबार सिकागोमा भट्मासको तेलको मूल्य अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको थियो ।   इन्डोनेशिया नेपालको शीर्ष कच्चा पाम आयल आपूर्तिकर्ता हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा नेपालले २९ अर्ब २२ करोड रुपैयाँ भन्दा धेरैको कच्चा पाम आयल आयात गरेको छ । यसमध्ये २३ अर्ब ९३ करोड रुपैयाँ भन्दा धेरैको कच्चा पाम आयल इन्डोनेशियाबाट आयात भएको छ । नेपाली कम्पनीहरुले कच्चा पाम आयल प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका छन् । कच्चा पाम तेललाई प्रशोधन गरि भारत पठाउँदा नेपालको निर्यात व्यापारमा यसले हिस्सा ठूलो देखिदै आएकोमा अब भने त्यो पनि रोकिने अवस्था आएको हो । रुसले युक्रेनमाथि हमला गरेपछि हालैका दिनमा नेपाली बजारमा सुर्यमुखी देखि भट्माससम्म सबै प्रकारका खाने तेलको भाउ बढेको छ । इन्डोनेशियाले कच्चा पाम आयलमा कडाई गरेपछि बजारमा तेलको भाउ थप बढ्ने विश्लेषण गर्न लागिएको छ ।     

सम्बन्धित सामग्री

९ महीनामा ६९.४४ % ले बढ्यो स्वदेशी वस्तुको निर्यात, व्यापार घाटा २८ % ले वृद्धि

वैशाख ९, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महीनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार ९ महीनामा रू. एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रू. ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो । चालू आवको ९ महीनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । ९ महीनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रू. १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रू. ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।  २८ प्रतिशतले बढ्यो व्यापार घाटा निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको ९ महीनामा रू. साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको ९ महीनामा नेपालले रू. १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले रू. १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । यस्तैगरी चालू आवको ९ महीनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा रू. १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जानकारी दिएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रू. १२ खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो । दुई खर्बको पेट्रोलियम पदार्थको आयात भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महीनाको तथ्यांकअनुसार नेपालले रू. दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । ९  महीनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि रू. एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार ९ महीनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा रू. एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र रू. ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो । रू. ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । ९ महीनाको अवधिमा रू. ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, रू. ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, रू. ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र रू. २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ । १६२ देशबाट आयात विभागले सार्वजनिक गरेको चालू आवको पहिलो ९ महीनाको अवधिमा नेपालमा १६२ देशबाट रू. १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । ९ महीनामा नेपालले भारतबाट रू. ९ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने रू. एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै रु सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट ९ महीनामा रू. दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने रू. ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र रू. दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ । रासस