उच्चस्तरीय कार्यदलले गर्‍यो बीपी प्रतिष्ठानमा आन्दोलनरत् पक्षसँग छलफल

४ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले सोमबार धरान पुगेर आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीका मागबारे छलफल गरेको संयुक्त संघर्ष समितिका सदस्य डा. पदम नेपालीले जानकारी दिए । […]

सम्बन्धित सामग्री

बीपी आन्दोलन : उच्चस्तरीय कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको भ्रष्टाचार र अनियमितताको चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्रीको निर्देशनमा गठित उच्चस्तरीय कार्यदल पहिलो चरणको सूचना संकलनको काम सकेर काठमाडौं फर्किएको छ । प्रतिष्ठानमा विगत ३६ दिनदेखि चलेको आन्दोलनको निकाससहित प्रतिष्ठान सुधारका लागि अध्ययन गर्न आएको टोली पहिलो चरणको अध्ययन सकेर काठमाडौं फर्किएको हो । गत बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गरिएको थियो । विभिन्न शाखाका सचिवस्तरीय कार्यदलले १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ । सोमवार आएको अध्ययन टोलीले आन्दोलनकारी सहित पदाधिकारी, विभागीय प्रमुख, नागरिक समाज, धरान उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र पत्रकारहरूसँग छलफल गरेको थियो । टोलीका संयोजक अर्यालले पहिलो चरणको वस्तुस्थितिको अध्ययन गरिएको बताए । अर्यालका अनुसार टोलीले चार समूहमा विभाजन भएर प्रतिष्ठानमा समस्या आउनुको कारण र यसको निकासको बाटोका विषयमा विभिन्न निकायसँग छलफल गरेको थियो । टोलीले खरीद प्रक्रिया, शैक्षिक अवस्था र पदाधिकारीका विषयमा सुझाव तथा जानकारी संकलन गरेको छ । ‘प्रतिष्ठानको वस्तुस्थिति, डकुमेन्टहरूको आधारमा सूचना संकलन गरेका छौं, त्यसको विश्लेषण गरेर समाधान निकाल्छौं ।’ समस्या समाधानको पहिचान गरेर प्रतिष्ठानलाई कसरी पारदर्शी र सक्षम बनाउन सकिन्छ भन्ने ठोस सुझाव पेश गरिने उनको भनाइ छ । प्रतिष्ठानका चार प्रमुख पदाधिकारीको राजीनामा सहित शुद्धीकरणको माग गर्दै चिकित्सक, विद्यार्थी, कर्मचारीे संयुक्त संघर्ष समित गठन गरेर आन्दोलनमा छन् । समितिले चारै जनाको पदाधिकारीको राजीनामासहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्न माग गर्दैै आएको थियो । सोही माग अनुसार उच्चस्तरीय अध्ययन कार्यदल बनाएपछि आन्दोलनको स्वरूप पनि परिवर्तन भएको छ ।

बीपी आन्दोलन : उच्चस्तरीय अध्ययन कार्यदलले थाल्यो छलफल

धरान । विगत ३५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी ‘बीपी शुद्धीकरण अभियान’ अन्तर्गतको आन्दोलन निकासतर्फ प्रवेश गरेको छ । प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा सहित अनियमितता सुधारको माग गर्दै आन्दोलित संयुक्त संघर्ष समितिसँग सोमवार उच्चस्तरीय अध्ययन कार्यदलले अध्ययन शुरू गरेपछि आन्दोलन टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरी छलफलमा बसेपछि संघर्ष समितिले उनी लगायत चार उच्च पदाधिकारीको राजीनामा सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन हुनुपर्ने माग गर्दैै आएको थियो । आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले अध्ययन शुरू गरेपछि संघर्ष समितिले घोषणा गरेको आकस्मिक बाहेक दुई घण्टा सेवा बन्दको कार्यक्रम फिर्ता लिएको छ । माग पूरा नभएसम्म दैनिक दुई घण्टा धर्ना तथा विरोधसभा भने चलिरहने समितिका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । ‘सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठनपछि सकारात्मक बनेका छौं, यसले निकास दिने विश्वास छ ।’ पहिलो चरणको छलफल सकारात्मक रहेको उनको प्रतिक्रिया छ । समितिले कार्यदललाई आफ्ना मागहरूको बारेमा जानकारी गराएको उनले बताए । कार्यदलले सोमवार नै प्रमुख पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । त्यसैगरी नागरिक समाज, सञ्चारकर्मीसँग छलफल गरेर प्रतिवेदन तयार गरिने कार्यदलका प्रवक्ता डा. शंकर नेपालले बताए । संघर्ष समितिसहित पदाधिकारी, नागरिक समाजसँग समेत छलफल गरेर विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गरिने उनको भनाइ छ । प्रतिष्ठानका उपकुलपति गिरीले वार्ताका लागि पटक पटक आह्वान गर्दा पनि संघर्ष समितिले उच्चस्तरीय वार्ता समितिसँग मात्रै वार्तामा बस्ने अडान कायमै राखेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते भएको वार्ता भाँडिएको थियो । संयुक्त संघर्ष समितिले गत बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पूरा नभए आइतवारदेखि दैनिक २ घण्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको चेतावनी दिएको थियो । बीपीका लेखाप्रमुखलाई कारबाही गर्न माग यसैबीच, चिकित्सकलाई दुव्र्यवहार गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारी लगायत आन्दोलित भएका छन् । संयुक्त संघर्ष समिति गठन गरी शुद्धीकरणको आन्दोलन चर्किरहेको बेला  प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई प्रतिष्ठानकै लेखा प्रमुखले गालीगलौज गरी धाकधम्की दिएको भन्दै जुनियर रेजिडेन्ट समेत आक्रोशित भएका छन् । उनीहरूले सोमवारदेखि प्रतिष्ठानको आकस्मिक र कोभिड उपचार बाहेक अन्य सेवा ठप्प पार्दैै दुव्र्यवहार गर्ने रायमाझीविरुद्ध कारबाहीको मागसहित इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । आइतवार राति ८ बजे प्रतिष्ठानका डीएम र एमडी अध्ययनरत विद्यार्थी डा. विप्लप कार्कीलाई आवास खाली गराउन लेखा प्रमुख रायमाझीले दिएको धम्की र गालीगलौज विरुद्ध सम्पूर्ण चिकित्सक आन्दोलित बनेका हुन् । जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले रायमाझीलाई आन्तरिक कारबाही स्वरूप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि माग गरेको छ ।

उच्चस्तरीय कार्यदल बीपी प्रतिष्ठानमा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सामधान गर्न गठित कार्यदलले छलफल सुरु गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय कार्यदलले सोमबार संयुक्त संघर्ष समितिसँग पहिलो चरणको छलफल सुरु गरेको हो ।

बीपीको आन्दोलन लम्बियो

धरान । चारैजना पदाधिकारीको राजीनामा र प्रधानमन्त्री तथा कुलपतिको पहलमा उच्चस्तरीय वार्ता समिति गठन गरिनुपर्ने अडान संयुक्त संघर्ष समितिले कायमै राखेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन लम्बिने भएको छ । आन्दोलनरत पक्ष र पदाधिकारीहरूबीच वार्ताको वातावरण बनाउन आएका स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूसँग वार्ता हुन नसक्दा आन्दोलन थप लम्बिने भएको हो । वार्ता नगराउन आएका प्रतिनिधिहरू वार्ताको प्रयास असफल भएपछि काठमाडौं फर्किएका छन् । प्रतिष्ठानमा वार्ता शुरू गराउन समन्वयकारी भूमिकाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा. रोशन पोखरेल र डा. मदन उपाध्याय आएका थिए । दुवैले आन्दोलनकारी र पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । वार्ता गराउन नसके पनि उनीहरूले प्रतिष्ठानको वर्तमान परिस्थितिबारे रिपोर्ट तयार गरेर प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा बुझाउने बताएका छन् । सरोकारवाला पक्षहरूसँग पनि प्रतिष्ठानको अवस्था र समाधानबारे राय बुझ्ने प्रतिनिधि डा. पोखरेलले बताए । आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमवार वार्ता गर्न अस्वीकार गरेको थियो । समितिका सहसंयोजक डा. विष्णु पोखरेलले मन्त्रालयबाट आएको टोली कुनै आधिकारिक नभएको स्पष्ट पारे । ‘टोली आधिकारिक होइन, उहाँहरूले कुनै पत्र देखाउनु पनि भएन, त्यसैले यथार्थ बुझ्न मात्रै आउनु भएको हो ।’ समितिले अधिकारसम्पन्न वार्ता टोली वा आयोगसँग मात्र वार्तामा बस्ने अडान मन्त्रालयको टोलीसमक्ष पनि राखेको छ । बीपी प्रतिष्ठानबाट शुरू भएको आन्दोलन देशव्यापी हुँदै गएकाले चारैतिरबाट दबाब सृजना गर्दै सबैको ध्यानाकर्षण गराउनेतर्फ आन्दोलन अग्रसर हुने उनको भनाइ छ । संघर्ष समितिले दिएको ७ दिनको अल्टिमेटम मंगलवार सकिएको छ । उनीहरूले ७ दिनपछि सामूहिक राजीनामा दिएर काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका थिए । तर अहिले देशैभरिकै प्रतिष्ठानको सुधारको माग उठिरहेकाले आ–आफ्नै स्थानमा दबाब सृजना गरिराख्ने उनले बताए । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले पनि पदाधिकारीहरूसँग वार्ता गराउन मन्त्रालयको टोली आएकाले समस्या समाधान हुने छाँट नदेखिएको बताए ।