दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना, आईपीओ जारी गर्नेसमेत तयारी

वैशाख २, काठमाडौं । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महीनाअघि स्थापना भएको बैंकको बिहीवार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष शङ्करनाथ उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिए । उनका अनुसार २ अर्ब रुपैयाँ लगानीमा बैंक स्थापना गरिएको हो । बैंकमा हालसम्म ५९० जना प्रमोटर शेयर सदस्य छन् । उक्त सङ्ख्यालाई बढाएर १ हजार जना बनाउने तयारी भइरहेको छ । आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आईपीओ जारी गर्नेसमेत तयारी भएको अध्यक्ष उप्रेतीले जानकारी दिए । उनका अनुसार  कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्ने योजना रहेको छ ।       बैंकले पहिलो चरणमा २३ ओटा जिल्लामा चालू आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको छ । जसका लागि तराईका विभिन्न जिल्लामा ६०० बीघा जग्गा भाडामा समेत लिइसकेको छ । जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ ओटा जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरीलगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको बताइएको छ । खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको बताइएको छ ।  रासस