धुलियाविट–भेडावारी सडक : ट्रयाक खुलेको साढे ४ दशकपछि कालोपत्र हुँदै

पुस १३, सुर्खेत । वर्षातमा हिलाम्य र सुख्यामा धुलाम्य ग्रामीण सडकको मुख्य समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा हुन नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ ।  तर, पछिल्लो समय मदन भण्डारी राजमार्गले छोएपछि धुलियाविट–भेडावारी सडकको दिन फेरिएका छन् । ट्रयाक खुलेको करीब साढे चार दशकपछि कालोपत्रको काम शुरु गर्न लागिएको हो । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उनलाई देखाउनकै लागि वि.स.२०३२ सालमा यो सडकको ट्रयाक खोलिएको थियो । त्यसयता यो सडकको स्तरोन्नति र कालोपत्रका लागि लामो पर्खाइमा बस्नु परेपनि हाल मदन भण्डारी राजमार्गले छोएपछि अहिले कालोपत्र गर्ने काम शुरु गर्न लागिएको हो ।  जिल्लाकै पुरानो सडक मध्येको एक धुलियाविट–भेडावारी सडकको कालोपत्रको ठेक्का कालिका (केएस) वेदान्सी जेभीले पाएको छ । राजमार्ग आयोजना निर्देशनालयलले गत वैशाखमा एक अर्ब ५१ करोड रुपैयाँमा सडक स्तरोन्नति र कालोपत्रका लागि बोलपत्र आव्हान गरेको थियो ।  कम्पनीले घटेर एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ । उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ ।  मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाविट–भेडाबारी सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अब भेडाबारी सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्र गरिने भएको छ । स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडाई बनाइने छ । डीपीआर अनुसार बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटरभन्दा बढी स्तरोन्नति हुनेछ । यसअघि सडक ३५ किलोमिटर लामो (धुलियाबिट–भेडाबारीखण्ड) करीब ४ मिटरमात्रै चौडाइ थियो ।  यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिकाका (११ र १३, लेकबेंसी नगरपालिकाका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, ११, १२, १३ र १४ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन जनप्रतिनीधिसँग नागरिकले अपेक्षा गरे अनुरुप आफ्नो पहलमा कालोपत्रको कामलाई तीव्रता दिइएको सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर १, का सांसद ध्रुवकुमार शाहीले  बताए ।  उनले धुलियाबिट–भेडाबारी सडक खण्डलाई कालोपत्र बनाउने नागरिकसँगको आफ्नो चुनावी बाचा पूरा गरेको बताए । ‘भेडाबारी सडकखण्ड पूर्व पूर्वी सुर्खेतका नागरिकको लाइफलाइन हो,’ उनले भने, ‘चुनावमा सडक पक्की बनाउन नागरिकसँग गरेको बाचा पूरा गरेको छु ।’ लेकबेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले धुलियाविट–भेडावारी सडकको स्तरोन्नतिले नगरको समृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास गरे ।  उनले राष्ट्रिय राजमार्ग अनुरुपको गुणस्तरीय सडक बनाउनतर्फ अहिले जनप्रतिनिधिसँगै आम नागरिकको समेत खबरदारी आवश्यक रहेको औल्याए । यसअघि धुलियाबिट–भेडाबारी–काल्चे–सल्यानको कालिमाटी, दाङ तुलसीपुर हुँदै महेन्द्र राजमार्गको लमही जोड्ने द्रुत मार्गका रुपमा समेत रेखांकन गरिएको थियो ।  अब सडक कालोपत्र गर्ने काम सकिएपछि पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउने छन् । सुर्खेतबाट काठमाडौं जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ ।