ब्याट्रीबाट चल्ने ईभीमा ३५ अर्ब डलर लगानी गर्दै टोयोटा

मंसिर २९, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटाले ब्याट्रीबाट चल्ने विद्युतीय सवारी सधानमा ३५ अर्ब डलर (४० खर्ब येन) लगानी गर्दैछ । सन् २०३० सम्ममा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी सधानको ३० पूर्ण लाइन अप निर्माण गर्न कम्पनीले सो लगानी गर्न लागेको हो । कम्पनीले सन् २०३० को दशकको अन्त्यसम्ममा विश्वभर ब्याट्रीबाट चल्ने सवारी साधनको विक्री बढाएर वार्षिक ३५ लाख थानसम्म पुर्‍याउने योजना बनाएको कम्पनीको सीईओ आकिओ तोयोदाले मंगलवार बताएका थिए । टोयोटाको अहिले विक्री भइरहेका विद्युतीय सवारी साधन हाइब्रिड कार हुन् । यसमा ब्याट्रीबाट मात्रै चल्ने ईभीको हिस्सा निकै न्यून छ । कम्पनीले ब्याट्री प्रविधिमा लगानी ५ खर्ब येन (४ अर्ब ४० करोड डलर) ले बढाएर २० खर्ब येनमा पुर्‍याउने योजना बनाएको पनि तोयोदाले बताए । यो ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधनमा कम्पनीले गर्ने भनेको ४० खर्ब येन लगानीको हिस्सा हो । यसमा पूँजीगत खर्च र अनुसन्धान तथा विकास दुबै रहेका छन् । एजेन्सी