युवा सहभागिता बढाउन जोड

काठमाडौं । दिगो विकास लक्ष्य हासिल गर्न युवा सहभागिता बढाउनुपर्नेमा युवाहरूले जोड दिएका छन् । युथ एड्भोकेसी नेपालले आइतवार काठमाडौंमा आयोजना गरेको ‘पाँचौं नेपाल युवा दिगो विकास लक्ष्यसम्बन्धी भेला’का वक्ताले दिगो विकास लक्ष्यका क्षेत्रमा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले विश्वका एक सय ९३ ओटै देशले दिगो विकास लक्ष्यलाई पूरा गर्न प्रतिबद्ध भएको बताए । दिगो विकासका १७ लक्ष्यमध्ये नेपालले १६ मा काम गर्ने प्रतिबद्धता गरेको उनले स्पष्ट पारे । युथ एड्भोकेसी नेपालका पूर्वअध्यक्ष नरेन खतिवडाले सन् १९८० को दशकमा संयुक्त राष्ट्रसंघमा दिगो विकास लक्ष्यसम्बन्धी अवधारणा शुरू भए पनि सन् २०१५ देखि मात्र विश्वव्यापी रूपमा दिगो विकास लक्ष्य लागू भएको बताए । दिगो विकास लक्ष्य पूरा गर्न सरकार तथा गैरसरकारी क्षेत्रबाट पहलकदमी भएको भए पनि यसको कार्यान्वयनमा अझै चुनौती रहेको उनले बताए । युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले दिगो विकासमा युवाको भूमिका महत्त्वपूर्ण भएको बताए । ‘दिगो विकास लक्ष्यका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रअन्तर्गत सामाजिक, आर्थिक र राजनीतिकलगायत क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने । दिगो विकास लक्ष्य पूरा गर्न स्रोत साधनको कमी, जलवायु परिवर्तन नीतिगत समन्वयको अभाव, गुणस्तरीय शिक्षाको अभाव रहेको उनको भनाइ थियो । दलित महासंघका उपाध्यक्ष त्रिलोचन लोक्य, यौनिक अल्पसंख्यक समुदायकी अध्यक्ष पिङ्की गुरुङलगायतले दिगो विकास लक्ष्य योजनाले अघि बढाएका १७ उद्देश्य पूरा गर्न युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए । रासस