सर्वसाधारणका लागि माया खोला हाइड्रोपावरको आईपीओ शुक्रवारदेखि, कस्तो छ त कम्पनीको समग्र अवस्था ?

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएकोे छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि पहिलो चरणमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । जारी पूँजी १ अर्ब रूपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रूपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न कम्पनीले अनुमति पाएको थियो ।  सर्वसाधारमा निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यसबाहेक १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको कम्पनीले ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । कम्पनीले बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । कम्पनीको सार्वजनिक निष्कासनमार्फत विक्री हुने आईपीओ १ लाख ९९ हजार २०० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले शेयर हात पार्नेछन् । यो आईपीओ माघ १७ गतेसम्म विक्रीमा रहनेछ । त्यो अवधिमा मागबमोजिम आवेदन नपरेमा माघ २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । हाल सर्वसाधारणमा आईपीओ जारी गर्दा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ माघ १७ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईपीओे निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी-आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।  कम्पनीको परिचय  निजी क्षेत्रका उद्यमीहरू मिलेर २०६७ साल जेठ १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा माया खोला हाइड्रोपावरको नामबाट प्राइभेट लिमिटेड कम्पनीको रूपमा यो कम्पनी दर्ता भएको थियो । २०७३ साल मङ्सिर १७ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्दै आएको छ । यस कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही, काठमाडौंमा रहेको छ । जलविद्युत् उत्पादन केन्द्र भने संखुवासभा धर्मदेवी नगरपालिका–४ मा रहेको छ । १६२ जना संस्थापक शेयरधनीहरू रहेको कम्पनीमा विद्युत्, ऊर्जा, बैंक तथा वित्तीय क्षेत्र एवं व्यापारका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यक्तिहरू रहेका छन् । यस कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४ दशमलव ९ मेगावाट क्षमताको माया खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट फागुनको पहिलो हप्तादेखि व्यापारिक उत्पादन शुरू गर्ने लक्ष्य कम्पनीको छ । हाल आयोजनाको ९९ प्रतिशत निर्माणकार्य सम्पन्न भएको भनाइ कम्पनीको छ । यस आयोजनाको कुल निर्माण लागत ३ अर्ब रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १३ लाख रूपैयाँ रहेको छ ।  पूँजी संरचना यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रूपैयाँ रहेको छ भने जारी पूँजी पनि १ अर्ब रूपैयाँ नै रहेको छ । हाल संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. ६६ करोड कायम रहेको छ । कम्पनीमा संस्थापकतर्फ कुल जारी पूँजीको ६६ प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल ३४ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, कर्मचारी र सामूहिक लगानीकोषसमेत सर्वसाधारणमा २४ प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब कायम हुनेछ । वित्तीय अवस्था कम्पनीको वास्तविक वित्तीय विवरण आर्थिक वर्ष ०७७/७८ सम्मको रहेको छ । उक्त वर्षसम्मको वास्तविक अवस्थाअनुसार कम्पनी ५ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ भने वास्तविक प्रतिशेयर नेटवर्थ ८८ रूपैयाँ ५३ पैसा रहेको छ । वास्तविक वित्तीय विवरणअनुसार कम्पनी ३ रूपैयाँ २५ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ । गत आर्थिक वर्ष ०७८/७९ सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार भने कम्पनी ५ करोड ३४ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिशेयर आम्दानी ५० पैसा र प्रतिशेयर नेटवर्थ ९१ रूपैयाँ ९० पैसा छ । चालू आर्थिक वर्ष ०७९/८० सम्ममा भने कम्पनीले सञ्चित नोक्सानी घटाएर ३ करोड २८ लाख रूपैयाँमा झार्ने प्रक्षेपण गरेको छ । प्रतिशेयर आम्दानी २ रूपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ ९६ रूपैयाँ ७१ पैसा पुर्‍याउने प्रक्षेपणसमेत कम्पनीको छ । सञ्चालक समिति कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । कम्पनीको अध्यक्षमा विजयमान शेरचन रहेका छन् । मेकानिकल इन्जिनियरिङमा स्नाकोत्तर गरेका उनी विगत ३० वर्षदेखि जलविद्युत् क्षेत्रमै सक्रिय रहेका छन् । त्यस्तै कम्पनीको सञ्चालकहरूमा दिनेशप्रसाद श्रेष्ठ, विनोद थकाली, हेमनिधि शर्मा र दिनानाथ दाहाल रहेका छन् । पहिलो कारोबारका लागि कति पाउला मूल्य रेञ्ज ? प्राथमिक बजारमा विक्री भएको शेयर कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपर्दछ । धितोपत्र दोस्रो बजार सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको शेयर सूचीकृतपछि पहिलो कारोबारका लागि मूल्य तोक्ने गर्दछ । नेप्सेले कुनै पनि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि तोक्ने व्यवस्था छ । यसर्थ यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा प्रतिकित्ता न्यूनतम ८८ रूपैयाँ ५३ पैसादेखि अधिकतम २६५ रूपैयाँ ५९ पैसासम्मको मूल्य रेञ्ज पहिलो कारोबारका लागि पाउने देखिन्छ ।