सप्तकोशी नदीमा कटान सुरु, प्राविधिक सहितको टोली मर्मतमा

सप्तकोशी नदीको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र मधुवन क्षेत्रमा पानीको बहाब कम भएसँगै कटान सुरु गरेको छ । पूर्व तटबन्धको राजाबास क्षेत्रमा केही बढी कटान भएकाले त्यस स्थानका स्पर र किनार क्षेत्रमा मर्मत सम्भार सुरु गरिएको छ । नेपाल कै सबै भन्दा ठूलो नदी सप्तकोशी नदीमा सनिबार पानीको बहाव यो वर्षकै उच्च मापन गरिएकोमा आइतबार विहानैदेखि कम हुँदै गएको छ । सप्तकोशी नदीमा पानी कमभएसँगै कटान सुरु हुने भएकाले त्यसको पूर्वानुमानको आधारमा स्टोर गरेर राखेको बालुवाको बोरा, तारजाली र पानीको बेग रोक्ने प्रोकोपाईन समेत राखेर मर्मतको काम सुरु गरेको भारतीय जल संशाधन विभाग कोशी प्रोजेक्टले जनाएको छ । कोशीमा ठाउँठाउँमा जोखिम बढेको प्राविधिक र स्थानीयको गुनासोको आधारमा आइतबार विहानैदेखी सयौं मजदुर लगाएर मर्मतको कार्य स्वरुप बोरामा माटो हालेर जाली भर्ने काम सुरु गरेको छ । प्रकाशपुरको धरहरा टपन, राजाबास सहितको क्षेत्रमा दर्जन बढी स्परको मर्मत यस अघि नै गरिएकोमा बाढीको पानीले केही बीचबीच भागमा कटान गरेकाले मर्मतको काम धमाधम सुरु गरेको र हाल कुनै जोखिम नरहेको भारतीय जल संसाधन विभागको पेटिदारको रुपमा काम गर्ने के. के. मण्डलले बताउनुभयो ।