हेटौंडा । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्ररूपमा भइरहेको छ । हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जानकारी दिएको छ ।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रूपमा वैकल्पिक मार्गका रूपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौंडासम्मको झन्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए ।
साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत ९ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्मको पश्चिम खण्ड ११५ किलोमिटर छ ।
२०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्ने थियो । कोरोना महामारीका कारण निर्माण अवधि पुन: थप गरी तीव्ररूपमा काम अघि बढाइएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको ६ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो । राजमार्गको नक्सांकनका विषयमा झन्डै चार वर्ष अघिदेखिको विवाद हाल समाधान गरेर निर्माण चरणमा पुर्याइएको बताइएको छ ।
राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको ६ किमी लम्बाइको उक्त सडकको चौडाइ घटाएर ९ मिटर मात्र कालोपत्र भइरहेको छ । यो राजमार्गको अन्य क्षेत्रमा नालाबाहेक कालोपत्र मात्र ११ मिटर गरिएको छ । रासस