सिटिजन लाइफको आईपीओ सर्वसाधारणमा शुक्रवारदेखि ,कस्तो छ त कम्पनीको समग्र अवस्था ?

काठमाडौं   । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ गर्दैछ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको थियो ।  १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रूपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री गरेको छ । बाँकी १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिसकेको छ । सर्वसाधारण लगानीकर्ताहरूमा जारी भएको आईपीओ विक्री अवधि छिटोमा भदौ १९ गतेसम्म र ढिलो अवधि भदौ २९ गतेसम्मका लागि तोकिएको छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ समेत छिटो अवधि भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।  लगानीकर्ताहरूले आवेदन पेश गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीको परिचय ः नयाँ जीवन बीमा कम्पनीको रूपमा यो कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको थियो । २०६४ साल असार १२ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको यो कम्पनीले २०७४ साल भदौ ७ गते जीवन बीमा सम्बन्धि कारोबार गर्न साविक बीमा समितिबाट स्वीकृति पाएको थियो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा रहेको छ ।  पूँजी संरचना ः यो कम्पनीलाई ५ अर्ब रूपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जीवन बीमा कम्पनीका लागि ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीलाई पनि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएको हो । अधिकृत पूँजी ५ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ५ अर्ब रूपैयाँनै रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी २ अर्ब ६२ करोड ५० लाख रूपैयाँ छ । सर्वसाधारण तर्फको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७५ करोड रूपैयाँ कायम हुनेछ । आईपीओपछि कम्पनीलाई थप १ अर्ब २५ करोड पूँजी आवश्यक हुन्छ । कम्पनीले चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । कम्पनीको प्रक्षेपणलाई आधार मान्दा थप पूँजी बोनस शेयरमार्फत पु¥याउने योजना रहेको देखिन्छ । सञ्चालक समिति ः यस कम्पनीमा हाल सात सदस्यीय सञ्चालक समिति रहेको छ । सञ्चालक समितिको अध्यक्षमा प्रदीप जङ्ग पाण्डे रहेका छन् । औधोगिक क्षेत्रमा विगत ३५ वर्षेदेखि अनुभव बटुलेका पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष समेत हुन । पाण्डेसँग कम्पनीको १३ लाख ७५ हजार कित्ता शेयर स्वामित्व रहेको छ । कम्पनीका सञ्चालकहरूमा भने सुमित कुमार अग्रवाल, मनोज कार्की, महेश स्वाँर, दावा फुटी शेर्पा , अभिनव जङ्ग बहादुर राणा र श्रीमान कार्की रहेका छन् । श्रीमान कार्की भने स्वतन्त्र सञ्चालकको रुपमा रहेका हुन । वित्तीय अवस्था ः आर्थिक वर्ष ०७६÷७७ देखिनै कम्पनी सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७६÷७७ मा ६० करोड ५० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७÷७८ मा ९० करोड ९० लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८÷७९ सम्मको सञ्चित नाफा भने १ अर्ब २६ करोड ७६ लाख रूपैयाँभन्दा बढी छ । आर्थिक वर्ष ०७९÷८० को वास्तविक वित्तीय विवरण भने कम्पनीले सार्वजनिक गर्न बाँकी छ । यस वर्ष भने कम्पनीले ३ अर्ब ४१ करोड ७१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्ष ०८१÷८२ मा भने कम्पनीको सञ्चित नाफा ३ अर्ब २ करोड रूपैयाँ हुने प्रक्षेपण कम्पनीको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २१ रूपैयाँ ४९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रूपैयाँ ४३ पैसा रहेको छ । कति पाउँला पहिलो कारोबार मूल्य ? धितोपत्रको सार्वजनिक निष्कासन प्राथमिक बजारमा हुने गर्दछ भने उक्त धितोपत्र कारोबार योग्य हुन भने धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । कम्पनीको आईपीओ पनि धितोपत्र प्राथमिक बजारमा सार्वजनिक निष्कासन तथा बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने कम्पनीको पहिलो कारोबारमूल्य भने धितोपत्र दोस्रो बजार सञ्चालकले निर्धारण गर्नेछ । हाल दोस्रो बजार सञ्चालकको रुपमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रहेको छ । नेप्सेले नयाँ सूचीकृत कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज तोक्ने गर्दछ । यसर्थ कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १७२ रूपैयाँ ४३ पैसादेखि अधिकतम प्रतिकित्ता ५१७ रूपैयाँ २९ पैसासम्म तोक्ने देखिन्छ ।