समुद्रपार व्यापारमा कोरोना विपद् : कन्टेनर अभाव, ढुवानी भाडा

वीरगञ्ज । कोरोना महामारीका कारण ढुवानी शृंखला प्रभावित हुँदा नेपालको समुद्रपार व्यापारमा ढुवानी लागत बढेको छ । कन्टेनर अभाव र बन्दरगाहमा अत्यधिक जामलाई कारण देखाएर सिपिङ कम्पनीहरूले भाडा ३ देखि ५ गुणासम्म बढाएका छन् । सिपिङ कम्पनीले भाडा ह्वात्तै बढाएको आयातकर्ता आशिष लाठले बताए । सबैजसो कम्पनीले वस्तुको उत्पत्ति र ढुवानी गन्तव्यका आधारमा भाडा बढाएको वीरगञ्ज उद्योग वाणिज्य संघका सचिवसमेत रहेका लाठको भनाइ छ । चिनियाँ बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्मको प्रतिकन्टेनर भाडा अहिले ३ हजार ८ सय अमेरिकी डलर तिर्नुपरेको जानकारी लाठले दिए । ‘कोरोना महामारी शुरू हुनुअघि यो भाडा २ हजार डलरसम्म थियो । १ महीनाअघिसम्म पनि २ हजार ९०० डलरमा मालसामान आएको थियो,’ उनले आर्थिक अभियानसित भने । गतवर्षको बन्दाबन्दीलगत्तै सिपिङ कम्पनीले भाडा बढाएका हुन् । भारतीय बन्दरगाहबाट नेपालका गन्तव्यसम्मको रेल भाडा भने बढेको छैन । भारतीय बन्दरगाहदेखि वीरगञ्जसम्मको प्रतिकन्टेनर रेल भाडा १ हजार डलर हाराहारी छ । यसआधारमा चीनबाट ल्याउने कण्टेरमा भाडामात्रै ३ गुणासम्म बढेको आयातकर्ता बताउँछन् । युरोप र अमेरिकाबाट आयाता हुने मालसामानमा हप्तैपिच्छे भाडा बढिरहेको व्यावसायी ओमप्रकाश मोर बताउँछन् । अहिले चीनबाट ती मुलुकमा मालसामानको निर्यात बढेको र त्यहाँका बन्दरगाहमा कन्टेनरको जाम लागेकाले भाडा बढ्न गएको मोरको भनाइ छ । ती देशबाट ल्याइने कन्टेनरमा विगतको तुलनामा ५ गुणासम्म भाडा बढेको आयातकर्ता बताउँछन् । कतिपय सिपिङ कम्पनीले कन्टेनर गन्तव्यसम्म नपुर्‍याएर बाटैमा अनलोड गरेको भोगाइ व्यावसायीहरूको छ । समुद्री बन्दरगाहमा कन्टेनरको जाम बढेकाले सिपिङ लाइनले आयातकर्तासित कन्जेशन सर्चार्ज लिइरहेको नेपाल फ्रेट फर्वाडर्स एशोसिएशनका उपाध्यक्ष नरेश अग्रवालले बताए । सिपिङ कम्पनीले दक्षिण–पूर्वी एशियाका देशमा हुने ढुवानीमा प्रतिकन्टेनर २०० देखि ३०० अमेरिकी डलरसम्म यस्तो चार्ज गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका सहसचिव सुशान्त चाचान बताउँछन् । अहिले म्यानमारबाट वीरगञ्जसम्मको ढुवानी भाडा दोब्बर पुगेको आयातकर्ता चाचानले जानकारी दिए । महामारीअघि एक कन्टेनरको १ हजार ७ सय अमेरिकी डलरमा हुने ढुवानीका लागि ३ हजार ४ सय डलर तिर्नु परेको उनले बताए । दक्षिण अमेरिकाबाट कोलकाता बन्दरगाहसम्मको भाडा एक कन्टेनरमै ४०० डलरसम्म बढेको चाचानको अनुभव छ । महामारीले निम्त्याएको अप्ठ्यारो अवस्थामा सिपिङ कम्पनीले अपारदर्शी तरीकाले भाडा बढाइरहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् । ‘महामारी र बन्दाबन्दीको बेला कन्टेनर पाउनै कठिन छ । कतिपय सिपिङ लाइनले कृत्रिम अभाव देखाएका छन्,’ संयोजक टेमानीले आर्थिक अभियानसित भने । कोरोना संक्रमण शुरू भएयता भारतबाट निकासी स्वात्तै घटेपछि कन्टेनर त्यतै थुप्रिँदा पनि अभाव बढेको बुझाइ टेमानीको छ । भारत दक्षिणपूर्वी एशियाकै प्रमुख बजार र निर्यातकर्ता पनि भएकाले त्यहाँबाट निकासी प्रभावित हुँदा कन्टेनर अभाव र भाडा वृद्धिमा बल पुगेको मत आयातकर्ता सुरेश रुंगटाको पनि छ । महामारीका कारण उत्पन्न असहजतालाई कतिपय कम्पनीले कमाउने मौका बनाएका छन् । एक महीनाअघिमात्रै भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले आयातकर्तालाई हैरानी दिने २ सिपिङ कम्पनीसित कारोबार नगर्न आयातकर्तालाई सार्वजनिक रूपमै आग्रह गरेको थियो । महावाणिज्य दूतावासले रिभर एज सिपिङ प्रालि र रिगल कन्टेनर लाइनमार्फत कन्टेर ढुवानी नगर्न सूचना नै निकाल्नु परेको थियो । ती कम्पनीका सम्पर्क व्यक्तिले आयातकर्तासित बारम्बार अतिरिक्त शुल्क दाबी गरेको र आयातकर्ताको मालसामान अलपत्र पारेर जरीवाना बढाउने काम गरेको भेटिएको महावाणिज्य दूतावासले बताएको थियो ।