भिरालो जमीन र पाखोमै फले डेढ करोडका सुन्तला

चैत २, गलेश्वर(म्याग्दी । भिरालो जमीन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्ष अघिसम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौं रुपैयाँ कमाउन सफल भएका छन् ।            ‘पहिला छ्या ! बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्च्याउनेहरु अहिले आहा ! कति हराभरा गाउँ भनेर प्रशंसा गर्न थालेका छन्’, वडा सदस्यसमेत रहेकी सुन्तला कृषक मनकुमारी पुनले भनिन्, ‘यस वर्ष सुन्तला विक्री गरेर हामीले गाउँमा १ करोड ५० लाखभन्दा बढी भित्र्यायौं, अब यो अनकन्टार भनिएको पाखोमा सुन्तलाका बोटमार्फत पैसा फल्न थालेको छ ।’             आफुले पनि यस वर्ष सुन्तला विक्री गरेर २१ लाख रुपैयाँ आम्दानी गरेको उनी बताउँछिन् । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाका बिरुवा उत्पादन गर्दै आएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताइन्। उनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम २० हजारदेखि अधिकतम २१ लाख रुपैयाँसम्मको सुन्तला विक्री गरी गाउँमा १ करोड ५० लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भीमकुमारी घर्ती, खिरमती राना र कृष्णबहादुर पुन धेरै सुन्तला विक्री गर्ने कृषकमा पर्छन् ।             परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी–३ का वडाध्यक्ष पदम पुन बताउँछन्। राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैंचाबाटै सुन्तला बेचेर रु ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए ।             त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब रु २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताए । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । १० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तलाजातका फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् ।      यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै उनले अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको जानकारी दिए । केही कृषकले परीक्षणका लागि सुन्तलाका बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधि प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ ।         हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उनले बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारी टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौं खर्च हुने गरेको छ ।         म्याग्दीको समुन्द्री सतहबाट १ हजार २०० देखि १ हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवा कृषक समूह निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ ।             जिल्लाका ६ ओटै स्थानीय तहको ३५५ हेक्टर जमीनमा सुन्तला खेती भइरहेकामा यस वर्ष २ हजार १८० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा वार्षिक १७ करोड रुपैयाँ हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले बताएको छ । रासस