प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव : राजीनामा दिनुहोस्, पार्टी एकता जोगाउनुहोस्

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन र पार्टी एकता जोगाउन सुझाव दिनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा आफ्ना धारणा राख्दै नेतृ पौडेलले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर राजनीतिक स्थिरता बनाउन सुझाव दिनुभएको हो । नेकपा विभाजन र संसद विघटन गर्ने कदमका मुख्य जिम्मेवार प्रधानमन्त्री ओली भएको उहाँको भनाई थियो । देश र जनताको बृहत्तर हितका लागि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभयो । ‘नेकपा फुट र प्रतिनिधि सभा विघटन गर्ने काम गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ। राजीनामा दिएर पनि नेकपाभित्रको फुट र संसद विघटन गर्ने काममा मुख्यरुपले प्रधानमन्त्री ओली नै जिम्मेवार हुनुहुन्छ भन्ने कुरा प्रष्टै छ’, पौडेलले भन्नुभयो, ‘त्यसैले देश र जनताको बृहत्तर हीत तथा राजनीतिक स्थिरताको लागि पनि उहाँले राजीनामा दिनुपर्छ।’ राजमो उपाध्यक्षसमेत रहेकी पैडेलले संसदमा अब अराजनीतिक सौदावाजी र सिद्धान्तहिन चलखेल बढेर जाने भन्दै राजीनामा दिएर पार्टी एकता बचाउन ओलीलाई सुझाव दिनुभयो । ‘राजीनामा दिएर पार्टी एकीकरण वा संयुक्त सरकारका लागि मार्ग प्रशस्त गर्नको लागि हामी अनुरोध गर्दछौं। त्यसो भएमा एउटा स्थीर सरकारको गठन पनि हुनसक्नेछ। अन्यथा संसदमा अराजनीतिक प्रकारको सौदावाजी वा सिद्धान्तहीन चलखेल बढेर जानेछ। र त्यसका दुरगामी दुस्परिणामहरु हुनेछन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ पौडेलले भन्नुभयो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिएपनि दुई पार्टी मिल्नुपर्ने उहाँले बताउनुभयो । यदि पार्टी मिल्नै नसकेको अवस्थामा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने उहाँको भनाई छ। ‘सर्वोच्च अदालतको फैसला अनुसार बेग्ला बेग्लै रुपमा अस्तित्वमा आएका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता नै हो भन्ने हाम्रो निष्कर्ष छ’ उहाँले भन्नुभयो, ‘तर, एमालेभित्र नै पनि विभाजन देखिन थालेको छ। हाम्रो विचारमा उनीहरुको बीचमा नयाँ प्रकारले पार्टी एकता हुनुपर्छ । वा त्यो सम्भव नभए दुवैतर्फको संयुक्त मोर्चा बनाएर भएपनि सरकारको सञ्चालन गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौं ।’