चितवन महोत्सवमा उद्योगी व्यवसायीले भने : औद्योगिक नीति पुरानो भयो, परिमार्जन गर्नुपर्‍यो

पुस २५, चितवन । देशको औद्योगिक नीति परिमार्जन गर्नुपर्नेमा उद्योगी व्यवसायीले जोड दिएका छन् । आइतवारदेखि शुरु भएको चितवन महोत्सवको १३ औं संस्करणको शुभारम्भ कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीले औद्योगिक नीति पुरानो, अवैज्ञानिक र उद्योगमैत्री नभएको भन्दै परिमार्जन गर्न जोड दिएका हुन् ।  बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले कृषिलाई विज्ञान र प्रविधिसँग जोड्दै, उत्पादनमा वृद्धि गरी औद्योगिकिरणमा जानुपर्ने बताए   । औद्योगिक मेला हाटबजारको विकसित रुप भएको भन्दै मुख्यमन्त्री पाण्डेले यसले स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै नयाँ उत्पादनको समेत बजारीकरण हुने बताए ।  सीपयुक्त जनशक्ति उत्पादन नगरे देशको आर्थिक समृद्धि हुन नसक्ने भन्दै उनले यहाँका उद्योगी व्यवसायीले विदेशको सामान मात्र बेचेर औद्योगिक क्रान्ति नआउने बताए  ।  उनले भने, ‘अहिले १० लाखजति भारतीय मजदूर प्राविधिक नेपालमा होलान, २० लाखजति नेपाली भारतमा होलान्, हामी नेपालीले कमाएर पठाउनेभन्दा यहाँबाट बढी कमाएर लगेका छन् ।’  निजी क्षेत्रले समस्या मात्र नदेखाई कुन कुन क्षेत्रका समस्या र अप्ठेरो भए सरकारसँग सिधै आउन समेत उनले आग्रह गरे । दक्ष जनशक्ति भए गुणस्तरीय उत्पादन, लागत कम र उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ थियो ।  देशको आधाभन्दा बढी बजेट रेमिट्यान्सबाटनै प्राप्त भएको भन्दै उनले दक्षजनशक्ति उत्पादन गरे यसबाट राष्ट्रले तेब्बर फाइदा लिन सक्ने बताए ।  बाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उत्पादन र बजारीकरणमा नीजि क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको  बताए । उद्योगी व्यवसायी आफ्नो मात्र हकहितमा लाग्न नहुने भन्दै उपभोक्ताको हक र अधिकारमा पनि उत्तिकै गम्भिर हुनुपर्ने बताए । उवासंघको लागि बाग्मती सरकारले हातेमालो गर्दै अघि बढ्ने भन्दै उनले बाग्मती सरकार जुनसुकै सहयोग गर्न तत्पर रहेको बताए ।  भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले चितवनमा पर्यटन, सडक, खेलकूद शिक्षामा अपेक्षा गरेभन्दा बढी प्रगति भएको बताइन् । ‘अहिले नारायणी नदीको ‘सीवीच मोडलको लागि संघीय सरकारबाट बजेट स्वीकृत भइसक्यो, भोलि विमानस्थल विस्तारको निर्णयको केन्द्रमा बैठक छ, क्रिकेट रंगशाला हामी आफैंले निर्माण पुरा गर्ने लक्ष्य लिएका छौं’, उनले भनिन् । भरतपुर महानगरले निजी क्षेत्रलाई साझेदारको रुपमा लिएर काम गरेको उनले बताइन् ।  कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले देशको औद्योगिक नीति परम्परागत भएको भन्दै परिमार्जित गर्नुपर्ने बताए । ‘सरकारले नीति परिमार्जन गरेर सहयोग गर्नुपर्यो’, ढकालले भने, ‘हामी पूर्वाधार विकास र उद्योगको विकासका लागि अगाडी बढ्छौं ।’ औद्योगिक नीति परिमार्जित गरेमा जुनसुकै योजना पनि समयमै सकिने उनले बताए । ‘एउटा उद्योग स्थापना गर्दा विभिन्न हन्डर झण्झट खानुपर्ने अवस्था छ’, उनले भने, ‘प्रक्रिया झन्झिटिलो भएकै कारण योजना भन्दा प्रक्रिया पुरा हुन समय बढी लाग्यो ।’ गैंडाकोटमा आफूले केवलकार सञ्चालन गर्न लागेको जानकारी दिंदै उनले विभिन्न प्रक्रियागत झण्झटका कारण समयमा काम शुरु गर्न नसकिएको  गुनासो गरे । ‘प्रक्रियामा अवरोध र ढिलासुस्ती नहोस हामी एकवर्षभित्र केबलकार सञ्चालन गरेर देखाउँछौं’, उनले भने । देशका प्राकृतिक सम्पदाको भरपुर उपयोग गरेर भएपनि आर्थिक समृद्धि हासिल गर्नसक्ने उनको भनाइ थियो ।  चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले निजी क्षेत्रको भावनालाई समेटिने नीति बनाउन आग्रह गरे । चितवन देशकै केन्द्रविन्दु र हरेक क्षेत्रको हब भएपनि एउटा मात्र औद्योगिक क्षेत्र नहुनु चिन्ताको बिषय भएको उनले बताए । ‘शक्तिखोरको आद्योगिक क्षेत्रको डीपीआर भयो, आईई भयो , तर पनि किन हो काम अघि बढ्न सकेको छैन’, कंडेलले भने ।