कोशीका मुख्यमन्त्री थापासहित तीन मन्त्रीको शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई शपथ गराएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन पाएका थापालाई मंगलवार खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । यसअघि २१ असारमा पनि मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएकाले सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो । मंगलवार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि गठबन्धनले उनलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको हो । कोशी प्रदेशका मुख्यमन्त्री थापाले शपथ लिएलगत्तै तीनजनालाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्रीको सिफारिशमा नियुक्त भएका मन्त्रीहरूले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका छन् । गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।