सीमामा भारू सस्तिनुको कारण

नेपाली मुद्रा भारतीयसँग आबद्ध (पेग्ड) गरिए पनि कुनै बेला राष्ट्र बैंकले तोकेको मूल्यभन्दा बढी नेपाली तिरेर भारू साट्नुपर्ने भारतीय सीमाक्षेत्रमा अहिले तोकिएको दरभन्दा ५/१० रुपैयाँ सस्तोमा भारू पाउन थालिएको छ । १ सय भारूका लागि १६० रुपैयाँ तय गरिए पनि १५५ भन्दा थोरैमा भारू पाउन थालिएको छ । किन यसरी सरकारले तोकेको दरभन्दा नेपाली मुद्राको भाउ बढेको छ भन्ने कारण खोज्नुपर्ने देखिएको छ । भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । अन्यथा भोलिका दिनमा गम्भीर समस्या आउन सक्छ । छोटो समयका लागि सरकारले तोकेको दरभन्दा सस्तोमा वा महँगोमा भारूको कारोबार हुन सक्छ । २०७२ सालमा भारतीय नाकाबन्दी ताका थोरै समयका लागि यस्तो भएको स्थानीयको भनाइ पाइन्छ । तर, अहिलेको अवस्था केही फरक देखिएको छ । सरकारले तोकेको विनिमय दरभन्दा भारू सस्तोमा विक्री भइरहेको केही महीना भइसकेको छ । त्यसैले अहिलेको अवस्थालाई लिएर गम्भीर हुनुपर्ने देखिएको छ । सीमाक्षेत्रमा सरकारी मूल्यभन्दा कममा भारू विक्री हुँदा नियामक निकाय र सरकारबाट भने किन यसो भइरहेको छ भनेर अध्ययन गरेको सूचना सार्वजनिक भएको छैन । यसले गर्दा सर्वसाधारणले यसबारे जानकारी पाउन सकेका छैनन् । यसरी चासो नदिनु गलत हो । यसलाई बेवास्ता गर्ने हो भने भोलिका दिनमा ठूलै समस्या ननिम्त्याउला भन्न सकिँदैन । सिद्धान्तत: भारूको आपूर्ति बढेर यसको भाउ घटेको हो भन्न सकिन्छ । अर्थात् सीमाक्षेत्रमा भारूको आपूर्ति बढ्यो वा नेपाली मुद्राको माग बढ्यो । या त भारतीयले नेपालमा लगानी गरे या उनीहरूले नेपालबाट सामान बढी किने भन्ने अर्थमा बुझ्न सकिन्छ । यसका साथै सीमाक्षेत्रमा अनौपचारिक अर्थतन्त्र फस्टाएको पनि हुन सक्छ । त्यसो हुँदा उनीहरूलाई भारूभन्दा नेपाली रुपैयाँ बढी आवश्यक पर्‍यो । कतिपयले तेस्रो मुलुकबाट आएको सुन, चिनियाँ उत्पादन र लागू पदार्थ नेपालबाट भारततर्फ अवैध बाटोबाट गइरहेको तर्क गरेका छन् । उनीहरूले नेपाली रुपैयाँमा यसको भुक्तानी गर्ने भएकाले नेरूको माग बढेर भारू केही सस्तो भएको आकलन गरेका छन् । हुन त सुरक्षा संयन्त्रले यसरी भारततर्फ सामान जानै नसक्ने तर्क गरेको छ तर खुला सिमाना भएकाले यसै हो भन्न सकिँदैन । अर्को, भारतमा भन्दा अहिले नेपाली बैंकमा ब्याजदर बढी भएको बताइन्छ । बढी ब्याजका लागि भारतीयहरूले नेपाली रुपैयाँ साटेर यहाँ राखेको अनुमान पनि एकथरीको छ । त्यसो त भारतीयहरू सीमा क्षेत्रमा मदिरा सेवन गर्न आउने गर्छन् । त्यसले गर्दा पनि नेपाली रुपैयाँको माग भएको हुन सक्छ । तर, विनिमय दरलाई नै प्रभावित पार्ने गरी त्यति ठूलो परिमाणमा नेपालमा भारू आएको नहुनुपर्ने हो । अत: यसरी भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । भूराजनीतिक अवस्थाका कारण नेपालले भारत र चीनसँग निकै संवेदनशील भएर व्यवहार गर्नुपर्ने हुन्छ । दुवै मुलुकले नेपाललाई पूर्णत: विश्वास गर्न नसकेको अवस्था छ । खासगरी आफ्नो मुलुकको सुरक्षा संवेदनशीलताका विषयमा भारत र चीन दुवै निकै गम्भीर देखिन्छन् । यदि केही व्यवसायीको भनाइलाई पत्याउने हो भने चिनियाँ सुन तस्करी भएर भारत गइरहेको छ । यस्तो अवैध कारोबार भएको हो भने त्यो निकै गम्भीर विषय हो । त्यसमा पनि भोलि छिमेकी मुलुकले आवाज उठाउनुपर्‍यो भने नेपालको छवि बिग्रन सक्छ । साथै अन्य समस्या पनि आउन सक्छ, जसले दुई देशको आपसी विश्वासमा संकट उत्पन्न गर्न पनि सक्छ । त्यसैले यसबारे सरकारले तत्काल छानविन गरी वास्तविकता सार्वजनिक गर्न आवश्यक छ ।

सम्बन्धित सामग्री

भारतीय बजेटमा समृद्ध र समावेशी कल्पना : कृषि अनुदानले नेपाललाई पर्न सक्छ असर

भारतीय वित्तमन्त्री निर्मला सीतारमणबाट फेब्रुअरी १ मा २०२३/२४ को संघीय बजेट प्रस्तुत भएको छ । विशेषतः बजेटमा समृद्ध र समावेशी भारतको अपेक्षा गरिएको छ, जसमा विकासको फल सबै क्षेत्र, नागरिक र विशेषतः युवा, महिला, कृषक एवं पिछडिएका वर्ग तथा जातिले पाउने दाबी गरिएको छ । तर, मोदी सरकारको हिन्दूत्वकरणसहितको भारतका योजनाहरू क्रमशः बजेटमार्फत प्रतिबिम्बित भइरहेको छ । अब आउने समय अमृतकाल हुने र त्यो समय निर्माणका लागि घोषित ७ सातओटा प्राथमिकतालाई ‘सप्तऋषि’ नाम दिइएको छ । यस प्रकारका विभिन्न घोषणाले समावेशी भारतको सोच प्राप्तिभन्दा बढी अल्पसंख्यक गैरहिन्दूप्रति पूर्वाग्रह राख्न खोजेको पाइन्छ । बजेटमा विश्वव्यापी अर्थतन्त्रमा भारतको सूचकांकले सुशासित र नवीन देशका रूपमा भारतको पहिचान कायम भएको एवं पछिल्लो ९ वर्षमा विश्वको १०औं स्थानबाट पाँचौं अर्थतन्त्रको स्थानमा आएको विषय सगौरव प्रस्तुत गरिएको छ । विश्व अर्थतन्त्रमा भारतको फड्कोलाई मोदीको सफलताका रूपमा अर्थ लगाउन खोजेको देखिन्छ । प्रधानमन्त्रीका रूपमा भारतमा मोदीको उदय भएको करीब ९ वर्ष पुगेको छ भने यो बजेट मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम पूर्ण बजेट हो । समग्र क्षेत्रीय स्थिति चिन्ताजनक रहे पनि भारतको अवस्था उच्च ऋण र मूल्यवृद्धिको अवस्था पनि बलियो बनेको छ । समग्र बजेट दक्षिण एशियाको क्षेत्रीय आर्थिक स्थिरता, समन्वय र आर्थिक समृद्धिको पक्षमा भने अनुदार छ । अमृतकालको परिकल्पनाअन्तर्गत विशेष गरी युवाहरूलाई आफ्ना आकांक्षा पूरा गर्न पर्याप्त अवसर प्रदान गर्ने, आर्थिक वृद्धि र रोजगारी सृजनालाई बलियो प्रोत्साहन दिने र समष्टि आर्थिक स्थायित्व सुदृढ गर्दै जाने तीन नीति लिइएको बताइएको छ । अमृतकाल मार्गदर्शन गर्ने सात प्राथमिकता ‘सप्तऋषि’ का रूपमा रहने र ती एकअर्काका पूरक हुने बताइएको छ । समावेशी विकास, अन्तिम माइल पुग्ने दृढता, पूर्वाधार र लगानी, युवा शक्ति, वित्तीय क्षेत्र, सम्भावनाहरूको उजागर र हरित वृद्धिलाई सात प्राथमिकताको क्षेत्र किटान गरिएको छ । त्यसैगरी समावेशी विकासअन्तर्गत ‘सबका साथ सबका विकास’लाई कृषि, सहकारी, शिक्षा र स्वास्थ्यमा जोड्ने कार्यक्रमहरू तय गरिएका छन् । कृषि तथा सहकारी क्षेत्रको विकासका लागि सार्वजनिक पूर्वाधारहरू, गतिशील कोषमार्फत वित्तीय परिपूरण, भण्डारण क्षमता विकास र सहुलियतलाई विशेष जोड दिएको पाइन्छ । स्वास्थ्य क्षेत्रमा स्वास्थ्य–शिक्षाका पूर्वाधारसहित अध्ययन, अनुसन्धान र शिक्षाअन्तर्गत आधुनिक शिक्षाको जगलाई तल्लो स्तरमा समेत विस्तार गर्ने बजेटको कार्ययोजना रहेको छ । कुल गार्हस्थ्य उत्पादनको आधारमा भारत विश्वको पाँचौं ठूलो शक्ति राष्ट्र हो । बजेटको आकारको आधारमा भने भारतले सार्वजनिक गरेको बजेट विश्वको तेस्रो ठूलो हो । भारत सरकारको बजेटमा कुल खर्च अनुमान ४१८ खर्ब भारतीय रुपैयाँ छ, अमेरिका र चीनको कुल बजेट अनुमानको क्रमश एक चौथाई र एक तिहाईभन्दा कम हो । भारतको कुल गार्हस्थ्य उत्पादन नेपालको भन्दा करीब १ सय १० गुणा ठूलो छ । बजेटको आकार भने करीब ४० गुणा ठूलो रहेको छ । यद्यपि भारतका राज्य सरकारहरूका लागि बजेटको ठूलो अंश संघीय सञ्चित कोषमार्फत नजाने भएकाले सरकारको वास्तविक बजेटको आकार ठूलो छ । नेपालको संघीय सरकारको वित्तीय हस्तान्तरणमा प्रदेश र स्थानीय तहको अंश २५ प्रतिशतसम्म रहने भए तापनि भारतको त्यो अंश ९ प्रतिशतको हाराहारीमा रहन्छ । भारतमा बजेटको स्रोतमा राजस्वको योगदान ५८ प्रतिशत छ भने गैरराजस्व र वित्तीय प्राप्तिको योगदान क्रमशः ८ र ३४ प्रतिशत छ । पछिल्लो समय भारतमा आन्तरिक ऋण तथा दायित्वको अंश बढ्दै गएकाले ऋण, ब्याज तथा दायित्व भुक्तानीमा मात्र २० प्रतिशत बजेट विनियोजन गरिएको छ । पछिल्लो समय भारतको अर्थतन्त्रमा साना तथा मध्यमस्तरका उद्यमीहरू र स्टार्टअपको संख्या र तिनको योगदानमा वृद्धि भइरहेको छ । विशेषतः साना तथा मध्यमस्तरका उद्यमीहरूलाई लक्षित गरी व्यक्तिगत आयकर संरचनामा उल्लेखनीय परिवर्तनहरू भएका छन् । यसअन्तर्गत कर छूटको सीमामा वृद्धि भएको छ । त्यसैगरी कृषिमा सरकारको योगदान वृद्धि प्रधानमन्त्री किसान सम्मानअन्तर्गत ११.४ करोडभन्दा बढी किसानलाई २.२ लाख करोड रुपैयाँ नगद अनुदानको योजना अगाडि सारिएको छ । त्यसैगरी सुरक्षा बीमा र जीवन ज्योति योजना अन्तर्गत ४४.६ करोड व्यक्ति बीमाको दायरामा समेटिने प्रस्ताव गरिएको छ । भारत सरकारले विश्व अर्थतन्त्रको मन्दीका कारण अर्थतन्त्रमा परेको दबाबलाई नीतिगत तहबाट नै सुल्झाउने प्रयास बजेटमार्फत गरिरहेको देखिन्छ । र, पछिल्लो समय भारतको अर्थतन्त्रको स्थितिले भारत विश्वव्यापी महाशक्तिको दौडमा संकटमुक्त छ । तर, भारतको बजेटले दक्षिण एशियामा र क्षेत्रीय स्तरमा व्यापक प्रभाव र हैसियत राख्छ । भारतबाहेक समग्र दक्षिण एशियाको संकट निकै डरलाग्दो छ । आर्थिक संकटपछि श्रीलंकामा देखिएको वस्तु तथा सेवाको संकटबाट अझै मानवीय स्थिति सामान्यीकृत हुन सकेको छैन । पाकिस्तानमा तीव्र आर्थिक अस्थिरता र विदेशी मुद्राको सङ्कट चुलिएको छ । पाकिस्तानसँग औसत २५ दिनको मात्र वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम हुन पुगेको छ । त्यसैगरी बंगलादेशको विद्युत् क्षेत्रको संकट र नेपालको व्यापारघाटाको स्थिति भयावह छ । म्यानमारमा विद्रोहपछिको व्यापार बन्दको अवस्थामा व्यापक सुस्ती आएको छ । तर, समग्र क्षेत्रीय स्थिति चिन्ताजनक रहे पनि भारतको अवस्था उच्च ऋण र मूल्यवृद्धिको अवस्था पनि बलियो बनेको छ । समग्र बजेट दक्षिण एशियाको क्षेत्रीय आर्थिक स्थिरता, समन्वय र आर्थिक समृद्धिको पक्षमा भने अनुदार छ । भारतको उपभोक्ता मामिला, खाद्यान्न तथा सार्वजनिक वितरण क्षेत्र, कृषि, साना तथा मझौला व्यवसाय र अन्य सामाजिक क्षेत्रको बजेट व्यापक छ । यो क्षेत्रमा विनियोजित बजेट कृषि उपजको मूल्य निर्धारण, समर्थन, सम्पूर्ण खाद्यान्न सुरक्षा, खाद्यान्नको सहज वितरण, गुणस्तर निर्धारण र सार्वजनिक यातायात एवं परिवहन सुधारमा खर्च हुने गरेको छ । भारतको अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान भारतलाई आत्मनिर्भर बनाउने हैसियततर्फ उन्मुख गराउँदै लगेको छ । यसअनुसार भारत सरकारले पनि कृषि, ऊर्जा, सामाजिक क्षेत्र, साना तथा मझौला उद्यमी र सरकारी संरचनाहरूको सुधारमा ठूलो खर्च गरिरहेको छ । कृषि ऋणमा छूट, कृषि पूर्वाधार कोष, कृषकलाई आपत्कालीन चालू पूँजी, पशुपालन पूर्वाधार कोष, कृषि बजारको संरचनामा सुधार र खाद्यान्न वितरणसम्बन्धी विद्यमान व्यवस्थाको सुधारलाई सरकारले प्राथमिकता दिएको छ । त्यसैगरी भारतको बजेटले साना तथा मझौला उद्यमीको विकास र स्तरोन्नतिका लागि सरल ऋण, उद्यमशील कोष, गरीब कल्याण योजना विभिन्न प्रकारका योजना वितरण गरिएको छ । यस प्रकारको सहुलियतले भारतको साना उद्योग तथा कृषि व्यवस्थाअन्तर्गतको उत्पादनहरूको लागत ७५ प्रतिशतसम्म कटौती भइसकेको छ । भारत सरकारको यो प्रकारको अनुदानले समग्रमा क्षेत्रीय दबाबहरू पर्ने निश्चित छ । यस अवस्थामा दक्षिण एशियाको अन्य मुलुकहरूको उत्पादन र लागत उच्च रहने भएकाले भारतीय वस्तु तथा सेवाको आयात झन् बढ्ने देखिन्छ । केही क्षेत्रीय सहानुभूति प्राप्तिका लागि भारत सरकारले वैदेशिक अनुदान र सहायताको रकमलाई निरन्तरता दिएको देखिन्छ । यसअनुसार सन् २०२३/२४ मा नेपाललाई ५ अर्ब ५० करोड भारू मात्र सहायता दिने घोषणा गरेको छ । गत आर्थिक वर्षको बजेटमा भारतले नेपालका लागि लागि ७ अर्ब ५० करोड भारू सहायता दिने घोषणा गरेको थियो । तर, बजेट पुनरवलोकन गर्दै गतवर्ष ४ अर्ब २५ करोड अनुदानमा सीमित गरेको थियो । यस अर्थमा अहिलेको घोषणा गतवर्षको प्रारम्भिक विनियोजनको भन्दा कम र संशोधित बजेट रकमभन्दा बढी हो । लेखक आर्थिक विकास तथा अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।