गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । बारामा गाँजा तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति भक्तलाल खोलाको बगरमा गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करले गोली हानेको प्रहरीले जनाएको छ । गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो । जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो । घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ । साथै १०२ किलो गाँजा पनि बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।