जनता महँगीको मारमा, सरकार कर उठाउनै व्यस्त

पेट्रोलियम पदार्थलगायत उपभोग्य वस्तुहरूको मूल्य सर्वसाधारण जनताले थेग्नै नसक्ने गरी तीव्र रूपमा आकाशिँदै गएको छ । यसले गर्दा सर्वसाधारण जनतालाई दैनिक जीवनयापन गर्न निकै नै कठिन भएको छ । अझ भनौं सर्वसाधारण जनताको दैनिकीमा जोडिएको उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिले गर्दा हुँदा खाने जनताको ढाड सेक्न गएको छ । तर पनि सबै पक्ष मौन बनिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले गर्दा पक्कै पनि उपभोग्य वस्तुलगायत अन्य सबै सामानको मूल्य पनि वृद्धि हुन्छ । ८४ रुपैयाँमा किनेको पेट्रोलको मूल्य १४२ रुपैयाँ पुगेको छ । यति महँगोमा बेच्दा पनि नेपाल आयल निगम निगम घाटामा छ, निगम डुब्न लाग्यो भन्ने खबर सञ्चारमाध्यममा व्याप्त छ । पेट्रोलियममा मात्रै सरकारले ५८ रुपैयाँ ४८ पैसा कर लगाएको छ । यस विषयको खोजी सरकारले गर्नुपर्छ । सरकारले करको दर घटाएर हुन्छ कि ढुवानीमा अनुदान दिएर हुन्छ कि मूल्य अभिवृद्धि कर छूट गरेर हुन्छ कि हुँदा खाने जनताको चूल्होसँग प्रत्यक्ष जोडिएको ग्यास, तेल, मट्टीतेललगायत उपभोग्य वस्तुको मूल्य सहज र सर्वसुलभ बनाउनुपर्छ । पेट्रोलियम पदार्थलगायत सामग्रीमा अत्यधिक रूपमा थेग्नै धान्न नै नसक्ने गरी मूल्य आकाशिँदा पनि सरकार किन उदासीन बनिरहेको छ ? यस्ता विषयहरूको सवालमा सरकार गम्भीर बन्न अति नै जरुरी छ । अच्युत मान सिंह प्रधान ‘उत्सुक’ बालुवाटार, काठमाडौं ।