आइएमई जनरल इन्स्योरेन्स–नेपाल क्लियरिङ हाउस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो भुक्तानी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गर्ने भएको छ । यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।   सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई आईपीएस/कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना लगानी कारोबार आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सकिनेछ । यसले कम्पनीलाई आफ्ना विभिन्न खाताबाट भुक्तानी कारोबार सहजै आफ्नो अपरेटिङ खातामा सार्न सहयोग पुग्नेछ । यी सबै कारोबार सोझै बीमा कम्पनी तथा लाभग्राहीका बैंक खाताबाटै हुनेछन् । एनपीआईमा जोडिएपछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित हुनुका साथै हिसाब मिलान गर्न सजिलो हुनेछ । उक्त इन्टिग्रेसनमा आइएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालि रहेको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रूपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ, जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् ।