जलेश्वर भन्सारले उठायो डेढ अर्बभन्दा बढी राजस्व

जनकपुरधाम। महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा रू. १ अर्ब ५६ करोड १९ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्लाको मलिवाडामा रहेको कार्यालयले चालू आर्थिक वर्षको ६ महीनामा रू. १ अर्ब ८६ करोड ६ लाख राजस्व असुलीको लक्ष्य पाएको थियो । मासिक राजस्व संकलनको अवस्था हेर्दा कार्यालयले साउनमा लक्ष्यको १२३ दशमलव ९५, भदौमा ९२ दशमलव ४४, असोजमा ७३ दशमलव ८६, कात्तिकमा ८१ दशमलव २८, मङ्सिरमा ७५ दशमलव ११ र पुसमा ६८ दशमलव २५ प्रतिशत राजस्व संकलन गरेको देखिएको छ । कार्यालयले चालू आर्थिक वर्षमा ३ अर्ब ७६ करोड २३ लाख राजस्व संकलनको लक्ष्य पाएको कार्यालय प्रमुख अमित पौडेलले जानकारी दिए ।  भन्सार विभागले दिएको लक्ष्य प्राप्ति गर्न कार्यालय प्रयासरत रहेको उनको भनाइ छ । यद्यपि गत आर्थिक वर्ष २०७९/८० को ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कार्यालयको राजस्व संकलन घटेको छ । गत आर्थिक वर्षको पहिलो ६ महीनामा कार्यालयले १ अर्ब ३३ करोड ७० लाख ४६ हजार राजस्व असुली गरेको थियो । सो अवधिमा कार्यालयले १ अर्ब ४९ करोड ३४ लाख ५३ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन भएको छ । भारतबाट भिठामोड नाका भएर नेपाल भित्रिने पेट्रोलियम पदार्थ, कोइला र जिप्सनबाट बढी राजस्व संकलन हुने गरेको भन्सार प्रमुख पौडेलले बताए ।