सत्ता साझेदार चार राजनीतिक दलबिचको समझदारी अनुसार मन्त्रीपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १९ मन्त्री नियुक्त गरी कार्यविभाजनसमेत गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति पौडेलसमक्ष बुधबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । नयाँ राजनीतिक ध्रुवीकरणसहित बनेको यो सरकार संविधानले निर्दिष्ट गरेको लक्ष्यबमोजिम समाजको खुसी र मुलुकको समृद्धिका लागि दत्तचित्त भई अगाडि बढ्ने आमविश्वास र भरोसा छ । नवनियुक्त मन्त्रीहरूले पदबहाली गरेसँगै व्यक्त गर्नुभएका अभिव्यक्तिले त्यही सन्देश प्रवाह गरेको छ ।