नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी चार्टर्ड एकाउन्टेन्ट संघ एक्यानको पूर्व निर्धारित कार्यक्रममा अनुपस्थित भएका छन्। एक्यानले आगामी मौद्रिक नीतिबारे छलफल गर्ने पेनल डिस्कसन कार्यक्रम आयोजना गरेको थियो ।उक्त सत्रको अध्यक्षता गभर्नर अधिकारीले गर्ने तय भएको थियो। गभर्नरको स्थानमा डेपुटी गभर्नर बम बहादुर मिश्रले उक्त सत्रको अध्यक्षता ग्रहण गरिरहेका छन् । आयोजक एक्यानले प्राविधिक कारणले गभर्नर उपस्थित हुन नसकेको बताएको छ । नेकपा एमालेले आफ्नो अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारीलाई मनोनित गरेको छ । उक्त व्यक्ति गभर्नर नै रहेको भन्दै त्यसको विरोध सडकदेखि सदनसम्म पनि विरोध भईरहेको छ । राष्ट्र बैंकको गभर्नर कुनै पनि पार्टीको सदस्य हुन नपाउने उल्लेख छ ।एक्यानले गरेको पेनल डिस्कसनको सहजकर्ता नबिल बैंकका डिजीएम ममनोज ज्ञवाली रहेका छन् । सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, अर्थशास्त्री डा. विश्वास गौचन, र रेटिंग एजेन्सी इक्रा नेपालकी बिजनेश हेड वर्षा श्रेष्ठ सहभागी छन् ।छलफलपछि एक्यानले राष्ट्र बैंकलाई मौद्रिक नीतिको लागि सुझाव दिने छ ।