वैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

काठमाडौं (अस) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ सफल भएपछि परीक्षण उडानको तयारी थालिएको छ । विमानस्थलमा वैशाख १ गते परीक्षण उडानको तयारी गरिएको हो । थाइल्याण्डको एरो थाईले १० दिनसम्म गरेको क्यालिब्रेशन फ्लाइट सफल भएको प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएको छ । उक्त एयरलाइन्सले सोमवार क्यालिब्रेशन फ्लाइटका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुखहरूलाई विस्तृत जानकारी गराएको छ । यद्यपि प्रारम्भिक प्रतिवेदन बुझाएको एरो थाईले अबको १ सातामा अन्तिम प्रतिवेदन बुझाउने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । एरो थाईले अन्तिम प्रतिवेदन दिएलगत्तै उक्त विमानस्थलमा भन्सार, अध्यागमनका कार्यालयका साथै ग्राउण्ड ह्याण्डलिङ र कार्गाेको व्यवस्थापनका लागि संरचना विकास गरिने दाहालले बताए । एरो थाईले फाइनल प्रतिवेदन बुझाएपछि आयोजनाले परीक्षण उडान र व्यावसायिक उडानका लागि आवश्यक तयारीका लागि गृहकार्य अघि बढाउने पनि उनले जानकारी दिए । फागुन ६ गतेदेखि १५ गतेसम्म एरो थाईले उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरेको थियो । उक्त उडानबाट परीक्षण उडान र व्यावसायिक उडान गर्न सकिने प्रारम्भिक निष्कर्ष आएकाले अन्य तयारी शुरू गर्न लागिएको उनको भनाइ छ । क्यालिब्रेशन फ्लाइटका क्रममा समस्या नभएपछि आयोजनाले परीक्षण उडानको समय तोकेको हो । परीक्षण उडानपछि जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने उनले बताए । परीक्षण उडान सफल भएलगत्तै प्राधिकरणले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूलाई निवेदन दिन आह्वान गर्नेछ । निर्माण शुरू गरेको झन्डै ७ वर्षमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सम्पन्न भएको हो । आन्तरिक विमानस्थलको रूपमा रहेको उक्त विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न थप ५०० बिघा जग्गा अधिग्रहण गरिएको थियो ।

सम्बन्धित सामग्री

जहाज ‘ओभरसुट’ : जोखिम कि सुरक्षित ? के भन्छन् विज्ञहरू ?

काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍यो ।  काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एक घण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍यो । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।  त्यस दिन एयर इण्डियासहित अन्तरराष्ट्रिय उडानका तीन जहाज भारतको बनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो ।  विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटीसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तरराष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ ।  त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेबल एप्रोच’ भएकाले ओभरसुट गरेको हो ।   यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट गर्‍यो । जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरू बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ । तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उहाँहरूको भनाइ छ ।  नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेबल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन् । ‘ओभरसुट सबैभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ,’ उनले भने, ‘ओभरसुटलाई अनस्टेबलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’  नेपालमा ओभरसुटलाई नकारात्मकरूपमा लिने गरिए पनि संसारभर ओभरसुटलाई सकारात्मक रूपमा लिइन्छ र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् । तर, नेपालमा ओभरसुट भएपछि नियामक निकायले स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ ।  जहाज अनस्टेबल एप्रोच भएर तथा कहिलेकाहीं एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीं धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ ।  विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए ।  ‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई । तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रूपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ,’ उनले भने ।   जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टीआईएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ ।  विशेष गरी चैत–वैशाखमा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टीआईएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् ।  कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौं विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तरराष्ट्रिय उडानका जहाजले काठमाडौं विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।  यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तरराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तरराष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तरराष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तरराष्ट्रिय विमानस्थल छन् । कुल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ ।  मौसम खराबी भएको अवस्थामा काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ ।  तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन् । डाइभर्ट भएका अन्तरराष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् ।  गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनेपछि टीआईएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तरराष्ट्रिय विमानस्थल भए पनि टीआईएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् ।       दैनिक एक घण्टा होल्ड       यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार  ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गर्छन् ।     टीआईएमा दैनिक आन्तरिक र अन्तरराष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । रासस

गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले

काठमाण्डो – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ ।हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले परीक्षण उडान गर्नेछ । उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिए । उनले व्यावसायिक उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि बताए ।