साउन २४, काठमाडौं । एनआईसी एशिया डायनामिक डेप्ट फण्डले प्रस्तावित प्रतिफलका लागि साउन २८ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन २७ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस फण्डले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो खुलामुखी योजना हो । क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ ।
यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ । पुराना दुई बन्दमुखी योजना एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुका लागि पनि क्यापिटलले एउटै अनुपातमा कर समेत ३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ । यी बन्दमुखी योजनाको लाभांशका लागि भने बुक क्लोजको मिति तय हुन बाँकी छ ।
एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महिनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको हो ।