बैशाख ४, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तरलता अभाव भएको भन्न थालेको लामै समय भइसकेको छ ।
तरलता अभाव भएपछि राष्ट्र बैंकले स्थानीय तहको खातामा रहेको पैसालाई पनि निक्षेपको रुपमा गणना गर्न दिएको थियो । घरजग्गा, शेयर बजार, गाडी लगायतका क्षेत्रमा लगानीमा पनि कडाइ गरेको थियो ।
विदेशी मुद्राको सञ्चितिमा निकै चाप परेपछि प्रतितपत्र (एलसी) खोल्न पनि रोक लगाएइएको छ । ३०० भन्दा धेरै प्रकारका वस्तु आयातमा कडाइ गरिएको छ ।
बैंकका सीईओहरूको कुरा सुन्ने हो भने पनि बैंकमा लगानी योग्य रकम छँदै छैन । कसैले १० लाख रुपैयाँ मागेपनि दिन सक्ने अवस्था नभएको बैंकरहरू बताउँछन् ।
तर यीनै बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा धितो राखेर ऋण दिन भने छोडिएको छैन । तरलता अभावका कारण लगानी योग्य रकम नै छैन भन्ने बैंक तथा वित्तीय संस्थाहरूले यहि अवधिमा करीब ४ लाख व्यक्ति/संस्थालाई ऋण दिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ७५ हजार मात्रै कम हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार गत वर्ष २०७८ को साउनदेखि चैत्रसम्म ९ महीनाको अवधिमा ३ लाख ९० हजार घरजग्गा धितो राखेर ऋण दिइएको छ । अघिल्लो वर्ष २०७७ को सोही अवधिमा ४ लाख ६५ हजार घरजग्गा धितो राखेर ऋण दिइएको थियो ।
कुन महीनामा कति धितो रोक्का ?
२०७८ साउनदेखि भदौ सम्म ३ लाख ९० हजार घरजग्गा रोक्का राख्दा सबैभन्दा धेरै गत भदौमा ६६ हजार ५५८ घरजग्गा रोक्का राखिएको थियो । असोजमा ५७ हजार र साउनमा ५० हजार घरजग्गा रोक्का राखिएको थियो । यो ३ महीनामा कम्तिमा ५० हजार भन्दा बढी घरजग्गा रोक्का भएका थिए ।
त्यसपछि सबैभन्दा धेरै गत मंसिरमा ४१ हजार घरजग्गा रोक्का भएका थिए । कात्तीक र फागुनमा समान ३६ हजार रोक्का हुँदा चैतमा ३५ हजार, पुसमा ३४ हजार र माघमा ३० हजार घरजग्गा रोक्का भएका थिए ।
पछिल्लो ६ महीनामा मात्रै २ लाख १५ हजार भन्दा धेरै घरजग्गा रोक्का भएका छन् । २०७७ को सोही अवधिमा ३ लाख ६१ हजार घरजग्गा रोक्का भएका थिए । तुलना अवधिमा भने १ लाख ४६ हजार कम घरजग्गा रोक्का भएका छन् ।
साना तथा मझौला कर्जाले संख्या बढेको अनुमान
अहिले बैंक तथा वित्तीय संस्थामा राम्रो सम्बन्ध भएका केही सीमित व्यक्तिहरूले मात्रै बैंकबाट ऋण पाइरहेको सर्वसाधारणको आरोप छ ।
बैंकबाट ऋण निकाल्न भन्दै १ वर्षदेखि धाइरहेका कैलालीका कमल मल्लले बैंकमा सोर्सफोर्स नलगाएसम्म ऋण पाउन नसकिने बताए ।
तरलता अभाव हुँदा बैंकहरू ऋण दिने मामलामा केही सतर्क भएकोले राम्रो सम्बन्ध भन्दा पनि बिगतमा इमान्दारीपूर्वक भएका कारोबारका आधारमा कसै कसैले सानो तिनो ऋण लिएको हुनसक्ने एक बैंकरले स्वीकारे ।
तर ठूलो ऋण भने लामो समयदेखि नै रोकिएको छ । ३०/३५ हजार मान्छेले कर्जा लिएको तथ्याङ्क भएपनि ती सबै साना र मझौला कर्जा मात्रै गएको हुन सक्ने उनको अनुमान छ ।
बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य लगानी गर्नुपर्ने साना तथा मझौला कर्जा, कृषि कर्जा लगायतका क्षेत्रमा १५ लाख भन्दा ठूलो ऋण दिंदा धितो अनिवार्य गरेका छन् । यसकारण पनि समग्रमा धितो रोक्काको संख्या नघटेको अर्का एक बैंकरले बताए ।
‘अर्बौ रुपैयाँ माग्नेलाई दिन नसक्ने अवस्था हो । यस्तो बेलामा ठूलो ऋण दिंदा जोखिम पनि ठूलो हुन्छ ।‘ उनले भने, ‘जोखिम कम गर्न बैंकहरू साना मझौला कर्जामा केन्द्रीत हुँदा विभागको तथ्याङ्कमा धेरैलाई ऋण दिइएको देखिएको हो ।’
साना, मझौला र कृषि कर्जामा कर्जा प्रवाह हुनु भनेको अर्थतन्त्रका लागि सकारात्मक कुरा नै हुने पनि उनको भनाइ छ ।