अझै शुरू भएन कोरला नाकामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी, बैशाख १। चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण अझै शुरू भएको छैन । २०७६ फागुनमा भन्सार विभागका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण शुरू हुने बताएका थिए । कोरला नाकामा चीनले आफ्नोतर्फ सम्पूर्ण भौतिक संरचना तयार पारेको छ भने नेपालतर्फ भौतिक […]

सम्बन्धित सामग्री

अझै शुरू भएन कोरला नाकामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी । चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण अझै शुरू भएको छैन । २०७६ फागुनमा भन्सार विभागका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण शुरू हुने बताएका थिए । कोरला नाकामा चीनले आफ्नोतर्फ सम्पूर्ण भौतिक संरचना तयार पारेको छ भने नेपालतर्फ भौतिक पूर्वाधार निर्माणको तयारी समेत  भएको छैन । नेपालले नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइन लगायत एकीकृत संरचना विकास गर्ने बताइए पनि अहिलेसम्म काम अघि नबढ्दा सरकारको यो योजना अलपत्र परेको छ । छोटो दूरीमा पर्ने भएकाले कोरला नाका गण्डकी र छिमेकी प्रदेशका लागि सबैभन्दा उपयुक्त हुने देखिएको छ । उपल्लो मुस्ताङको भूगोललाई राम्रोसँग बुझेका लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले यस क्षेत्रका लागि तातोपानी नाकाभन्दा कोरला नाका सहज हुने बताए । कोरला नाका सञ्चालन भए गण्डकी र लुम्बिनी प्रदेशमा चिनियाँ सामान सस्तो र सुलभ हुने उनको भनाइ छ । यो नाका सञ्चालनमा आए आर्थिक व्यापारिक मात्र नभई पर्यटन क्षेत्रमा पनि ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदरकुण्ड मुस्ताङमै पर्ने हुँदा नाका खोलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्री पनि बढ्ने अनुमान गरिएको छ । त्यसैगरी, सोही नाका हुँदै भारतीय तीर्थयात्री चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले भारतीय धार्मिक पर्यटकको आगमन बढ्ने मुस्ताङवासीको विश्वास छ । नाकामा भौतिक संरचना निर्माणका लागि १ हजार ३४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले बताए । लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर वर्षको दुईपटक नाका खुला गरेर ‘अन्तरदेशीय व्यापार मेला’ नाम दिने गरिएको छ । तर, नेपालबाट भने कुनै पनि सामान चीनतर्फ पठाउने वातावरण अझै नबनेको गुनासो स्थानीय व्यापारीको छ । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रूपमा यातायातको पहुँच पुर्‍याउन सातओटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ । नेपाल–चीन सीमा कोरला नाकामा चीनतर्फ दुई वर्षभित्र भौतिक संरचना तयार भएका थिए । नेपालतर्फ भने कुनै पनि काम अघि बढेको छैन । सीमामा भन्सार कार्यालय, नेपाली सेना, प्रहरी र कर्मचारी राख्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । नेपालले इलाका प्रहरी कार्यालय र भन्सार कार्यालय छोसेरमा राखेको छ । उपल्लो मुस्ताङमा रहेको नेपाल र चीनको सिमाना २४ नम्बर पिल्लर क्षेत्र मङ्सिरदेखि फागुनसम्म सुनसान भएकोमा चैतको शुरुआतसँगै यहाँ आउने आन्तरिक पर्यटक बढेको संरक्षण क्षेत्र व्यवस्थापक समिति लोमान्थाङका अध्यक्ष टासी गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकासँग जोडिएको सीमा क्षेत्रमा हिउँले व्यापार, होटल व्यवसाय, विद्यालय, र सरकारी कार्यालय फागुनसम्म बन्द थिए । १५० घरधुरी रहेको लोमान्थाङमा एक–दुईओटा होटल मात्र खुलेका छन् । कोरला नाका, गुम्बा, गुफा, माटोको घरलगायत अवलोकनका लागि मार्चदेखि नोभेम्बरसम्म आउने पर्यटकका कारण यस क्षेत्रमा व्यावसायिक चहलपहल हुने होटल व्यवसायी समितिका कोषाध्यक्ष रामबहादुर गुरुङले बताए । वर्ष २०१९ मा लोमान्थाङमा तीन हजार ८२० पर्यटक आएको उनले जानकारी दिए । प्रवेश शुल्क महँगो हुँदा विगतमा भन्दा पर्यटक घटेको उनले बताए ।