ट्रायल पास गरेकै दिन परीक्षणकालीन लाइसेन्स दिने सरकारको तयारी

पुस १४, काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका चालकलाई सोही दिन परीक्षणकालीन सवारीचालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने तयारी गरेको छ । मंगलवार यातयात व्यवस्था विभागमा आयोजित एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चालकलाई ट्रायल पास गरेकै दिन क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स दिने तयारी भइरहेको बताएकी हुन् । नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि विभागले परीक्षणकालीन लाइसेन्स प्रयोगमा ल्याएको हो ।  स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र लिन सेवाग्राही वर्षदिन कुुर्नपर्ने बाध्यताका कारण त्यसको विकल्पको रुपमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन शुरु गरेको हो । विभागले भदौदेखि ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएकाहरूलाई क्यूआर कोडसहितको एउटै किसिमको पीभीसी कार्ड प्रयोगमा ल्याएको छ । ट्राफिकले क्यूआर कोडका आधारमा चालकको लाइसेन्स जाँच गर्ने विभागले जानकारी दिएको छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउन सक्नेछन् । यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ ।