हिमालयन लाइफले नविकरण गर्न छुटेका बिमितलाई दियो छुट

काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सले बीमा नवीकरण गर्न ढिलो भएका वा समयमै गर्न नसकेका बीमितलाई बीमालेख नवीकरण गर्दा लाग्ने जरिवानामा छुट सुविधा दिएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १० देखि २२ सम्म नवीकरण गर्दा विलम्ब शुल्क छुट दिने भएको हो । कम्पनीले तीन वर्षसम्म बीमा लेख व्यतित अवधि भएकालाई ब्याज र जरिवाना दुवैमा शतप्रतिशत छुट दिने भएको छ भने तीन वर्षदेखि सात वर्षसम्मका बीमालेखमा ५० प्रतिशत र सात वर्षदेखि माथिका बीमालेखमा २५ प्रतिशत छुट दिने घोषणा गरेको हो । व्यतित बीमालेखा पुनः जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीबाट ब्याज तथा जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गरिएका बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकले नियमअनुसार नै सरेन्डर गर्न चाहेमा बीमालेख नवीकरण गर्दा प्रदान गरिएको छुटबापतको रकम कट्टा गर्ने सर्त कम्पनीले राखेको छ । कम्पनीले साविकको प्राइम लाइफ इन्स्योरेन्स,युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई समयमा नवीकरण नगरेका बीमितलाई लक्षित गरी यो छुट सुविधा ल्याएको हो ।