आयात व्यापारले संकेत गरेका संकटहरू

आयात वृद्धि या ह्रासले मात्र मुलुकको समग्र अर्थतन्त्रको यथार्थ चित्रण हुन सक्दैन । तसर्थ आयात वृद्धिलाई समष्टिबाट होइन, व्यष्टिबाट हेर्नुपर्छ र ती व्यष्टिगत दृष्टिकोणहरूलाई पनि विभिन्न वर्गीकरणका तथ्यांकहरूबाट जाँच गरिनुपर्छ ताकि आयातमा आएको परिवर्तनले मुलुकको समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भन्ने पक्षको यथार्थ चित्रण प्रस्तुत हुन सकोस् । सारमा भन्नुपर्दा सबै आयातहरू खराब हुँदैनन्, देशभित्र उत्पादनको सम्भावना भएका वस्तुको आयात हुन्छ भने मात्र संवेदनशील आयातका रूपमा लिइन्छ । कुनै वस्तु स्वदेशमा उत्पादन गर्दा त्यस्ता वस्तुले देशको पर्यावरणलाई हानि गर्छन् भने ती वस्तु स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । विशेष गरी खनिज उत्खनन एवम् प्रशोधनमा अधिक रसायनको प्रयोग हुने वस्तुहरू स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । यस्तै सबै निर्यात पनि राम्रा मानिँदैनन् । स्वदेशको पर्यावरणलाई असर गर्ने खालका खनिज उत्खनन र प्राकृतिक स्रोतको निर्यातलाई यस वर्गमा लिने गरिन्छ । यस्तै अन्तिम प्रयोगकर्ताको आधारमा पनि मालवस्तु आयात र निर्यातको वर्गीकरण गरिन्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात गरी तीनओटा वर्गीकरणका आयातको प्रयोजन निर्धारण गर्ने गरिन्छ । मुलुकको कुल आयातमा माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश अधिक हुनुले मुलुकको अर्थतन्त्र स्वस्थतातर्फ उन्मुख हुँदै गएको पुष्टि गर्छ भने कुल आयातमा माध्यमिक र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश कम हुनु र पूर्ण तयारी मालवस्तुको आयातमा वृद्धि हुनुले देशको अर्थतन्त्रमा आन्तरिक क्रियाकलापमा न्यूनता रहेको पुष्टि गर्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात यी तीनओटै क्षेत्रमा ह्रास आउँदा मुलुकमा आर्थिक अनिष्टको संकेत गर्छ । माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको कमीले मुलुकभित्र उत्पादनका क्रियाकलापमा सुस्ती आएको पुष्टि हुन्छ भने पूर्ण तयारी मालवस्तु आयातको कमीले मुलुकभित्र वस्तुको मागमा कमी रहेको पुष्टि गर्छ । यसरी उत्पादन क्रियाकलाप र मागको कमी हुँदा त्यसले अर्थतन्त्र मन्दीतर्फ जान लागेको संकेत गर्छ ।  बृहत् आर्थिक वर्गीकरणअनुसार चालु आर्थिक वर्षको प्रथम १० महीनामा माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र तयारी मालवस्तुको आयात तीनओटै वर्गमा ह्रासको अवस्था छ । आर्थिक वर्ष (आव) २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा माध्यमिक उपभोगको आयातमा २६ दशमलव ४ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १६ दशमलव १ प्रतिशतले ह्रास आएको छ । औद्योगिक कच्चापदार्थका रूपमा परिचित यस माध्यमिक उपभोगको आयातको कमीले नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत गर्छ । यस्तै अवस्था पूँजी निर्माणमा सहयोग गर्ने आयातमा पनि रहेको छ । आव २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा पूँजी निर्माणमा सहयोग गर्ने आयातमा १५ दशमलव शून्य प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ३२ दशमलव ८ प्रतिशतले ह्रास आएको छ । औद्योगिक मेशिनरीको बाहुल्य रहेको यस वर्गीकरणअन्तर्गत भएको आयातको कमीले समेत नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत र भविष्यमा यो सुस्ती अझ बढ्ने संकेत गर्छ ।  आव २०७७/७८ को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा तयारी मालवस्तुको आयातमा ३४ दशमलव ७ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १३ दशमलव २ प्रतिशतले ह्रास आएको छ । विप्रेषणमा दोहोरो अंकको वृद्धि हुनु र नेपालको आयातको प्रमुख कारकतत्त्व विप्रेषण नै हुुनुका साथै तयारी मालवस्तुको आयातमा समेत ह्रास आउनुले आमजनमानसको खरीददारीमा रुचि नरहेको र यसप्रकारको त्रासको वातावरण रहेको पुष्टि गर्छ । यस्तो अवस्था सृजना हुनु भनेको अर्थशास्त्रको शास्त्रीय दुश्चक्रको निर्माण हुन लागेको संकेत हो । माग कम हुने, माग कम हुँदा उत्पादनका क्रियाकलापमा ह्रास आउने, उत्पादनका क्रियाकलापमा ह्रास आउँदा साथ थप बेरोजगारी बढ्ने र बेरोजगारी बढ्नासाथ मागमा थप कमी आई जुन दुश्चक्र शुरू हुन्छ त्यो दुश्चक्रको उत्पत्तिको चरणमा मुलुक रहेको हो भन्ने पूर्वसन्देश आयातको यस आँकडाले प्रवाह गरिरहेको छ ।  मुलुकमा आर्थिक दुश्चक्र निर्माण हुने चरणमा रहेको सन्दर्भमा यस दुश्चक्रको विस्तार हुनबाट रोकी भयावह प्रभावलाई समयमा नै निस्तेज गर्न न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै सजगताका साथ सक्रिय हुन आवश्यक देखिएको छ । यसका लागि मुलुक आर्थिक दुश्चक्रमा जाँदैन भनेभैंm गरी जनमानसका आत्मबल जगाउनु आवश्यक छ । जनमानसमा आत्मबल जगाउने पहिलो कार्यमा बजेटमा पूँजीगत शीर्षकको खर्चको अंश अधिक र चालू शीर्षकको अंश न्यून हुने विषयमा सरकारको तथ्यांकयुक्त दीर्घकालीन प्रत्याभूति हो । दोस्रो, लगानीको वातावरण सृजना नै हो । लगानीको वातावरण भन्नासाथ प्रक्रियागत सरलता, सुनिश्चित प्रतिफल, न्यून बोझ तथा लगानीको सुरक्षा यी चारओटा तत्त्व मुख्य रूपमा आकर्षित हुन्छन् । प्रक्रियागत सरलताका लागि संरचनागत सुधार, सुनिश्चित प्रतिफलका लागि स्वदेशी उद्योगलाई आयातबाट पर्न जाने चापबाट सुरक्षाकवच प्रदान, न्यून बोझका लागि करका दरहरूमा व्यापक कटौती तथा श्रम कानूनमा उदारता जस्ता विषय स्वत: आकर्षित हुन्छन् । आवेशयुक्त लगानी तथा अज्ञानयुक्त लगानीलाई हरेक देशले निरुत्साहित गरिरहेका हुन्छन् । वर्तमान समयमा देखापरेको आर्थिक संकटका पछाडि अन्यत्र जस्तै नेपालमा पनि घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटा क्षेत्रमा भएको आवेशयुक्त तथा अज्ञानयुक्त लगानीलाई मान्न सकिन्छ । शुरूमै यस्ता क्रियाकलापमा नियन्त्रण गर्न सकेको खण्डमा यी तीनओटै क्षेत्रमा यस स्तरको त्रासको सामना गर्नुपर्ने अवस्था आउने थिएन । तसर्थ घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटै पक्षमा हुने आवेशयुक्त र अज्ञानयुक्त लगानी कम गर्न कानूनी प्रावधानका अतिरिक्त चेतनामूलक शिक्षा प्रवाह पनि उत्तिकै जरुरी छ ।   यसरी उपर्युक्त बमोजिम अर्थतन्त्र चलायमान गराउन एकातिर विश्वासको वातावरण सृजना गर्न आवश्यक छ भने अर्कोतिर उत्पादनसम्बन्धी क्रियाकलापहरूमा वृद्धि गर्न उत्प्रेरणात्मक अवधारणामा निजीक्षेत्रलाई सरकार स्वयम्ले लगानीका क्षेत्रहरू, लाभको अवस्था तथा सुरक्षाको प्रत्याभूतिसहित साना, मझौला र ठूला सबै खालका प्रोजेक्टहरू विकास गरी लगानीका क्षेत्र पहिचान गर्नु आवश्यक देखिन्छ । दुश्चक्र आउने पूर्वसंकेत नेपालको आयात तथ्यांकको प्रयोजनयुक्त वर्गीकरणले स्पष्ट गरिसकेको अवस्थामा उक्त दुश्चक्र भयावह हुनपूर्व माथि उल्लिखित विषयमा सबै पक्षको समयमै ध्यान जानु आवश्यक देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । 

सम्बन्धित सामग्री

ब्याजदरको न्यायोचित नियमन : ब्याजविरुद्धको अराजक गतिविधि नियन्त्रण आवश्यक

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि शर्तअनुसार कर्जाको साँवा र ब्याज तोकिएको मितिमा भुक्तानी गर्नु ऋणीको दायित्व हो । ऋणको विभिन्न शर्तहरूमा मञ्जुरी गरिपछि नियमित कर्जा वा ब्याजको किस्ता तिर्ने कार्यमा अनावश्यक विवाद गर्ने वा अराजक क्रियाकलापमा उत्रने कार्य गैरकानूनी हो । पछिल्लो समय ब्याजको बहानामा अराजक समूहमार्फत बैंक तथा वित्तीय संस्थालाई हानि हुने कार्य वा वित्तीय संस्था सम्बद्ध कर्मचारीहरूमाथि दुव्र्यवहार भइरहेका घटनाहरू सार्वजनिक भएका छन् । विशेषतः बैंक तथा वित्तीय संस्थाबाट ऋणको रूपमा प्रवाह हुने कर्जा सर्वसाधारण बचतकर्ताको रकम हो । तर, बचतकर्ताको रकमको सुरक्षणसमेत हुनुपर्ने मान्यताको विपरीत संगठित रूपमा नै कर्जा नतिर्ने कार्यको प्रोत्साहनले कुनै पनि समय वित्तीय प्रणालीमा ठूलो जोखिम उत्पन्न हुने अवस्था सृजना हुनसक्छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले ४ करोड ८३ लाखभन्दा धेरै निक्षेप खातामार्फत कुल ५४ खर्ब रुपैयाँ निक्षेप संकलन गरी १८ लाख ऋणीलाई करीब ४८ खर्ब ऋण प्रदान गरेका छन् । कुल निक्षेप तथा ऋण लगानीमा वाणिज्य बैंकहरूको अंश ८८ प्रतिशत छ भने अन्य बैंक तथा वित्तीय संस्थाको १२ प्रतिशत रहेको छ । पछिल्लो समय वाणिज्य बैंकहरूको ब्याजदरको आधार दर (बेस रेट) १० दशमलव ९१ प्रतिशत रहेको छ भने भारित औसत ऋणको ब्याजदर १२ दशमलव ७८ कायम रहेको छ । त्यसैगरी मुद्दती निक्षेपतर्फको भारित औसत निक्षेप दर ११ दशमलव शून्य ६ छ भने भारित औसत अन्तर बैंक ब्याजदर ७ दशमलव ५३ पुगेको छ । उल्लिखित स्तरमा कायम ब्याजदरको तथ्यांकले समग्र बैंक तथा वित्तीय संस्थामा कायम तरलताको परिस्थिति सहज नरहेको संकेत गर्छ । वित्तीय प्रणालीमा देखिएको यस्ता समस्या निराकरणका लागि यथोचित ढंगले दबाब दिनुको सट्टा संगठित रूपमा गैरकानूनी गतिविधि गर्नु वा यस्तो कार्यलाई प्रोत्साहन गर्नु शोभनीय विषय होइन । ब्याजदर निर्धारणमा नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्था र मौद्रिक नीतिको कडाइका कारण समग्र वित्तीय संस्थाहरूमा समस्याहरू देखिन थालेको थियो । नेपाल राष्ट्र बैंकले कर्जा असुलीमा कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि कर्जामा विभिन्न प्रकारले कडाइ गरेका थिए । वित्तीय संस्थाको त्यस प्रकारको गतिविधिले नियमित मुद्रा प्रवाहको प्रणालीमा अवरोध भयो र कर्जा नियमित हुन सकेन । अर्थतन्त्रमा आएको समस्यालगायत कारणले व्यावसायिक गतिविधि उत्साहजनक बनेन भने कर्जा तथा ब्याज तिर्नमा व्यवसायीहरूलाई कठिनाइ हुनपुग्यो । यो अवस्थामा बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अंश अस्वाभाविक बढ्यो भने विशेषतः लघुवित्तको खराब कर्जामा झन् असामान्य वृद्धि देखिन पुग्यो । त्यसैगरी लघुवित्त क्षेत्रमा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्था र नियमनमा समेत विभिन्न कमजोरीहरू रहेको सतहमा आएका छन् । वित्तीय क्षेत्रको समग्र यो प्रकृतिको परिस्थितिलाई तत्काल सहजतापूर्वक समाधान गर्ने ध्येयले नियामक निकाय र सरकार लाग्नुपर्ने देखिन्छ । अन्यथा लघुवित्तमा देखिएको आगो अन्यत्र पनि बिस्तारै सल्किने र भीषण डढेलोको रूप लिने परिस्थिति तयार नहोला भन्न सकिँदैन । सापेक्षित रूपमा ब्याजदरको स्थायित्व, मूल्य नियन्त्रण, अन्तरराष्ट्रिय बजारको प्रभावको न्यूनीकरण र तरलताको व्यवस्थापन नेपाल राष्ट्र बैंकको मूलभूत उत्तरदायित्व हो । त्यसका अतिरिक्त उपभोक्ता मुद्रास्फीति दरको निर्धारण, मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापनका लागि वस्तु र सेवा खरीदका लागि विदेशी मुद्रा सञ्चिति कायम गर्ने र सरकारको कार्यदिशाअनुसारको आर्थिक वृद्धि प्राप्त गर्न सापेक्षित नीतिको पक्षपोषण आवश्यक रहन्छ । त्यसैगरी मुद्रा व्यवस्थापन, बजार मूल्य र ब्याजदरको स्थिरताका लागि आवश्यक न्यायोचित नियमनसहित मौद्रिक उपकरणमार्फत बजार दरमा हस्तक्षेप गर्दै समग्र वित्तीय कारोबारहरूलाई समसामयिक बनाउन आवश्यक छ । तर, बजारमा भइरहेको ब्याजदरको मनोमानीलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक असफल भएको छ भने स्वतन्त्र बजार व्यवस्थाको नियमनमा चुकेको कारण प्रणालीगत समस्यामा अराजक समूह खेल्न सफल भएको छ । अर्थतन्त्रमा देखिएको समस्याले वित्तीय क्षेत्रलाई समेत गाँजेकाले तरलता व्यवस्थापनमा भएका अहिलेसम्मका प्रयासहरू फलदायी देखिएनन् । स्थायी रूपले तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकको नीतिगत प्रयास र उपकरणको व्यवस्थापनले मात्र सार्थक हुने देखिएको छैन । तरलता अभावको मुख्य समस्या नै समग्र आर्थिक गतिविधि र प्राप्त हुने स्रोतहरू संकुचन भैरहेको परिस्थिति हो । वैदेशिक व्यापारमा बढ्दो व्यापारघाटा र विप्रेषण, वैदेशिक लगानी, ऋण एवं दातृ निकायहरूका सहयोगमा आएको कमीलगायत कारण स्रोतका रूपमा रहेका संकटहरू हुन् । यससँगै सरकारको समेत बजेट खर्च यथेष्ट बढ्न नसकेको अवस्थामा उपभोग खर्चले समग्र मुद्रा बजारलाई दबाब दिइरहेको छ । तसर्थ वित्तीय स्रोतको प्राप्ति वा मौद्रिक बचतमा देखिएको समस्याको निराकरणका लागि सरकारले नै अन्य वैधानिक निरुपणको उपाय छिटो खोज्नु आवश्यक छ । नेपाल राष्ट्र वैंकले ब्याजदरको स्थायित्वका समेत लागि उपयोगमा ल्याउने उपकरणहरूको सान्दर्भिकतालाई पुष्टि गर्नु आवश्यक छ । केन्द्रीय बैंकले अवलम्बन गर्ने नीति सीमित वर्ग वा लगानीकर्ताको पक्षपोषण वा वित्तीय उपकरणको प्रयोगात्मक परीक्षण गर्ने मान्यताबाट प्रेरित हुनु गलत हुन्छ । स्वतन्त्र बजार प्रणालीमार्फत हुने ब्याजदर निर्धारणको कार्यलाई न्यायोचित दृष्टिकोणले नियमित अनुगमन र नियमनको दायरामा ल्याउनु आवश्यक छ । पछिल्लो समय लघुवित्त संस्थाहरूको ऋणको परिचालन, वर्गीकरण, प्रयोजन र वैज्ञानिक उपयोगमा बेवास्ता गरिँदै आएका कारण त्यसको असरले समग्र प्रणालीलाई धक्का दिन खोजेको स्पष्ट हुन्छ । पुनर्कर्जा, पुनःसंरचना वा परिमार्जित व्यवस्थाहरूको पुनरवलोकन समेतका विषयमा समेत सान्दर्भिकता पुष्टि गर्ने अभ्यासमा नेपाल राष्ट्र बैंकले ध्यान दिनु आवश्यक छ । वित्तीय प्रणालीमा ब्याजदर घट्नु र बढ्नु सामान्य नियम हो तर अनावश्यक रूपमा ब्याजदर बढ्ने र घट्ने अवस्थाले मुलुकको अर्थतन्त्रमा नकारात्मक परिणाम दिन्छ । त्यसैगरी यो अर्थतन्त्रको स्थायित्वका लागि स्वाभाविक मानिँदैन । समग्र अर्थव्यवस्थाको अपेक्षित वृद्धिदर, मूल्यवृद्धि र अन्तरराष्ट्रिय परिवेशको सापेक्ष हुने गरी निर्धारण हुने ब्याजदर आदर्शतम मान्न सकिन्छ । त्यसैगरी सर्वसाधारणले बैंकमा राखेको निक्षेप, केन्द्रीय बैंकमा रहेको निक्षेप वा खरीद तथा विक्रीमा प्रवाह भएको वित्तीय उपकरणहरू विद्यमान बजार ब्याजदरमा सर्वसाधारण बचतकर्ता वा ऋणीको मागअनुसार उपलब्ध हुने मात्रामा रकमको जोहो हुनु आदर्शतम तरलताको अवस्था मान्न सकिन्छ । स्थिर अर्थतन्त्रमा ब्याजदरको अवस्था र निर्धारणको प्रक्रियालाई महत्त्वपूर्ण सूचकको रूपमा लिने गरिन्छ । वित्तीय प्रणालीमा हुने ब्याजदर निर्धारणको प्रक्रियालाई सधैं न्यायोचित र सापेक्षित बनाउँदै लैजानु आवश्यक छ । त्यसका लागि नेपाल राष्ट्र बैंकको परोक्ष निगरानीमा वित्तीय संस्थाहरूले लागतका आधारमा ब्याजको आधार दर तय गर्ने र कर्जाको ब्याजदर तोक्ने गर्नुपर्छ । नेपालको बैंकिङ प्रणालीलाई पूर्ण रूपमा स्वतन्त्र राख्न खोज्नु र नियमनकारी निकायसमेत ब्याजदरको निर्धारण प्रक्रियामा निगरानी गर्ने परिस्थितिमा नरहनु अहिलेको समस्याको एउटा कारण हो । न्यायोचित ब्याजदरको निर्धारण र सही किसिमले कर्जा उपयोगमा जोड दिने परिस्थिति बन्ने हो भने प्रणालीको विश्वसनीयता कायम भइरहने अवस्था आउँछ । यसो भएमा अराजक समूह स्वतः पाखा लाग्ने स्थिति देखापर्न सक्छ । निष्कर्षमा, ब्याजदर निर्धारण प्रक्रियालाई परोक्ष नियमन गर्ने विधि केन्द्रीय बैंकले स्थापित गर्नु आवश्यक छ । समग्र प्रक्रियाको अध्ययन, निगरानी र निरन्तर अनुगमनले ब्याजदर परिवर्तनको अवस्थासँगै अन्य सूचकहरू जस्तै लगानी, आम्दानी, उपभोग, बजार मूल्य वा मुद्रास्फीतिको अवस्थाको बारेमा समेत समयमा नै सचेत हुने परिस्थिति खडा गर्छ । वित्तीय प्रणालीको प्रमुख सूचक नै ब्याजदर भएकाले यसको उपयोगलाई न्यायोचित बनाउनुपर्छ । यदि वित्तीय प्रणालीमा ब्याजदरको विषय चुनौती वा जोखिमका रूपमा रूपान्तरण हुन्छ भने त्यसले समग्र प्रणालीलाई नै ध्वस्त पार्न सक्छ । तसर्थ अनावश्यक मुद्दाको रूपमा अनुचित किसिमले ब्याजदरको विषयलाई राजनीतिक रंग दिएको अवस्थामा त्यसको नियन्त्रणतर्फ समेत सम्बद्ध निकाय जागरुक हुनु आवश्यक छ । लेखक आर्थिक विकास तथा अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।