२७ औं वार्षिकोत्सवको अवसरमा नेपाल बंगलादेश बैंकद्वारा ७० लाख बराबरको सहयोग

जेठ २२, काठमाडौं । विदेशी संयुक्त लगानीमा सञ्चालित नेपाल बंगलादेश बैंकले आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ ।  वार्षिकोत्सवको अवसर पारेर बैंकले हाल नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख बराबरको २ हजार ५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । साथै, सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ ।  उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरीद गर्ने समेत बैंकले बताएको छ ।  यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४० दशमलव ९० प्रतिशत लगानी रहेको छ । बैंकले हाल सातै प्रदेशमा ९९ ओटा शाखा, ८ ओटा एक्सटेन्सन काउन्टर तथा ८१ ओटा एटीएमबाट ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।