सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्र प्राथमिकतामा : मन्त्री बडू

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुक्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले यस्तो बताएका हुन् । कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन पहल गरिरहेको मन्त्री बडूले बताए । ‘लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।’ दोधारा चाँदनीको सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्रीद्वय रमेश लेखक, नारायणप्रकाश साउद र उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमन समेत गरेका थिए । मन्त्री बडूले सुक्खा बन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको बताए । ‘यो नेपाल–भारत र चीनको त्रिदेशीय व्यापारिक महŒवसँग जोडिएको योजना पनि हो,’ उनले भने, ‘योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्नेछ ।’ दैजी छेला औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने उनको भनाइ थियो । ‘औद्योगिक क्षेत्र निर्माणको मोडालिटीबारे मन्त्रालय चाँडै टुंगोमा पुग्नेछ,’ उनले भने, ‘औद्योगिक क्षेत्रको निर्माण अब दु्रतगतिमा अगाडि बढ्छ ।’ उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले सुक्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन र जग्गा भोगाधिकारको विषय टुंगो लाग्ने चरणमा छ,’ उनले भने, ‘प्रक्रियामा रहेका विषय र नयाँ बजेटमा सुक्खा बन्दरगाहलाई सम्बोधन गर्ने विषय एकसाथ टुंगोमा पुग्न सक्छ ।’ रासस