बर्खा लाग्यो, खोला बढ्यो रोकिए गाडी

मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत पर्ने विभिन्न खोलामा पुल नहुँदा बर्खा लागेसँगै खोलामा बाढी बढेपछि स्थानीयलाई आवतजावत गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सकस हुन हुन थालेको छ । मार्तडी–कोल्टी सडकको दानसाँगु र कर्णाली कोरिडोर सडकखण्ड अन्तर्गत पर्ने बड्डीगाड, पिलुचौर, कवाडीलगायतका खोलामा पुल छैन । सडक भए पनि खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न र यातायातका साधन सञ्चालन गर्न समस्या भएको हो । पिलुचौर बड्डीगाड खोलामा बर्खा लागेसँगै पानीको बहाव बढ्दै गएपछि वारपार गर्न समस्या भएको जगनाथ गाउँपालिका–१ का स्थानीय व्यापारी मीनबहादुर कार्कीले बताउनुभयो ।