युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

चैत २१, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग एफपीओ निष्कासनका लागि अनुमति  माग गर्दै निवेदन दिएको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले अनुमति दिएमा कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा  कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ।  कम्पनीकाो शेयर  निष्कासन तथा  विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई  मर्जर गरी गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । युनिक लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेपछि बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो । घोडीघोडा लघुवित्त सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत नभएको  कम्पनी हो । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्जर तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले  कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । आवश्यक प्रक्रिया पुरा गरेर बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।