१७ करोडको लगानीमा धरानमा दाना उद्योग स्थापना

भदौ २०, धरान । विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुने स्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौं लगानीको उद्योग खुलेको छ । २० जना व्यवसायीहरु मिलेर पशुपंक्षीको दाना (आहार) उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको हो । लगानीकर्ताको समूहले १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । प्रालिको शनिवार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरे । उद्योगले कुखुरा, बंगुर लगायतलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादन गर्ने जानकारी दिइएको छ । मुख्यमन्त्री आचार्यले उत्पादन वृद्धि गर्ने, रोजगारी सृर्जना गर्ने क्षेत्रमा उद्योगहरुको महत्वपूर्ण भुमिका रहने बताए ।  उनले संविधान र लोकतन्त्रको स्थायीयत्व गर्ने काम सँगसँगै उत्पादन वृद्धि, पुर्वाधारको विकास, कृषिको विकास, रोजगारी प्रवर्द्धन सरकारको प्राथमिकता रहेको बताए ।  पशुपंक्षीको आहार विदेश र अन्य प्रदेशबाट आइरहेको सन्दर्भमा धरानमा उद्योग खुलेर आत्मनिर्भर हुने गरि पहल भएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशंसा गरे । उत्पादन वृद्धि, उद्यम विकास, देशलाई आत्मनिर्भर बनाउन, आर्थिक वृद्धि र व्यापार घाटा बनाउनको लागि यस्तो उद्योग आवश्यक भएको पनि उनले बताए । साधन स्रोत जुटाउन समस्या नहुने तर योजना र व्यवस्थापनको मात्र समस्या भएको आचार्यको भनाइ थियो । उनले उद्यमशिल विकासको लागि सरकार र जनता सबै पक्षले स्वागत र सहयोग गर्ने बताए ।  प्रालिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले किसानहरुलाई असाध्यै समस्या भइरहेको कारण आफूहरुले उद्योग खोलेको बताए । उनका अनुसार लामो समयदेखि पशुपंक्षी पालन गर्ने किसान, दाना वितरक, पशु पोषणविद तथा पशु चिकित्सकहरुलगायत २० जनाको समूह मिलेर उद्योग खुलेको हो ।  यहाँबाट कुखुरा, वंगुर, गाई, भैँसी, माछालगायत पशुपंक्षीको गुणस्तरीय तथा सन्तुलित आहार उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । उद्योगबाट प्रतिदिन २०० मेट्रिक टन दाना उत्पादन गर्ने क्षमता छ ।  बजार विस्तार गर्न उद्योगले थप २० करोड लगानी गर्ने योजना छ । प्रालिमा ५० जनाले प्रत्यक्ष, २०० जनाले अप्रत्यक्ष रोजगारी पाउने श्रेष्ठले बताए । साथै, देशभरका ६ हजार किसानहरु लाभान्वित हुने उनले बताए ।

सम्बन्धित सामग्री

बाँकेमा थपिँदै ठूला उद्योग, साढे दुई अर्ब लगानीमा डल्फिन ग्रुपको उद्योग सञ्चालन

बाँके । जिल्लामा आन्तरिक खपत तथा निर्यातमा महत्त्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् ।  कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई आवश्यक खाद्यवस्तु उत्पादन गर्दै आएको डल्फिन ग्रुपले भर्खरै कोहलपुर–७, लखनावरमा दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा उद्योग सञ्चालनमा ल्याएको छ । यहाँ केएल दुगड ग्रुपको खाद्य उद्योग, जयमङ्गलम सिमेन्ट, जय बागेश्वरी सिमेन्ट उद्योग, बागेश्वरी स्टिल एण्ड आइरन उद्योग, बाहुबली हर्बल उद्योग, गङ्गा रोजिन एण्ड टर्पेन्टाइन, पानस फर्मास्यूटिकल्स जस्ता उद्योग सञ्चालनमा छन् । सुजुकी, महिन्द्रा, हुन्डाईजस्ता महङ्गा र नाम चलेका गाडीका शोरुम पनि यहीँ छन् ।  पश्चिम नेपालभर आफ्नो उत्पादन विस्तार गर्न कैलालीबाट बाँकेमा उद्योगलाई विस्तार गरेको डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार डल्फिन ग्रुपले कोहलपुरमा पशुपक्षीका लागि अत्याधुनिक दाना उद्योग, मानिसका लागि चामल मिल, आटा उद्योग, सोयाबोडी र चिउरा तथा भुजा उद्योग सञ्चालन गरेको छ । यीमध्ये दाना उद्योग नेपालकै सबैभन्दा आधुनिक उद्योग हो । चाइनिज प्रविधिको यो दाना उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १५ टन छ ।  ‘पशुपक्षीको दाना र मानिसका लागि आवश्यक खाद्यान्न अन्य प्रदेशबाट आयात गर्नुपर्ने बाध्यता अब छैन । हामीले बाँकेबाट देशभर नै उत्पादन विस्तार गरिरहेका छौं,’ अध्यक्ष थापाले भने, ‘हाम्रा उत्पादन सहज, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’ अत्याधुनिक पूर्ण स्वचालित उद्योग भएकाले डल्फिन ग्रुपको दानाको गुणस्तरमा कुनै पनि कमी कमजोरी नहुने उनको दाबी छ ।  डल्फिन समूहले तीन वर्षदेखि कोहलपुरमा उद्योग सञ्चालन गर्दै आएको छ । डल्फिन ग्रुपले सञ्चालन गरेका उद्योगमा चार सयदेखि पाँच सयले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । उद्योग व्यवसायको माध्यमबाट देशमा रोजगारी सिर्जना गर्दै गुणस्तरीय उत्पादनमा आफूहरूले जोड दिँदै आएको डल्फिन ग्रुपका प्रबन्ध निर्देशक तीर्थ थापाले बताए ।   नेपालगञ्ज औद्योगिक क्षेत्रमा झण्डै करिब तीन दर्जन मात्र उद्योग सञ्चालनमा रहेका बेला कोहलपुरको पिपरी, पार्वतीपुर र जानकी गाउँपालिकाको गनापुर क्षेत्रमा भने औद्योगिक क्षेत्रको तुलनामा आन्तरिक खपत तथा निर्यातमा महत्त्व राख्ने दोब्बर ठूला उद्योग सञ्चालनमा छन् । बाँकेमा उद्योग सञ्चालन गरेर पश्चिम नेपालमा उत्पादन तथा विक्री वितरण गर्न ढुवानी कम लाग्ने र यहाँ उद्योगका लागि आवश्यक जग्गा जमिन पनि सहजै पाइने भएकाले ठूला उद्योग थपिँदै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरी बताउँछन् । रासस

बाँकेमा दाना उद्योग स्थापना, प्रतिघण्टा ६ टन दाना उत्पादन हुने

साउन २४, बाँके । बाँकेको खजुरास्थित कुखुरा विकास फार्मले आफैँ दाना उत्पादन उद्योग स्थापना गरेको छ ।  कुखुरा, बाख्रा र गाईभैँसीलाई आवश्यक पर्ने दाना उत्पादन गर्ने उद्देश्यले स्थापित सो उद्योगको  भवन निर्माण गर्नाका साथै आवश्यक उपकरण पनि जडान गरिएको छ । सो कार्यका लागि हालसम्म रू. एक करोड दुई लाख लगानी भइसकेको फार्मका प्रबन्धक डा शंकर न्यौपानेले जानकारी दिए । उनका अनुसार भवनका लागि रू. ३८ लाख र जेनेटरसहित अन्य उपकरणका लागि रू. ६४ लाख जति खर्च भएकोे छ ।  उद्योगबाट प्रतिघण्टा ६ टन दाना उत्पादन गर्न सकिने छ । उत्पादित दाना फर्ममा रहेका कुखुरालाई खुवाउन र सरकारी फार्मअन्तगर्तका अन्य फार्मलाई उपलब्ध गराउन र चल्ला तथा कुखुरा खरीद गरेर लैजाने किसानलाई सहुलियत दरमा विक्री गरिने उनले बताए । उत्पादित दाना बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा किसानलाई विक्री गर्ने लक्ष्य रहेको फार्मले जानकारी दिएको छ । सरकारी फार्ममै दानाको उत्पादन हुन लागेकामा ग्रामीण भेगका किसान हर्षित छन् । रासस