घरजग्गा कारोबारमा मन्दीको असर : लिलामी सूचना झन्डै दोब्बर

काठमाडौं । घरजग्गा कारोबारमा आएको मन्दीले ठूला मात्र नभई साना व्यवसायीसमेत प्रभावित हुन थालेका छन् । मन्दीले गर्दा व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा र ब्याज समयमै तिर्न व्यवसायीलाई हम्मेहम्मे परेको छ । कर्जा तिर्न नसक्दा धितोबापतको घरजग्गा लिलाम हुने क्रम बढेको वित्तीय संस्थाहरूले जारी गरेको सूचनामा देख्न सकिन्छ ।  अघिल्लो त्रैमासको तथ्यांकले दैनिक २ हजार ४०० सीसी हाराहारी लिलामसँग सम्बद्ध सूचना प्रकाशित भएको देखाउँछ । यो त्रैमासमा भने लिलामीको ग्राफ झन्डै दोब्बर भएको छ । अहिले दैनिक ४ हजार सीसीभन्दा बढी लिलामीसँग सम्बन्धित सूचना प्रकाशित भइरहेको ‘माइन्ड्स नेपाल’को तथ्यांकले देखाउँछ ।  घरजग्गा क्षेत्रमा आएको मन्दीका कारण अहिले जग्गा बेचेर ऋण तिर्न सक्ने अवस्थामा ऋणीहरू छैनन् । धमाधम घरजग्गा लिलाम हुने क्रम बढेपछि धितोको मूल्यांकनले खामेसम्म घरजग्गा लिलाम गर्न नपाउने नियम ल्याउनुपर्ने आवाज ऋणीहरूले उठाएका छन् । गत असोजदेखि पुस १५ सम्मको साढे ३ महीनामा पत्रपत्रिकाको २ लाख ५० हजार कोलम सेन्टिमीटर (सीसी) स्पेसमा लिलामी सूचना प्रकाशित गरेका बैंक, वित्तीय संस्थाले पछिल्लो अढाइ महीनामै त्योभन्दा करीब ३० प्रतिशत बढी सूचना प्रकाशित गरिसकेका छन् । माघ, फागुन र चैत १९ गतेसम्मको तथ्यांकमा बैंक तथा वित्तीय संस्थाले धितो लिलामीका लागि निकालेको सूचना ३ लाख २० हजार सीसीभन्दा धेरै छ । यो काठमाडौंबाट प्रकाशित हुने १६ ओटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित घरजग्गा लिलामीसँग सम्बद्ध विज्ञापनको तथ्यांक भएको माइन्ड्स नेपालको भनाइ छ । यो तथ्यांकअनुसार पछिल्लो समय दैनिक ४ हजार ५० सीसीभन्दा बढी स्पेसमा लिलामीसम्बन्धी सूचना प्रकाशित भएका छन् । १० पेजको राष्ट्रिय दैनिक पत्रिकाको सबै पाना लिलामीका सूचनाले भर्दा ४ हजार सीसी बराबर हुन्छ । ३ लाख २० हजार सीसी लिलामीका सूचना १० पेजको एउटै पत्रिकामा (एउटा पनि समाचार नराखेर) प्रकाशित गर्दा लगातार ३ महीनासम्म छाप्न पुग्छ । माघभन्दा फागुनमा झन्डै ५० प्रतिशतले बढी  माघमा १ लाख ६ हजार सीसी लिलामीका सूचना निकालेका बैंक, वित्तीय संस्थाले फागुनमा १ लाख ५५ हजार सीसी छापेका छन् । माघको तुलनामा फागुनको सूचना झन्डै ५० प्रतिशत बढी हो । चैतको १९ दिनमा पनि ६० हजार सीसी लिलामीका सूचना प्रकाशित भइसकेका छन् । चैत बैंकको साँवा–ब्याजको किस्ता तिर्ने महीना पनि हो । यो समयमा बैंकको ऋण तिर्न नसक्नेको धितो लिलामी सूचना आगामी वैशाख र जेठमा प्रकाशित हुन्छ ।   अहिले लिलामीको संख्या मासिक १ हजारदेखि १ हजार ५०० सम्म पुगिसकेको छ । जबकि असोज, कात्तिक र मङ्सिरमा यो संख्या मासिक ४०० पनि पुगेको थिएन । साढे ३ महीनामा जम्मा १ हजार घरजग्गा लिलामीसम्बन्धी सूचना प्रकाशित भएका थिए । त्यसपछि माघ १ महीनामै हजारभन्दा बढी लिलामी सूचना प्रकाशित भएका थिए । फागुनमा १ हजार ५०० र चैत १९ सम्म ६०० गरी ३ हजार २०० लिलामीसम्बन्धी सूचना प्रकाशित भइसकेका छन् । यो तथ्यांकले लिलामीको गति कति बढेको छ भन्ने स्पष्ट देखाउँछ । ६० प्रतिशत अंश वाणिज्य बैंकको  ३ लाख २० हजार सीसी लिलामीसम्बन्धी सूचनामा सबैभन्दा धेरै अंश वाणिज्य बैंकहरूको छ । वाणिज्य बैंकहरूले २ लाख सीसी सूचना छापेका छन् । यो कुल हिस्साको ६० प्रतिशत हो ।  वाणिज्य बैंकपछि विकास बैंकले करीब ५२ हजार सीसी र सहकारीले ३८ हजार सीसी सूचना प्रकाशित गरेका छन् । घरजग्गाको अन्तिम लिलामी सूचना नै १ हजार ५०० हाराहारी छन् । माघमा ४०० भन्दा बढी, फागुनमा साढे ७०० र चैत १९ सम्म साढे ३०० भन्दा बढी गरी करीब १ हजार ५०० को संख्यामा घरजग्गा लिलाम गर्ने अन्तिम सूचना प्रकाशित भएका छन् । यो विज्ञापनको हिस्सा १ लाख ७२ हजार सीसीभन्दा बढी छ । बाँकी विज्ञापन ऋण चुक्ता गर्न आउने ३५ दिने सूचनाका हुन् ।