भदौ ३१, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार शुरु हुने भएको छ ।
गत भदौ ७ गतेनै बाँडफाँट गरेको आईपीओ सूचीकरणका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गराईसकिएको जानकारी शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले दिएको छ । बिहीवारसम्म सिडिएससीमा आवश्यक प्रक्रिया सम्पन्न गरी आगामी दोस्रो बजारमा सूचीकृत गराउने योजना रहेको शेयर रजिष्ट्रार कम्पनीले बताएको छ ।
कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव शून्य ७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।
उक्त कम्पनीको आर्थिक वर्ष २०७६/ ७७ सम्ममा वास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ । कम्पनीले सर्वसाधारणमा साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरी भदौ ७ गते बाँडफाँट गरेको हो । सर्वसाधारणमा कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ वितरण गरेको हो ।
कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
आईपीओ विक्री पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुगेको छ । कम्पनीको शेयरमा संस्थापक तर्फ ६४ प्रतिशत र सर्वसाधारणतर्फ ३६ प्रतिशत स्वामित्व रहेको छ ।