महिला उद्यमीका उत्पादनहरु प्रदर्शन र विक्री गर्न राष्ट्रिय स्तरमा क्राफ्ट भिलेज बनाऔं

घर तथा अफिसमा इन्टेरियर डिजाइन गर्ने प्रचलन नेपालमा पनि बढ्दै गएको छ । अन्तरराष्ट्रिय अभ्यास, परिवर्तित जीवनशैली, मानवीय शौख र रुचिले पनि इन्टेरियर डिजाइनको महत्व चुलिएको हो । यो पेशामा सम्भावना र अवसरकै कारण महिलाको उपस्थिति समेत बढ्दै गएको छ । निरु रायमाझी खत्री यसैको प्रतिनिधि उदाहरण हुन् । कुशल इन्टेरियर डिजाइनरको रूपमा परिचित उनले यो व्यवसायसहित नेपाल महिला उद्यमी महासंघको नेतृत्व सम्हालिरहेकी छिन् । प्रस्तुत छ, इन्टेरियर डिजाइनिङमा उनको अनुभव, नेपालमा यो व्यवसायको अवस्था, महिला उद्यमी महासंघका गतिविधि लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार : आफूलाई कसरी चिनाउनु हुन्छ ? म आजभन्दा झन्डै ३० वर्षअघिको कुरा गर्न चाहन्छु । हाईस्कुल पास गर्नेबित्तिकै इन्टेरियर डिजाइनतर्फ जान मन लागेकाले त्यससम्बन्धी खोज/ अनुसन्धान गरें । त्यति बेला अहिलेको जस्तो सहज थिएन । ज्ञान र अवसर सीमित थिए । नेपालमा इन्टेरियर डिजाइनिङको अध्ययन हुँदैनथ्यो, बाहिरै गएर पढ्नुपर्ने अवस्था थियो । त्यसपछि मैले जेजे स्कुल अफ आर्टसमा जाने विचार गरें । त्यसका लागि बुवाआमालार्ई बुझाउनुपर्‍यो । किनभने म परिवारको पहिलो सन्तान भएकाले त्यति सजिलो थिएन । त्यतिबेला छोरीलाई बाहिर पठाउने कुरा पनि हुँदैनथ्यो ।   तपाईंको खास पुख्र्यौली घर कहाँ हो, अनि कुन स्कुल पढ्नुभयो ? म हुर्के–बढेको त काठमाडौंमै हो । तर हाम्रो पुख्र्यौली घर चाहिं पाल्पामा हो । सेन्ट मेरिज स्कूलमा पढेको हुँ ।   स्कूल सक्नासाथ बाहिर इन्टेरियर डिजाइनिङ पढ्न जान मन लागेको हो ? स्कूलबाट सिनियर केम्ब्रिज गरेपछि इन्टेरियर डिजाइनिङ पढ्न गएको हुँ । कोर्स त्यस्तै खालको थियो, स्कुल सकेपछि सीधै जानुपथ्र्यो । त्यस क्रममा बम्बईमा झडै ४ वर्ष बसेर इन्टेरियर डिजाइनिङ एन्ड फनिर्सिङ विषयमा डिप्लोमा गरे । आफू स्वतन्त्र हुने भन्दा पनि काम गर्ने समयको लचकताका लागि मैले आफ्नै व्यवसाय शुरू गरेको हुँ ।   त्यससछि नेपाल नै आउनुभयो कि भारतमै काम गर्नुभयो ? भारतमा काम गरिनँ । भारतमा इन्टेरियर डिजाइनिङ हुन्छ भन्ने थाहा थियो । हामीले पढाइको क्रममा प्रयोगात्मक गर्दा त्यो थाहा थियो । तर मलाई नेपालमा यो काम नयाँ हुन्छ, यस्तो काम शुरू गर्नुपर्छ भन्ने लाग्योे । एक/ दुई जना इन्टेरियर डिजाइनर त हुनुहुन्थ्यो, तर अहिलेको जस्तो धेरै होइन । त्यसैले मलाई नेपालमै आउने रहर थियो ।   फर्किएर आएपछि के काम शुरू गर्नुभयो ? कहीं जागीर खानुभयो कि आफ्नै शुरू गर्नुभयो ? उताबाट आउनेबित्तिकै बालाजु कास्ट कार्यालय नामक फर्निचर फ्याक्ट्रीमा काम गरें । त्यतिबेला यसको नाम खुबै चलेको थियो । त्यहाँ विदेश (धेरैजसो जर्मनी) बाट इन्टेरियर डिजाइनर र फर्निचर डिजाइनर आउनुभएको हुन्थ्यो । त्यहाँ अप्रेन्टिसशिप (अहिलेको इन्टर्नशिपको जस्तो) काम गरेँ । त्यो काम गर्दागर्दै ८–९ महीनापछि अर्किटेक्चर डिजाइन एशोसिएट्स (एडीए) भन्ने कम्पनीमा आवश्यकताको विज्ञापन देखेँ । त्यसपछि झन्डै ५ वर्षसम्म त्यहाँ इन्टेरियर डिजाइनरको रूपमा काम गरेँ । अहिले त्यही पेशामा हुनुहुन्छ कि अन्य काम पनि गर्नुहुन्छ ?   जागीरे काम गर्दागर्दै मेरो बिहे भयो, बच्चा पनि भयो । त्यसपछि ९–५ को जागीर गर्दा आफूलाई अनुकूल भएन । केटाकेटी पनि हेर्ने, घर पनि हेर्नुपर्ने भएकाले केही समयका लागि घरमै बसेर ‘फ्रील्यान्सर’ भएर पनि काम गरें । त्यसको केही समयपछि अर्थात् आजभन्दा १५ वर्षअघि आफ्नै कम्पनी खोलें– इन्टेरियर डिजाइन सर्भिस (आईडीएस) । आफू स्वतन्त्र हुनेभन्दा पनि काम गर्ने समयको लचकताका लागि आफ्नै व्यवसाय शुरू गरेको हुँ । त्यो व्यवसाय गर्दागर्दै मलाई त्यसबेलाको नेपाल महिला उद्यमी संघ ललितपुरमा (त्यतिबेला महासंघ भएको थिएन) आबद्ध हुन निम्ता आयो । त्यो महिलाहरूको प्लाटफर्म भएकाले सिकाइ, ज्ञान–अनुभव आदानप्रदान हुने अवसर देखेर म त्यहाँ गएँ । त्यहाँ पहिलेदेखि नै संलग्न सदस्यहरूको अनुभव, काम गर्ने तरीका देखेर म प्रभावित भएँ । मैले उहाँहरूलाई आदर्श व्यक्ति देखें । त्यहाँ गएपछि मलाई के लाग्यो भने ‘म पो बाहिर गएर पढें, अनुभव भयो, अभिभावकले पनि स्तरीय वातावरणमा हुर्काउनुभयो, पढाउनुभयो । त्यही भएर मैले मौका पाएँ, तर कति ठाउँमा कति अवस्थामा महिलाले मौका पाएकै छैनन् । यो प्लाटफर्मले त्यस्ता महिलाहरूलाई सिकाउने, उत्पे्ररणा दिने मौका दिएको छ ।’ त्यसो हुँदा मलाई त्यसप्रति एकदमै लगाव भयो ।     घर/ अफिस बनाउँदा पहिलेदेखि नै इन्टेरियर डिजाइनिङ पनि गराउन सके खर्च कम हुन्छ ।       अहिलेसम्म कतिओटा कम्पनीलाई इन्टेरियर डिजाइनिङ सेवा दिनुभयो होला ? कम्पनीभन्दा पनि यो काम परियोजना अनुसार हुन्छ । गन्ने हो भने १०० ओटा भयो होला । परियोजना विभिन्न प्रकारका हुन्छन्– आवासीय, कार्यालयीय, व्यावसायिक, होटल/रेस्टुराँ सम्बन्धी आदि । यहाँका कतिपय पाँचतारे होटेलमा पनि काम गर्ने मौका पाएँ । हायात होटल भर्खर बन्दै थियो । त्यसमा पनि मैले इन्टेरियर डिजाइनर भएर काम गरेँ ।  अहिले चाहिँ काम गर्ने शैली पनि फरक भएको छ । किनभने अब डिजाइनिङमा प्रविधिले धेरै परिवर्तन ल्याएको छ । पहिलेको जस्तो टेबलमा बसेर कागजमा डिजाइन कोर्नुपर्दैन । रङहरूको संयोजनदेखि प्रस्तुतिसम्मका काम डिजिटल माध्यमबाट हुन्छ । म पनि धेरैजसो काम डिजिटल माध्यमबाटै गर्छु । मलाई यो सजिलो पनि लागिरहेको छ ।  इन्टेरियर डिजाइनको काममा प्रायः पुरुषभन्दा महिला नै आकर्षित भएको पाइन्छ, के कारण होला ? यसमा मेरो बुझाइ के हो भने महिलाहरू स्वभावतः अहिले सृजनशील हुन्छन् । घरमा पनि सजावट गर्न मन पराउने महिला नै हुन्छन् । साना साना कुराहरू विस्तृतमा हेर्ने, हरेक कोणबाट ठीक छ/ छैन हेर्ने शीप महिलामा पाइन्छ । तर त्यसो भन्दाभन्दै इन्टेरियर डिजाइन महिलाको मात्र क्षेत्र हो भन्न खोजेको होइन । धेरै पुरुषले पनि एकदमै राम्रो गर्नु भएको छ । घर अथवा कार्यालयमा इन्टेरियर डिजाइन छनोटको सन्दर्भमा के कस्तो परिवर्तन भएको छ ? धेरै नै परिवर्तन भएका छन् । पहिलेको ग्राहकभन्दा अहिलेका ग्राहक अलि सुसूचित पनि हुनुुहुन्छ । यस विषयमा आफै पनि धेरै जान्नुहुन्छ । किनभने अहिले यसमा इन्टरनेटले सहज बनाइदिएको छ । गूगल/ युट्युबमा हेरेर उहाँहरू ‘यो कलर, यस्तो कलर कम्बिनेशन, यस्तो सोफा/फर्निचर, यो स्टाइल चाहिन्छ’ भन्नुहुन्छ । पहिले त्यस्तो हुँदैनथ्यो । पहिले क्याटलगहरू, १०–१२ ओटा डिजाइन कन्सेप्ट, थ्रीडी डिजाइन आदि देखाउनुपथ्र्यो । अहिले त्यस्तो छैन । उहाँहरूले नै आफ्नो रुचि र आवश्यकता अनुसारको माग गर्नुहुन्छ, जसले गर्दा हामीहरूलाई पनि काम गर्न, उहाँहरूलाई बुझाउन एकदम सजिलो भएको छ । वास्तुशास्त्रले इन्टेरियर डिजाइनमा सकारात्मक, नकारात्मक केही प्रभाव पारेको छ ? वास्तुशास्त्रप्रति मेरो त्यति रुचि छैन । डिजाइन गर्दा विशुद्ध डिजाइनकै दृष्टिबाट हेर्छु । डिजाइन गर्दा त्यसमा प्रयोग हुने सामग्रीको सन्तुलन हेर्नपर्छ, ‘आउटकम’ कस्तो हुन्छ भन्ने हेर्नुपर्छ । त्यसमा प्रकाशदेखि हावाको आवतजावत समेतको पाटो हेर्नुपर्छ । अनि वास्तुशास्त्रीहरूले हेर्ने पनि त्यही सन्तुलन हो, उहाँहरूले पनि रङ संयोजनकै कुरा गर्ने हो । फर्निचरहरूको अवस्थिति मिलाउने हो । त्यसमा आआफ्नै धारणा हुन्छन् । तर नतीजाको हिसाबले एउटा खास सन्तुलन त सबैले खोज्छन् । त्यो ठाउँमा बसेपछि एकदमै आनन्द आउने आउटकम चाहिन्छ । यस हिसाबले केही न केही त पक्कै हुन्छ । भनाइको मतलब राम्रोसँग इन्टेरियर डिजाइन भएको छ, अनुभव भएको मान्छेले डिजाइन गरेको छ भने त्यो वास्तुअनुसार आफै मिल्ने भयो, होइन त ?  अवश्य पनि हो । किनभने सन्तुलित ढंगले रङको संयोजन भयो, फर्निचर पनि कोठालाई ठीक्क सुहाउने, कोठाको आकार अनुसार सुहाउँदो भयो भने समग्रमा आकर्षक देखिन्छ । अनि आकर्षक वस्तुले मनलाई आनन्द पनि दिने नै भयो । तपाईंसँग यस्तो कुनै अनुभव पनि छ ? जसमा तपाईंले गरेको काममा वास्तु नमिलेका कारण परिवर्तन गरौं भनिएको होस् ? त्यस्तो पनि धेरै भएको छ । ग्राहकलाई पहिलेको डिजाइन मन परेर काम सम्पन्न भइसके पनि २/४ वर्षछि उहाँहरूले वास्तुशास्त्रको कारण त्यसमा परिवर्तन गराउनुभएको छ । अहिले वास्तु हेर्नेे चलन एकदमै छ । त्यसले गर्दा पर्खाल नै हटाउने जस्ता सघन परिवर्तन पनि गरेका छौं । महासंघमा व्यवसाय विकास केन्द्रकोे अवधारणा ल्याएका छौं । त्यो भनेकोे सशुल्क सेवा दिएर आयआर्जन गर्ने हो । अनि तपाईंलाई यसले समस्या परेका केही घटना छन् ? त्यस्तो घटना त छैन, राम्रो नै भएको छ । कतिपय ग्राहक हामीलाई यो वास्तुअनुसार एकदमै मिलेको छ भनेर खुशी पनि हुनुभएको छ । तर खासमा त्यो मैले वास्तुअनुसार गरेको भने होइन ।  अहिले यो क्षेत्रमा पढेर धेरै युवाहरू आउनु भएको छ । ‘प्रोफेशनल’ लाई देखाएर मात्रै आफ्नो घर तथा अफिस बनाउने चलन बढेको छ । यसरी यो इन्डस्ट्री र काम पनि बढेको छ । जनसंशाधन पनि बजारमा त्यत्तिकै आएका छन् । यस क्षेत्रका मानिस बजारमा धेरै भएकाले काममा सकारात्मक, नकारात्मक कस्तो असर परेको छ ?  एकदमै सकारात्मक प्रभाव परेको छ । किनभने पहिले इन्टेरियर डिजाइनलाई खास ठाउँमा खास किसिमका मानिसले मात्र प्रयोग अपनाउँथे । अहिले ग्राहकको दायरा धेरै बढेको छ । होटल/रेस्टुराँ धेरै थपिएका छन् । धेरै आउने क्रममा छन् । कसैले अफिस बनाउँछ भने त्यहाँ इन्टेरियर डिजाइनको काम आइहाल्छ । साधारण घर नै बनाउन पनि इन्टेरियर डिजाइनरको सहयोग लिनुहुन्छ । इन्टेरियर डिजाइनको सामानका विक्रेता, जस्तै– फर्निचर शोरूम जस्ता व्यवसायमा पनि डिजाइनरहरू काम गर्नुहुन्छ । त्यसमा हामीले भन्नेबित्तिकै, भनेका अनुसारका सामान तुरुन्त पाइन्छ । मेरो डिमान्ड यस्तो किसिमको छ, मैले यो प्रोजेक्टमा यसरी हेरिरहेको छु, यो कलर कम्बिनेशन, स्टाइल चाहियो भनेपछि त्यो तुरुन्त आउँछ ।  तपाईंकोे इन्टेरियर डिजाइन कम्पनीमा कतिजना काम गर्छन् ? अहिले चार–पाँचजनाले पूर्णकालीन काम गर्छन् । तर अप्रत्यक्ष रूपमा धेरै छन् । यसमा टिम वर्क हुन्छ । प्लम्बिङ, इलेक्ट्रिसिटी, पेन्ट वर्क, फर्निचर लगायतको आआफ्नै सेक्सन हुन्छ । यसरी ५० जनाभन्दा बढीसँग हामी काम गर्छौं । यो त्यति धैरै कर्मचारी चाहिने खालको काम होइन रहेछ । व्यवसायको आकार चाहिं कति ठूलो हुन्छ ?  धेरै ठूल्ठूला परियोजनाहरू, जस्तै– होटल, ठूला कर्पोरेटको कुरा गर्‍यौं भने त्यसमा इन्टेरियर डिजाइनका कामहरू धेरै ठूलो आकारको हुन्छ ।  सिभिल इन्जिनीयर, आर्किटेक्टहरू हुनुहुन्छ । उहाँहरूले घर, कोठाको डिजाइनको काम गर्नुहुन्छ । उहाँहरू र तपाईंहरूले गर्ने काममा कत्तिको द्वन्द्व हुन्छ ?   हुन्छ नि, किन नहुनु । तर स्वस्थ किसिमको द्वन्द्व हुन्छ । त्यसैले यस्तो काममा सम्झौता र टिम वर्क आवश्यक छ । इन्टेरियर डिजाइन भन्ने नामले नै बताउँछ नि घरको आन्तरिक सजावट गर्ने भनेर । सिभिल इन्जिनियर, आर्किटेक्टले काम गर्दा शुरूदेखि नै हामीसँग राम्रोसँग समन्वय गर्दा त्यसको नतीजा एकदमै राम्रो हुन्छ । धेरैजसो कस्तो हुन्छ भने पहिले घर बन्छ, अनि घरको सजावट गर्नुपर्‍यो भने इन्टेरियर डिजाइन खोज्ने गरिन्छ । त्यस्तोमा कामको तालमेल अलि मिल्दैन । उदाहरणका लागि, डिजाइनरले ‘सोफा यहाँ राख्दा झ्याल यहाँ भएको राम्रो हुन्थ्यो, यहाँबाट लाइट आउथ्यो भन्ने’ देख्छ । तर त्यहाँ त पर्खाल नै बनाइएको हुन्छ । यसरी पछि गएर इन्टेरियर डिजाइनमा ‘यो भएन, यसरी मिलाउनुपर्‍यो’ भनेर काम गर्दा खर्च बढ्छ । तर घर÷अफिस निर्माणमा शुरूदेखि नै इन्टेरियर डिजाइनिङ पनि गराउन सके खर्च कम हुन्छ ।  इन्टेरियर डिजाइनिङमा कच्चापदार्थहरू (जस्तै– काठ, बाँस, प्लास्टिक, स्टील) को हिसाबले चाहिं यसको ट्रेन्ड कस्तो छ ? मानिसको रोजाइ कस्तो छ ? संरचनाको इन्जिनियरिङ सम्बन्धी काममा हामी त्यति संलग्न हुँदैनौं । इन्टेरियर डिजाइनिङमा ग्राहकको रुचिअनुसार यस्ता सामग्रीको उल्लेख्य प्रयोग हुने गरेको छ । साथै अहिलेका ग्राहकहरू अन्य विदेशी सामान पनि रोज्ने गर्छन् । कस्ता सामग्रीको प्रयोग गर्ने भन्नेमा मौसमले पनि निर्धारण गर्छ । जस्तै– काठमाडौंमा बन्ने घर/ अफिसको भुइँमा न्यानोपनका लागि काठ/ कार्पेट प्राथमिकतामा पर्छ । तराईतिर अथवा गर्मी ठाउँमा हो भने काठहरूको सट्टा मार्बल प्रयोग गरौैं भन्ने हुन्छ । ठाउँ अनुसार पनि विकल्प प्रशस्त छन् । विकसित देशमा भएको जस्तो नेपालमा आएको छ कि छैन ? जुन सबै हिसाबले राम्रो होस् । यस्तो ल्याउनुपर्छ भन्ने केही छ ?  कपडामा थोरै परिणाम मात्र आउँछ । कुनै चिजहरू राम्रो आउँछ । यसको माग पनि त्यत्तिकै भइरहेको हुन्छ । तर कतिपय वस्तु छान्दा पर्याप्त मौज्दात भइदिँदैन । त्यसले चाहिं कहिलेकाहीं अप्ठ्यारो पनि पार्छ । एउटा सामग्रीको नमूना लगेको हुन्छ, पास गरिएको पनि हुन्छ, आउँछ भनिएको हुन्छ, तर आउँदैन । त्यसले काममा अलि निराश बनाउँछ । फर्निचरहरू, फिनिसिङ मटेरियल, पत्थर, टायल्सहरूको काम गर्दा विविधता छ, उपलब्धता छ । बत्तीहरू पनि अलि सीमित मात्रामा आउँछ । त्यसमा पनि विकल्प अझै भएको भए राम्रो हुन्थ्यो भन्ने हुन्छ ।   साना साना कुराहरू विस्तृतमा हेर्ने, हरेक कोणबाट ठीक छ/ छैन हेर्ने शीप महिलामा पाइन्छ । धेरै मानिसमा इन्टेरियर डिजाइनको लागत अलि महंगो भयो भन्ने बुझाइ छ, यो यथार्थ हो ?  यो केही हदसम्म सही हो । कतिपयलाई आर्किटेक्टले घरै बनाइदिन्छ जस्तो लाग्ने रहेछ । सिभिल इन्जिनियरले बनावट, पिलरहरूको कुरा गर्नुहुन्छ, छडको कुरा गर्नुहुन्छ । इन्टेरियर डिजाइन अन्तिम चरणमा आउँछ र यसमा रङहरूको संयोजन मिलाउने, फर्निचर ल्याउने जस्तो काम हुन्छ भन्ने बुझाइ छ । रङहरूको संयोजन मिलाउने काम त म पनि गर्न सक्छु नि भन्ने सोच आउँदो रहेछ । त्यसकारण इन्टेरियर डिजाइनमा त्यति धरै खर्च नहोला भन्ने ग्राहकहरू मैले पनि पाएको छु ।  तपाईं इन्टेरियर बाहेक, तर यससँग सम्बन्धित फर्निचर अथवा फ्रेबिकको जस्तोे कुनै थप व्यवसाय गर्नुहुन्न ?  गरेको छु । पहिला मैले ‘ढाका बिज’ भनेर साथीहरूसँग मिलेर गरेको थिएँ । पछि त्यो विभिन्न कारणले बन्द भयो । अनि अहिले पनि मैले यहाँका अर्टिजनहरूले बनाउने, ऊड कार्भिङका सामान, विभिन्न किसिमका नेपाली कपडा प्रयोग गर्छु । त्यस्ता कपडा बनाउने कलाकारहरूलाई म साथ दिन्छु । धेरै चाहिं होइन, जुन एसेसरिजका रूपमा प्रयोग हुन्छ । तपाईंले ‘टेबल ल्याम्प’ राख्नुभयो भने त्यसको ‘शेड’ मा नेपालमा बनेको सामान राख्दा नेपाली मौलिकता झल्कन्छ । त्यस्तो काममा चाहिं मलाई चाहना पनि छ ।  तपाईंको व्यवसायमा वार्षिक कति कारोबार हुन्छ ? केही भन्न मिल्छ ?  करीब ५ करोडको कारोबार हुन्छ ।  थोरै प्रसंग बदलौं, महिला उद्यमी महासंघले अहिले के के गरिरहेको छ ? यसका योगदान के कस्ता छन् । महिला उद्यमी महासंघले उद्यमी महिलाको उत्थान, विकास र संरक्षण गर्छ ।  महासंघले एउटा वेब पोर्टल बनाएको छ । महिलाकोे सामानलाई एकदमै उचित मूल्यमा अनलाइनमा राखिदिन्छौं । यसरी विश्वभरि त्यसको प्रचार गरिदिन्छौं । त्यो त त्यसको उद्देश्य भयो । गतिविधिका हिसाबले अहिले के गरिरहेको छ ? त्यो उद्देश्य पूरा गर्न के के गरिरहेको छ र त्यसबाट के केमा योगदान पुगेको छ ? हामीले एक/ दुईओटा जिल्लाबाट महिला उद्यमशीलताको क्षेत्रमा काम शुरू गरेका हौं । अहिले ५७ ओटा जिल्ला पुगेको छ । हामीले जिल्लाहरूमा शाखा सञ्जाल बढाएका छौं । सातओटै प्रदेशमा हाम्रो उपस्थिति छ । त्यहाँका महिलाको क्षमता विकास, उत्पादन प्रवर्द्धन, बजारीकरणमा सघाएका छौं । उनीहरूलाई एकीकृत गर्ने, नेतृत्व र शीप विकास गर्ने कामलाई पनि प्राथमिकता दिएका छौं । महिला उद्यमी महासंघलाई पनि दिगोे बनाउनुपर्नेेछ । कस्तो किसिमको कार्यक्रम भयो भने संस्था आत्मनिर्भर हुन्छ भन्नेमा पनि हाम्रो ध्यान छ । हामीले व्यवसाय विकास केन्द्रकोे अवधारणा ल्याएका छौं । त्यो भनेकोे सशुल्क सेवा दिएर आयआर्जन गर्ने हो । हाम्रा सदस्यहरू मात्र नभई कुनै पनि महिला उद्यमीलाई दर्ता, नवीकरण, बजारीकरण, कच्चापदार्थको जानकारी आदि सेवा दिने काम गर्न थालेका छौं ।  अहिले गाउँका महिलाले सानो सानो रूपमा गरेका उत्पादन (जस्तै– मिथिला आर्ट)ले मूल्य नपाउने, श्रमको सम्मान नहुने, त्यो क्षेत्र मरेर जाने भइरहेको छ । त्यसमा तपाईंहरूले काम गर्न नसक्नु भएको हो ? के गर्दै हुनुहुन्छ ?  महासंघको पनि आफ्नै बाध्यता, सीमितता छ । सबै महिलाको विकास गरौं भन्ने हामीले सोचिरहेका त छौं । उहाँहरूको प्रडक्टहरूलाई पनि संरक्षण गरौं, त्यसलाई अगाडि बढाऔं भन्ने लागेको छ । तर हाम्रो क्षमता पनि पर्याप्त छैन । त्यसो भन्दा भन्दै हामीले नगरेको चाहिं होइन । हामी इन्टरभेन्सन गर्छौं । यसका लागि एउटा वेब पोर्टल बनाएका छौं । उहाँहरूको सामानलाई एकदमै उचित मूल्यमा अनलाइनमा राखिदिन्छौं । यसरी विश्वभरि त्यसको प्रचार गरिदिन्छौं । ठाडो रूपमा बनाइएका ढकी होस्, मिथिला आर्ट होस् वा पेन्टिङ वर्क ती सबै आउँछन् ।  इन्टेरियर डिजाइनका सामानका विक्रेता, जस्तै– फर्निचर शोरूम लगायत व्यवसायमा पनि डिजाइनरहरू काम गर्नुहुन्छ । त्यसले गर्दा हामीले भन्नेबित्तिकै, हामीले भनेका अनुसारका सामान तुरुन्त पाइन्छ ।   यति लामो समयदेखि महिला उद्यमशीलताको विकासका लागि काम गर्नुभएको छ । भर्खर उद्यमशीलतामा आउन चाहने महिला उद्यमीलाई के सुझाव दिन चाहनुहुन्छ ?  हामीले व्यक्तिगत रूपमा एक्लै काम गर्दा त्यहाँ कति समस्या हुन्छन्, त्यो समस्या समाधान गर्न एकदमै गाह्रो हुँदो रहेछ । करको हुन सक्छ, निर्यातको कुरा हुन्छ सक्छ, नीति नियमको हुरा हुन्छ, बजारीकरणको कुरा हुन सक्छ । तिनमा गाह्रो हुन्छ । हाम्रो जस्तो संस्थामा जोडिनुभयो भने, संगठनात्मक रूपमा गयो भने समस्याहरू पनि समाधान हुन्छ ।  महिलाहरू जो उद्यमशीलतामा आउनुभएको छैन, उहाँहरूलाई तपाईंको सुझाव के छ ?  उहाँहरूलाई सम्भाव्य उद्यमी भनौं न । रुचि भएको तर कसरी यो क्षेत्रमा आउने भन्ने कतिपयलाई हुन्छ । के गरौं, कसरी गरौं भन्ने किसिमको हुनुहुन्छ भने महिला उद्यमी महासंघले गर्ने कार्यक्रमहरू, तालीमहरू, वर्कशपहरूमा आउनुहोस् । न्यू व्यवसाय क्रिएशन भन्ने हाम्रो एउटा कार्यक्रम छ । त्यसमो कलेजको विद्यार्थी, गृहिणीहरू आउन सक्नुहुन्छ । त्यस्तो कार्यक्रम पहिला पनि हामीले धेरै गर्‍यौं, सफल पनि भएको छ । त्यसमा भाग लिनासाथ एक किसिमको प्रेरणा मिल्छ, यस्तो गर्ने रहेछ भनेर एक किसिमको आत्मविश्वास, ज्ञान पनि हुन्छ । यस्तो किसिमको कार्यक्रम गरिसकेपछि उहाँहरूले व्यवसाय शुरू गरेर सफल पनि हुनुभएको छ ।  अन्त्यमा, महिला उद्यमशीलताको विषयमा तपाईंलाई भन्न मन लागेको केही छ ?  मलाई के भन्न मन लागेको छ भने महिलाहरू कति हदसम्म पछाडि नै छन्, उहाँहरूलाई उद्यममा अगाडि बढाउनको लागि पहल गर्न मेरो नेपाल सरकारलाई निवेदन छ । हामीलाई मौका दिनुस् । बजारीकरणमै समस्या छ । सामानहरू बनेको छ, तर कहाँ लैजानु ? अहिले ठाउँ ठाउँमा कोशेली घरहरूको कन्सेप्ट पनि आएको छ । हामीले सरकारलाई बारम्बार के पनि भनिरहेका छौं भने, राष्ट्रिय स्तरमा क्राफ्ट भिलेज जस्तो उद्योग व्यवसायी महिलले आफ्नो सामान प्रदर्शन गर्ने, विक्री गर्ने खालको अवधारणामा काम गरौं । त्यस्तो ठाउँ उपलब्ध गराइदिएको खण्डमा महासंघले त्यस्लाई लिड गरेर सात ओटै प्रदेशका महिलाहको सामान हामीले प्रदर्शन गर्न सक्थ्यौं । त्यो चाहिं एकदमै ठूलो सहयोग हुन्थ्यो भन्ने कुरा हाम्रो पूरै टिमलाई लागेको छ ।    (विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepalमा जान सक्नुहुनेछ ।)