सहकारीको सबैभन्दा ठूलो डेरी बालाजुमा

सामूहिक कृषक डेरी सहकारी संस्थाले आगामी असोजदेखि दूध र दुग्धजन्य पदार्थको व्यावसायिक उत्पादन थाल्ने भएको छ । १० दुग्ध सहकारी र एक उपभोक्ता सहकारी संस्था मिलेर सामूहिक कृषि डेरी सहकारी संस्था गठन गरिएको बताइएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको डेरीले शुरुमा दैनिक ३० हजार लिटर दूध प्रशोधन गर्ने संस्थाका अध्यक्ष रमेशप्रसाद पाठकले बताए । डेरी सञ्चालनका लागि ११ सहकारी संस्थाले रू. ३ करोड लगानी गरेको बताइएको छ । कृषक सहकारी डेरीमा भक्तपुर दुग्ध सहकारी सङ्घ, ललितपुर दुग्ध सहकारी सङ्घ, काभ्रे दुग्ध सहकारी सङ्घ, जानकी दुग्ध उत्पादक सहकारी संस्था चितवन, भद्रकाली दुग्ध सहकारी संस्था चितवन, एकता दुग्ध सहकारी संस्था चितवन, कृषक परोपकार दुग्ध सहकारी संस्था चितवन, कंकाली दुग्ध उत्पादक सहकारी संस्था चितवन र चैनपुर गाविस चितवनको समेत शेयर लगानी रहेको छ । कृषक डेरी २०६५ साल माघमा दर्ता भएको थियो । डेरी सञ्चालनको लागि सहकारी संस्थाहरुबाट रू. १ करोड ६५ लाख रकम सङ्कलन भइसकेको र बाँकी रकम पर्यटक विकास बैंक ठमेलसँग ऋण लिने सम्झौता गरिसकिएको बताइएको छ । भारतको दिल्लीस्थित प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेजले डेरीका निम्ति आवश्यक उपकरण र मेशिन बालाजु औद्योगिक क्षेत्रभित्र जडान गरिसकेको छ । प्रवद्र्धकहरूका अनुसार नेपालमा सहकारी संस्थाहरूले सञ्चालन गरेको यो सबैभन्दा ठूलो डेरी हो ।   वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६