सुत्केरीमा कोराना सङ्क्रमण भेटिएपछि तीन गाउँ सिल

गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मी दरबार गाउँपालिकाका तीन वटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीन वटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ । । सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको आजदेखि कन्ट्याक्ट ट्रेसिङको प्रक्रिया शुरु गर्न थालेको छ । गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताउनुभएको छ । ती महिलालाई आरडीटी पोजिटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेज, प्रभासबाट स्वाब सङ्कलन गरेर भैरहवा पठाएकामा शनिबार पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।