चीनबाट रसुवागढी नाकाहुँदै भित्रियो १० कन्टेनर स्याउ

साउन २५, रसुवा । रसुवागढी नाकाबाट आइतवार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतबार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ ।             आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले बताएका छन् । स्याउ सड्ने गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए।             उनका अनुसार अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर ५० देखि ६० लाख रुपैयाँसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट भने प्रतिकन्टेनर  १ लाख रुपैयाँमात्र असुली हुन्छ । रसुवागढी नाकाबाट स्याउ आयातको परिमाण बढ्न थालेपछि व्यापारिक केन्द्रबाट सर्वसुलभ मूल्यमा खरीद गर्न सहज हुने उपभोक्ताले अपेक्षा राखेका छन् ।            राजस्व असुलीमा सुधार             यस्तै रसुवा भन्सार कार्यालयले चीनबाट आयात भएका माल सामग्रीबाट २३ दिनको अवधिमा भन्सार शुल्कबापत ५१ करोड ५३ लाख ३० हजार रुपैयाँ राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७७र७८ को यसै अवधिको तुलनामा यो अवधिमा ४५ दशमलव ७७ प्रतिशतले राजस्व वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।             यही साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करीब १५ करोड रुपैयाँ सवारी साधन आयातबाट प्राप्त भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए। नयाँ आवको शुरुदेखिनै निरन्तररूपले पिकअप एवं माइक्रोबसजस्ता सवारी साधन आयात बढ्न थालेको छ । नेपालमा निर्माणाधीन जलविद्युतका उपकरण, जुत्ताचप्पल, तयारी पोशाक, लसुन, अदुवा एवं अक्सिजन उत्पादनका उपकरण तथा सिलिन्डरका साथसाथै मेडिकललगायत विविध सामग्री आयात भइरहेको भन्सार कार्यालयले बताएको छ ।             पहिलो कहरको कोभिड–१९ का कारण चिनियाँ सवारी साधनले नै रसुवागढीसम्म माल सामग्री पु¥याउन थालेपश्चात् आयात भइरहेका माल सामग्रीको परिमाण भारी मात्राले घटेको छ । सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुई देशका छिमेकी अधिकारी बीच गत वर्ष मितेरीपुलमा सम्पन्न नियमित बैठकबाट दैनिक १५ कन्टेनर सामग्री नेपाल पठाउने सहमति भए पनि कोरोना सङ्क्रमणकै कारण हालसम्म सात कन्टेनर मात्र आयात भइरहेको भन्सार अधिकारीले बताए ।             कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि सीमा क्षेत्रमा स्वास्थ्यको पूर्ण मापदण्ड अपनाए र क्वारेन्टाइनमा बसेका सवारी चालक तथा कामदार मात्र परिचालन गरिएकाले पूर्ववत्रूपमा सामग्री पठाइदिन समकक्षी छिमेकी अधिकारीलाई आग्रह गरे पनि कार्यान्वयन हुन बाँकी रहेको भन्सार कार्यालयले बताएको छ । रासस  

सम्बन्धित सामग्री

चीनतर्फका नाका पुन: सञ्चालनमा

काठमाडौं । नेपाल चीन जोड्ने दुईओटा नाका तातोपानी तथा रसुवागढी नाका पुन: सञ्चालनमा आएका छन् । हिमपातका कारण दुवै नाकाबाट सामान नेपाल आउन सकेको थिएन । बाक्लो हिउँले सडक ढाकेपछि ठप्प भोटेकोशी गाउँपालिका–२ स्थित तातोपानी नाकाबाट शुक्रवार मात्रै १० ओटा कन्टेनर नेपाल आएको भन्सार अधिकारीको भनाइ छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुुसार ४ फीट अग्लो हिउँले सडक भरिएकाले १२० सीबीएमसम्म भारी बोकेका झन्डै सयओटा कन्टेनर भने न्यालम र खासा भ्यान पार्किङमै रोकिएका छन् । हिमपात कम भएसँगै ती नेपालतर्फ लोड गरेर ल्याइनेछ । यसअघि चीनका खासा र न्यालम क्षेत्रमा बाक्लो हिउँ पर्दा तातोपानी नाका बन्द थियो । शुक्रवारबाट भने कन्टेनर आवतजावत गर्न थालेका हुन् । त्यस्तै, हिमपातसँगै सुक्खा पहिराका कारण अवरुद्ध रसुवागढी नाका पनि सञ्चालनमा आएको छ । स्याफ्रुबेंशी–रसुवागढी खण्डको राजमार्गमा रहेको अवरोध हटाइएसँगै शुक्रवारदेखि नै पूर्णरूपमा सञ्चालन भएको छ । राजमार्ग खुला भएसँगै यात्रुवाहक बस, चीनबाट आयात मालसामान बोक्ने कन्टेनर डिब्बालगायत सबै प्रकारका सवारीसाधन निर्वाधरूपले आवतजावत गर्न थालेको स्थानीय प्रशासनको भनाइ रहेको छ । पहिराले क्षति बनाएको विद्युत् खम्बा तथा तारसमेतको व्यवस्थापन गरी टिमुरे तथा रसुवागढी क्षेत्रको अवरुद्ध विद्युत् नियमित भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । गोसाइँकुण्ड गाउँपालिका–३ वृद्धिम इलाका क्षेत्रअन्तर्गत कलाङकुलुङ खोलानजिक माथिबाट झरेको सुक्खा पहिराले राजमार्गको साथै विद्युत्, टेलिफोन तथा इन्टरनेटसमेतका सेवा यही २० गतेदेखि अवरुद्ध भएको थियो । राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयको अलावा, स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजनाले डोजर उपलब्ध गराई सहयोग गरेको प्रजिअ जैसीले बताए । ठूलो सुक्खा पहिरो भएका कारण सुरक्षाकर्मीको रोहवरमा सावधानीपूर्वक कार्य गराउँदा निकै समय खर्चिनुपरेको थियो । ठाडो भीरपाखाको राजमार्ग भएका कारण हुनसक्ने खतराबाट जोगिन स्याफ्रुबेंशी–रसुवागढी खण्डमा पैदलयात्रा गर्दा वा सवारीसाधन आवतजावत गराउँदा भू–धरातलको अवस्था हेरेर मात्र रोक्न वा अडिन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह समेत गरेको छ ।   लोड भएर रसुवागढीतर्फ हिँडेका कन्टेनर पनि केरुङमै रोकिन पुगेका थिए । व्यवसायीहरूका अनुसार हिमपात कम भएसँगै ती वस्तु नेपालतर्फ पठाउन थालिएको छ । तातोपानी तथा रसुवागढी दुवै नाका सञ्चालनमा आउन थालेसँगै खासगरी रेडिमेड र जुत्ता चप्पल, विद्युतीय सामाग्रीसहित नेपालतर्फ लोड भएर आउन थालेका छन् । चिनियाँ पक्षले हिमपात अघिसम्म दैनिक बिहान नौ कन्टेनर र साँझ २ कन्टेनर गरी दैनिक नौओटा कन्टेनरमार्फत रसुवागढीसम्म सामान निर्यात गर्दै आएको थियो । अवरोध खुलेसँगै रसुवागढीबाट सोही गतिमै समान आउन थालेको व्यवसायीहरूको भनाइ छ । चीनबाट नेपालतर्फ तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्रीलगायत वस्तुहरू आयात हुने हुने गर्छ । नेपालबाट चीनतर्फ धातुको मूर्ति, शृंगारका सामान, ऊनी, गलैंचा, कार्पेट, भाँडाकुँडालगायत मुख्य वस्तुहरू निकासी हुने गरेको छ ।

चीनबाट टिपर तथा एम्बुलेन्स आयात

असार १७, रसुवा । सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स चीनबाट रसुवागढी नाका हुँदै आयात भएका छन् ।  आयातको परिमाण २० अ‍ोटा ठूला टिपर एवम् एक एम्बुलेन्स रहेका छन् । ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङल्हामु राजमार्ग हुँदै पर्साको वीरगञ्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ताचप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् । आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौंतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार अग्रह गरिएको प्रहरीले जानकारी दिएको छ ।  कोरोना संक्रमणको जोखिम बढेसँगै पासाङल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ । अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवम् सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अंगले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् ।  चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट शिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशंका गर्ने ठाउँ नरहेको प्रहरीले जानकारी दिएको छ । कोभिड - १९ को जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ । रासस