पाल्पा ढाकाको राजधानीको रुपमा घोषित

चैत १३, पाल्पा । पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ । ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ ।  तानद्वारा उत्पादित ढाका कपडा ‘ब्राण्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई विकास गरिएको हो । लुम्बिनी प्रदेशका कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरे । सो अवसरमा मन्त्री घर्तीले ढाका कपडाको राजधानीका रूपमा विकास गरिएपछि यसको कारोबार बढ्ने जनाउँदै महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए । यस कार्यमा महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने र धेरैलाई स्वरोजगार बनाउने उनको भनाइ छ । सहसचिव दुवाडीले ढाकाको राजधानी बनेको पाल्पा अब अवसर र चुनौतीसमेत थपिएकाले उद्यमीको सीप विकास र उत्पादन बढाउनु पर्नेमा जोड दिए । तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए ।  संघका अध्यक्ष पूर्णमाया महर्जनले पाल्पाली ढाकाको नाममा बाहिर उत्पादन भएका ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिए । ‘ग्राहकको आँखा छल्न बाहिर उत्पादन भएका ढाका कपडामा पाल्पाको ट्याग लगाएर बेच्ने कार्यले पाल्पाली ढाका कपडाको बदनाम गराउने कार्य भयो, अब ब्राण्डिङ बनाएर बजार पठाएपछि ढाकाबाट कोही ठगिने छैन’, उनले भने । गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्राण्ड बनाएर बजारमा ल्याइएको जानकारी दिइएको छ ।  बाहिरबाट भित्रिएका ढाकाले उपभोक्ता मारमा परेपछि अब पाल्पाकै उत्पादन हो भनेर चिनाउन ब्राण्डसहितको ढाका बजारमा ल्याउँदा ग्राहक उत्साहित बनेका छन् ।  तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेपछि उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका थिए । पाल्पाली ढाकाको विविधिकरण गरी धेरै किसिमका वस्तु निर्माण भएका छन् । सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रूपमा अन्यत्र लैजाने गर्छन् । युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको हो । भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्थामा आएकाले यसबाट कुनै पनि ग्राहक ठगिन नपरोस् भनी ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा बजारमा ल्याइएको पाल्पाली ढाका संका व्यवस्थापक अनुशेष रायमाझीले बताए । उनका अनुसार ब्राण्ड बनेपछि कोही पनि ग्राहक अब ढाका कपडा खरीदमा नठगिने र पाल्पाको पहिचान बढ्नेछ । ढाका संघका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन् । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो । स्व गणेशमानले शुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उनकी श्रीमती पूर्णमायाले हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछन् । उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएका छन् ।  पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरीद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करीब ९० थरिका सामान उत्पादन गर्छन् । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् ।  बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डिङ लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग व्यापार फस्टाउने अवस्थामा छन् भने अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करीब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ । रासस

सम्बन्धित सामग्री

समृद्धिको गोरेटो कोर्न सकिन्छ

पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये तानसेन एक नगरपालिका हो । यो नेपालकै पुरानो नगरपालिका पनि हो । २००७ सालमै तानसेन नगरपालिका घोषित भएको थियो । तानसेनलाई ऐतिहासिक र पर्यटकीय नगरको रूपमा पनि लिने गरिन्छ । राणाकालअघि पनि पाल्पा पश्चिम नेपालको एउटा प्रमुख प्रशासनिक सहरका रूपमा रहे

८ महीनामा एकपल्ट मात्रै क्लिंकर आयात

काठमाडौं । स्वदेशमै उत्पादन बढेपछि क्लिंकर आयातका लागि बाहिरिने अर्बौं रकम जोगिन थालेको छ । चार वर्षअघि सिमेन्टको कच्चा पदार्थ क्लिंकर आयातमा ११ अर्ब रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । अहिले क्लिंकर आयातमा लगभग ब्रेक लागेको ताजा तथ्यांकले देखाउँछ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को ८ महीना (साउन–फागुन) मा जम्मा १९ हजार रुपैयाँ मूल्यको क्लिंकर आयात भएको छ । यस अवधिमा जम्मा एकपटक क्लिंकर आयात भएको हो । कात्तिकमा उक्त मूल्यको क्लिंकर आयात भएको देखिन्छ । भन्सार विभागका अनुसार गत आव २०७८/७९ को पहिलो महीना साउनमै ३ करोड ४३ लाख ९८ हजार रुपैयाँको क्लिंकर आयात भएको थियो । गत आव २०७८/७९ मा ३२ करोड १५ लाख रुपैयाँको क्लिंकर आयात भएको देखिन्छ ।   क्लिंकर सिमेन्टको कच्चा पदार्थ हो । अहिले क्लिंकर र सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ । केही उद्योगले यी दुवै वस्तु भारतमा निर्यात पनि गरिरहेका छन् । स्वदेशी आवश्यकताभन्दा बढी क्लिंकर र सिमेन्ट उत्पादन हुन थालेपछि पाल्पा र अर्घाखाँची सिमेन्ट उद्योगले यी उत्पादन निर्यात गरिरहेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ताराप्रसाद पोखरेल स्वदेशमा सिमेन्टको खपत कम हुँदा पछिल्लो समय क्लिंकर विक्रीमा समस्या भएको बताउँछन् । ‘सामान्य अवस्था अर्थात् पूर्वाधार निर्माणको सिजनमा करीब ८० प्रतिशतसम्म क्लिंकर खपत हुन्थ्यो, अहिले यो करीब ३० प्रतिशतमा झरेको छ,’ पोखरेलले आर्थिक अभियानसँग भने । संघका अनुसार अहिले क्लिंकर मात्रै उत्पादन गर्ने उद्योग १६ ओटा छन् । यी उद्योगले दैनिक ४० हजार मेट्रिक टन उत्पादन गर्छन् । सिमेन्ट खपत कम भएपछि उत्पादन क्षमता घटाइएको उपाध्यक्ष पोखरेलको भनाइ छ । पाल्पा ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको आरएमसी ग्रूपका कार्यकारी निर्देशक राजेशकुमार अग्रवालले राज्यको पूँजीगत खर्च कम हुँदा विकास निर्माण प्रभावित भई सिमेन्टको माग कम भएको बताए । विगतमा यस क्षेत्रमा लगानी बढ्दा अहिले मुलुक सिमेन्ट र क्लिंकरमा आत्मनिर्भर हुनुका साथै निर्यात पनि भइरहेको उनको तर्क छ । आरएमसी ग्रूपबाट उत्पादित सिमेन्ट गत असारदेखि निर्यात हुँदै आएको छ । अग्रवालका अनुसार अहिले क्लिंकर पनि निर्यात हुन्छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकाले पनि आफ्नो उद्योगले क्लिंकर निर्यात गर्न थालेको जानकारी दिए । ‘छोटो समयमै क्लिंकर आयात शून्यमा झरेको छ,’ मुरारकाले भने, ‘अर्घाखाँची र पाल्पा सिमेन्ट उद्योगले हालसम्म क्लिंकर र सिमेन्ट गरेर ३० हजार मेट्रिक टन भारत निर्यात गरिसकेका छन् ।’ ‘अर्घाखाँची’ ब्रान्डमा सिमेन्ट उत्पादन गर्ने मुरारकाको उद्योगले क्लिंकर पनि उत्पादन गर्छ । ‘आयातित क्लिंकर महँगो हुने तर स्वदेशमै रहेको कच्चा पदार्थ चुनढुंगाको उपयोग नहुने अवस्था विगतमा थियो,’ मुरारकाले भने, ‘स्वदेशी कच्चा पदार्थ सदुपयोगबाट अहिले मुलुक आत्मनिर्भर भएर पनि निर्यात गर्ने अवस्थामा आइपुगेको छ ।’ पछिल्ला वर्षमा यस क्षेत्रमा स्वदेशी र विदेशी दुवै व्यवसायीले ठूलो लगानी गरेका छन् । संघका अनुसार हालसम्म सिमेन्ट उद्योगमा ३ खर्ब रुपैयाँ लगानी भएको छ । २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम तीव्र हुँदा सिमेन्टको माग ह्वात्तै बढ्यो । त्यसपछि सिमेन्ट उद्योगमा स्वदेशी र विदेशी लगानी थपिने क्रम बढ्यो । संघका अनुसार नेपालमा अहिले करीब पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालनमा छन् । यी उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड ५० लाख मेट्रिक टन छ । उत्पादन क्षमताभन्दा माग कम हुँदा उत्पादकहरूले भारत निर्यातका लागि सहजीकरण गरिदिन सरकारसँग माग राख्दै आएका थिए । सरकारले निर्यातमा नगद अनुदान दिने बजेटमा घोषित कार्यक्रम कार्यान्वयन गरेसँगै उद्योगीहरूले सिमेन्ट र क्लिंकर निर्यात शुरू गरिसकेका छन् ।

कमला बिच भलिबलको सर्वोत्कृष्ट खेलाडी

पाल्पा । नेपाल पुलिस क्लबकी कप्तान कमला पुन सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । पाल्पाको तानसेनस्थित रानी महलमा भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी कमलाले पुलिसको लागि २७ अंकको योगदान दिएकी थिइन् । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै कमलाले २० हजार रुपैयाँ प्राप्त गरिन् । सर्वोत्कृष्ट खेलाडी […]

पाल्पा ढाका कपडाको राजधानी घोषित

१३ चैत, काठमाडौं । पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणाा गरिएको छ । सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा शनिबार पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको हो । नेपाली मौलिक ढाका कपडा उत्पादनमा पाल्पाले ख्याति कमाउँदै आएको छ । ढाका कपडाको उत्पादनलाई ब्रान्डिङ र प्रवर्द्धन गर्न ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको उद्योग वाणिज्य तथा […]

दुई परस्पर विरोधी आयोजना एकैपटक

नेपाल समाचारपत्र, पाल्पा । पाल्पामा सरकारको वजेटमार्फत् घोषित दुई परस्पर विरोधी आयोजना सञ्चालन हुन लागेका छन् । जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा जलयान सञ्चालन गर्ने र त्यही नदी थुनेर अर्थात डाइभर्सन गरी सिँचाइ र जलविद्युत् आयोजना कसरी सम्भव होला र ? अहिले जिल्लावासीको प्रश्न आयोजना प्रति देखिएको छ । कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा […]

मुलुकका थप ६ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोभिड–१९ संक्रमणको क्षेत्र विस्तार भएसँगै शनिवार आंशिक र पूर्ण गरी थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यससँगै शनिवारसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिवार राति १२ बजेदेखि र सात जिल्लामा आइतवारदेखि कार्यान्वयनमा आउने बताइएको छ । कुल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ । प्राप्त विवरणअनुसार शनिवार गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले बताएको छ । गुल्मीमा शनिवार राति १२, बाजुरामा बिहान ५ र उदयपुरमा आइतवार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आउनेछ भने प्यूठानमा शनिवार बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ । घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको ५०० मिटर दायाँबायाँ, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मंगलदारसम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरिएको छ । उक्त आदेश आइतवार राति १२ बजेदेखि कार्यान्वयन हुने बताइएको छ । यस्तै, गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा शनिवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतवार बेलुका ८ बजेदेखि लागू हुनेगरी निषेधको आदेश जारी गरिएको छ । यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा शनिवार राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डँडेलधुरामा आइतवार बिहान ६ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले बताएको छ । सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।   सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रूपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारीसाधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ । रासस