माघमा धितोपत्र बजारबाट सरकारको आम्दानी करीब ३५ करोड

काठमाडौं । एक महीनामा सरकारले धितोपत्र दोस्रो बजारका लगानीकर्ताबाट रू. ३४ करोड ६४ लाख ५ हजारभन्दा बढी कर संकलन गरेको छ । सरकारले माघमा मात्र धितोपत्र बजारका लगानीकर्ताबाट उक्त रकम बराबर कर संकलन गरेको हो । धितोपत्र बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गरेबापत सरकारलाई १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले ५ देखि ७ दशमलव ५० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।  व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी समय राखेर धितोपत्र विक्री गरेको खण्डमा ५ प्रतिशत र एक वर्षभन्दा कम समय राखेर विक्री गरेको खण्डमा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । दीर्घकालीन लगानीकर्तालाई धितोपत्र कारोबारमा प्रोत्साहन गर्ने उद्देश्यसहित पूँजीगत लाभकरमा लागू गरिएको यो व्यवस्थाले प्रभावकारी भूमिका भने खेलेको देखिँदैन । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले पछिल्लो समय अल्कालीन लगानीकर्ता कारोबारमा बढी सहभागी भएको जानकारी दिएका छन् । पूँजीगत लाभकरसमेत अल्कालीन लगानीकर्ताबाटै बढी संकलन भएको न्यौपानेको भनाइ छ । न्यौपानेले उपलब्ध गराएको तथ्यांकअनुसार माघ महीनामा मात्र अल्पकालीन लगानीकर्ताबाट रू. २४ करोड ६५ लाख ३१ हजार पूँजीगत लाभकर संकलन भएको छ । दीर्घकालीन लगानीकर्ताबाट भने रू. ९ करोड ९८ लाख ७४ हजार कर संकलन भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।  पुसको तुलनामा माघमा सरकारले रू. ९ लाख ५६ हजारभन्दा कम पूँजीगत लाभकर संकलन गरेको छ । पुसमा अल्पकालीन लगानीकर्ताबाट रू. २४ करोड ६८ लाखभन्दा बढी र दीर्घकालीन लगानीकर्ताबाट रू. १० करोड ४ लाखभन्दा बढी गरी कुल रू. ३४ करोड ७३ लाखभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । पुस महीनामा १ हजार ८८२ दशमलव ६० विन्दुदेखि बजार उकालो लागेर २ हजार १४९ दशमलव ३९ विन्दुमा पुगेको थियो । माघको कारोबारमा भने बजार २ हजार १२१ दशमलव ८६ विन्दुमा झरेको छ । पुस मसान्तसम्मको तुलनामा माघ महीनामा लगानीकर्ताको सम्पत्ति मूल्य रू. ४१ अर्ब १९ करोड ४९ लाखले घटेको छ । लगानीकर्ताले पुस महीनामा बढेको बजारबाट आफ्नो लगानीमा भएको नाफा माघ महीनामा बुक गरेको देखिन्छ । माघमा धितोपत्र दोस्रो बजारमा रू. ५३ अर्ब ४६ करोड ९० लाख बराबरको १४ करोड ८१ लाख ३४ हजार ६९२ कित्ता धितोपत्र खरीदविक्री भएको छ । पुसमा भने रू. ५८ अर्ब ८७ करोड ३५ लाखभन्दा बढीको १६ करोड ८४ हजार ८२५ कित्ता धितोपत्र खरीदविक्री भएको थियो । पुसको तुलनामा माघमा रू. ५ अर्ब ४० करोड ४४ लाखभन्दा कमको धितोपत्र खरीदविक्री भएको हो ।  महीना  कुल पूँजीगत लाभकर संकलन रू.   अल्पकालीन लगानीकर्ताबाट संकलन रू.  दीर्घकालीन लगानीकर्ताबाट संकलन रू.  माघ ३४६४०५८४१ २४६५३११७३ ९९८७४६६८ पुस ३४७३६२१८८ २४६८६७६६२ १००४९४५२६ फरक –९५६३४७ –३३६४८९ –६१९८५८ स्रोत : सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)