वायु प्रदूषणको जोखिममा पोखरा, पर्यटक आगमनमा असर पर्ने चिन्ता

कास्की । स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौं पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो समय पर्यटकीय नगरी पोखरा वायु प्रदूषणको चपेटामा पर्दै गएको छ । एक तथ्याङ्कअनुसार पोखराको वायु प्रदूषण दिनानुदिन बढ्दै गएको छ । स्वच्छ ऊर्जा नेपालले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार पोखरामा यसको दर बढिरहेको छ । सो संस्थाले पोखरामा वायु प्रदूषण मापन यन्त्र राखेर अध्ययन थालेको छ । संस्थाले पोखरामा राखेको मापन केन्द्रले बुधवार ८ः३० बजेको समयमा हावामा प्रदूषणको सूचक ३५१ देखाएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक वर्षा पराजुलीले जानकारी दिए । पोखरामा दैनिक, मासिक, त्रैमासिक तथ्याङ्कमा वायु प्रदूषण मात्रा बढ्दै गएको उनको भनाइ थियो । ‘हामीले सन् २०२२ देखि नै यो डिभाइस राखेर तथ्याङ्क लिने काम गरेका छौं,’ पराजुलीले भने, ‘पहिला महेन्द्रपुलमा राखेका थियौं, त्यहाँ सवारी आवागमन धेरै हुने भएकाले धेरै नै देखाउने भयो, अहिले नयाँबजार क्षेत्रमा राखेका छौं,’ यहाँ पनि दिनानुदिन प्रदूषण इन्डेक्स बढ्दै गएको छ ।’  सो यन्त्रको सूचकअनुसार शून्य देखि ५० सम्मलाई राम्रो, ५० देखि एक सयसम्मलाई नराम्रो, एक सयदेखि दुई सयसम्म अस्वस्थकर, दुई सयदेखि तीन सयसम्म अति अस्वस्थकर र तीन सयदेखि माथि खतरनाक मानिने उनले जानकारी दिए ।   पोखरामा बिहान ८ देखि दिउँसो १२ बजेसम्म प्रदूषणको मात्रा बढी हुने गरेको स्वच्छ ऊर्जा नेपालका प्राविधिक सल्लाहकार डा. भूपेन्द्र दासले बताए । यन्त्रबाट मापन गर्दा बढ्दो क्रममा भेटिएकाले पोखराले वायु प्रदूषण कम गर्ने विषयमा सोच्ने बेला भएको उनले बताए । ‘नोभेम्बर–डिसेम्बरमा अलि बढी नै वायु प्रदूषण हुन्छ,’ उनले भने, ‘तर अन्य समयमा समेत बढ्दो स्थितिमा छ ।’  जाडोयाममा पानी नपरेका कारण पनि वायु प्रदूषण बढेको प्राविधिक सल्लाहकार डा. दासले बताए । ‘वायु प्रदूषण कम हुनका लागि वर्षाको ठूलो भूमिका हुन्छ, यसपटक पोखरामा पानी परेन, यसले गर्दा पनि प्रदूषण झनै बढेको छ,’ उनले भने, ‘अर्को कारण काठमाडौंमा जस्तै विकासका काम भइरहेका छन्, यसले पनि प्रदूषणमा बढिरहेको छ ।’   डिजल पेट्रोलबाट चल्ने सवारीसाधन, निर्माण क्षेत्रबाट आउने प्रदूषण पनि वायू प्रदूषणको कारक हो । उद्योग, निर्माणस्थल, फोहर तथा कृषिउपज जलाउनु साथै वरिपरिका डाँडाका वनजङ्गलमा डढेलो लाग्नाले पनि पोखराको वायु प्रदूषण वृद्धि भएको डा. दासले बताए ।   यसले गर्दा पोखरावासीसँगै यहाँको पर्यटन क्षेत्रलाई असर गर्ने डा. दासले बताए । ‘वायु प्रदूषण बढ्नु भनेको स्वास्थ्यमा जोखिम बढ्नु हो,’ उनले भने, ‘पर्यटक नेपाल आउनुअघि वायु प्रदूषणको मापन चेक गर्छन्, त्यो बेला प्रदूषण बढेको भेटिएमा स्वास्थ्य जोखिममा राखेर कोचाहिँ पर्यटक आउलान् र ?’  प्रदूषण बढ्नेबित्तिकै मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने डा. दासले बताए । उनका अनुसार तत्काल रुघाखोकी, आँखा चिलाउने, टन्सिल, एलर्जीलगायत समस्या देखा पर्छन् । दीर्घकालमा मुटुसम्बन्धी रोग देखा पर्ने, हृदयघात, फोक्सो, स्वासप्रस्वासमा समस्या देखिन्छ । पोखराको बढ्दो वायु प्रदूषण रोक्न सरोकारवाला सजग हुनुपर्ने डा. दासले सुझाव दिए । डिजल–पेट्रोलबाट चल्ने सवारीसाधन समयसमयमा जाँच गर्ने, विद्युतीय सवारीसाधनको प्रयोगमा जोड, कृषि अवशेष र फोहरमैला जलाउन नहुनेलगायत काम गर्नुपर्ने उनको सुझाव थियो । सरकारी नीतिनियमको नागरिकले पालना गर्नुपर्ने उनले जोड दिए ।   पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुन्दर र स्वच्छ पोखराको विशेषतालाई जोगाउन महानगरले नीतिगत पहल थालेको बताए । पोखराको वायु प्रदूषण बढेको प्रति गम्भीर रहेको जनाउँदै उनले स्वच्छ वातावरणका लागि नीतिगतरूपमै कार्यक्रम तय गरिएको जानकारी दिए ।  ‘हामीले पोखरालाई हरियालीयुक्त सुन्दर र समृद्ध बनाउने नीतिगतरूपमा विभिन्न कार्यक्रम समेटेको कार्यान्वयनका लागि अगाडि बढाएका छौं,’ उनले भने ।  े महानगरले धेरै पहिले नै ४० माइक्रोनभन्दा तलका प्लास्टिक प्रयोग नगर्ने भन्ने निर्णय गरेको भए पनि कार्यान्वयनमा समस्या देखिएको जनाउँदै उनले अब त्यसतर्फ पनि चासो दिएको बताए । २० वर्षभन्दा पुराना सवारीसाधनको व्यवस्थापन साथै इलेक्ट्रोनिक सवारीसाधनका लागि यातायात व्यवसायीसँग छलफल भइरहेको उनले जानकारी दिए ।  सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सहरी विकास र वातावरण सन्तुलन कायम गरी नागरिकको जीवनयापनमा सुधार ल्याउने कार्यक्रम रहेको र कोइकाको ‘रिसाइकिल्ड’ र ‘अफसाइकिल्ड’ करिब रू. सात अर्बको वातावरणमैत्री योजना सञ्चालन हुन लागेको तथा करिब चार हजारलाई रोजगारी दिइने पनि प्रमुख आचार्यले जानकारी दिए ।  प्रमुख आचार्यले चार ठाउँमा अटोपार्क बनाएर सेन्ट्रलाइज्ड गर्ने, वर्कसपलाई बस्तीभन्दा पाँच सय मिटर टाढा राख्ने र औद्योगिक क्षेत्रका लागि एक हजार ६ सय रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएर वडा नं ३३ मा औद्यागिक क्षेत्र स्थापना गर्ने तयारी गरिएको जानकारी दिए । रासस