उखु किसानका दुःख (सम्पादकीय)

संसारभर नै उखुलाई नगदेबालीका रूपमा चिनिन्छ । नेपालको पहाडी भेगमा सामान्य घरेलु प्रयोजनका लागि उखु लगाउने लामो परम्परा भए पनि व्यावसायिक रूपमा उखु खेती भने तराई क्षेत्रमै गरिन्छ । डेढ दुई दशक यता देशको मैदानी भूभागमा व्यावसायिक उखु खेती बढेको थियो । तर बर्सेनि किसानले भोग्नु परेका समस्याका कारण किसान विस्तारै उखु खेतीबाटै विस्थापित हुँदै गएका छन् । चिनी उद्योगले समयमा उखुको रकम भुक्तानी नगर्नु परम्परागत रोगजस्तै बनेको छ । भुक्तानी पाउन जिल्ला जिल्लाबाट राजधानी आएर आन्दोलन नै गर्नुपर्ने अवस्था समेत आउने गरेको छ । किसानले पाउने अनुदानको रकमसमेत समयमा पाउन सकेका छैनन् । आइतबार मात्र यसै दैनिकमा प्रकाशित समाचारअनुसार सर्लाहीका किसानले अघिल्लो वर्षकै अनुदान रकम पाउन सकेका छैनन् । सरकारले अघिल्लो वर्षको उखुको मूल्य निर्धारण गर्दा प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान तय भएको थियो तर अझै पाएका छैनन् । सम्बद्ध अधिकारीहरूले अनुदान रकम जिल्लामा गइसकेकोले केही दिनमै पाउन सक्ने बताएका छन् । तथापि चालू आर्थिक वर्षको बजेट संसद्बाट पारित हुन आएको अवरोधले उखु किसानलाई समेत प्रभाव पर्न सक्ने औँल्याएको छ ।