पर्यटक घुमाएरै कुमरोज मध्यवर्ती सामुदायिक वनले कमायो सवा करोड

वैशाख १८, चितवन । गत वर्षदेखि महामारीको रुपमा फैलिएको कोभिड १९ले पर्यटन क्षेत्र थलिरहेको बेला चितवनको पर्यटकीय गन्तव्य कुमरोज मध्यवर्ती सामुदायिक वनले भने उल्लेखनीय आम्दानी गरेको पाइएको छ  । चालू आर्थिक वर्ष २०७७/ ०७८मा चितवनको खैरहनी नगरपालिका १३ स्थित उक्त सामुदायिक वनले आन्तरिक पर्यटक घुमाएरै करोडभन्दा बढी आम्दानी गरेको छ ।उक्त सामुदायिक वनले  चालू आवको नौ महीनामा १ करोड २५ लाख रुपैयाँ आम्दानी भएको बताएको छ । सामुदायिक वनका अध्यक्ष गणेश बहादुर श्रेष्ठले कोभिड कहरका बीच पनि सामुदायिक वनले राम्रो आम्दानी गरेको  बताए । वनमा चालू आवको कात्तिकबाट मात्रै पर्यटकको आवागमन शुरु भएको थियो । कोभिड १९ का कारण बाह्य पर्यटक आउने अवस्था छैन । अहिले फेरी कोभिडको दोस्रो लहर शुरु भएको छ । उनले भने, सेवा सञ्चालन भएपछि हामीले पछाडि फर्केर हेर्नु परेन ।’ उनका अनुसार बिगतका वर्षमा भन्दा चालू आवमा ६० प्रतिशतले कमी आएको छ । बिगतमा भन्दा यस वर्ष पर्यटन आवागमन प्रभावित भयो, आम्दानी पनि पहिलेभन्दा ६० प्रतिशतले कमी आयो, उनले भने, तर कोभिड १९ का बीच पनि १ करोड २५ लाख रुपैयाँ आम्दानी राम्रै हो । ’ गत आर्थिक वर्ष २०७६/ ७७ मा उक्त सामुदायिक बनले २ करोड रुपैयाँ आम्दानी गरेको  थियो । उक्त आर्थिक वर्षमा पनि कोरोनाले प्रभाव पारेको थियो । त्यसअघि आर्थिक वर्ष ७५/ ७६ मा वनले ४ करोड रुपैयाँ आम्दानी गरेकोे थियो । चालू आर्थिक वर्षको आम्दानी भने सबै आन्तरिक पर्यटकबाट मात्रै भएको हो । कुमरोज आउने पर्यटकका लागि जीप र हात्ती सफारीको व्यवस्था छ । जिप सफारी विसं २०७४ पुस  ११ गतेबाट शुरु गरिएको हो । हात्ती सफारी भने विसं २०४८ सालबाट नै शुरु भएको थियो । अहिले १२ ओटा निजी हात्तीले पर्यटक घुमाउने गरेका छन् ।  सामुदायिक वनमा पर्यटकका लागि  ९० ओटा जिपको लागि स्वीकृती भए पनि अहिले ५६ ओटा मात्रै सञ्चालनमा छन् । जसमा कुमरोजको मात्रै ३० ओटा रहेका छन् भने २६ ओटा कुमरोज कठारको संयुक्त जीप सफारी रहेको छ । जिपका लागि प्रवेश शुल्क १ हजार ५०० रुपैयाँ राखिएको छ । सामुदायिक वन भित्र चार ओटा मचान छन् । जसमध्ये दुई ओटा चालू अवस्थामा छन् भने दुई ओटा निर्माणाधीन अवस्थामा छन् । यस्तै सामुदायीक वन भित्रै बास बस्ने व्यवस्थासहितको मचान पनि रहेको छ । मचानमा आन्तरिक पर्यटकको हकमा एक रातको प्रतिव्यक्ति ६०० रुपैयाँ तथा बाह्य पर्यटकलाई एक रातको प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिने गरेको उनले बताए ।    आम्दानी संरक्षण र सामाजिक विकासमा   कुमरोज सामुदायिक वनले पर्यटक घुमाएर गर्ने आम्दानी पूर्वाधार निर्माण र सामाजिक विकासमा गर्ने गरेको छ । हरेक वर्ष हुने आम्दानी स्थानीय क्षेत्रको बिकास  वनको संरक्षण लगायतका क्षेत्रमा खर्चिने गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार आम्दानीको ६० प्रतिशत संरक्षणमा तथा ४० प्रतिशत पूर्वाधार निर्माणमा खर्च गरिन्छ । वन संरक्षणका लागि क्रंक्रिट वाल निर्माण गरिएको छ । प्रदेश सरकारको समेत सहयोगमा २ दशमलव ५ किलोमिटर क्रंक्रिट वाल निर्माण गरिएको छ । यस्तै २०० हेक्टरमा घाँसे मैदान तयार पारिएको छ । चालू आर्थिक वर्षमा मात्रै सामुदायिक विकासका लागि २५ लाख रुपैयाँ छुट्टाइएको छ । सामुदायिक वनले खाने पानीको धारा जडानका लागि प्रतिघर उपभोक्तालाई ६ हजार रुपैयाँ अनुदान उपलब्ध गराउँदै आइरहेको उनले वताए । अहिलेसम्म स्थानीय १५० घर धुरीले ६ हजार रुपैयाँको दरले अनुदान रकम लिइसकेका छन् । यस्तै उक्त सामुदायिक वनले किसानलाई दूधमा पनि प्रतिलिटर ५० पैसा अनुदान दिंदै आइरहेको छ । चालू आवमा अहिलेसम्म दूधमा किसानलाई १४ लाख रुपैयाँ अनुदान दिसकेको छ । यसबाहेक विपन्न वर्गलाई ५ देखि ३० हजार रुपैयाँसम्मको बिरामी खर्च र सुत्केरीलाई २ हजार रुपैयाँको दरले पोषण खर्च पनि दिने गरिएको वनका अध्यक्ष श्रेष्ठले बताए  । त्यसैगरी चालू आवमा स्थानीय सामुदायिक विद्यालयहरुलाई वनले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको  छ । यसबाहेक स्थानीय स्तरमा पूर्वाधार विकास निर्माणका लागि पनि सहयोग गर्ने गरिएको उनको भनाइ छ ।  

सम्बन्धित सामग्री

जंगल सफारीबाटै बर्सेनि २ करोड आम्दानी

सौराहा आउने अधिकांश पर्यटक हात्ती चढेर जंगल सफारीका लागि बाघमारा मध्यवर्ती सामुदायिक वन पुग्छन् । वनको छेउबाटै बगिरहेको बूढी राप्ती खोलामा डुंगा शयर गर्छन् अनि वनभित्र रहेको भ्यु टावरमा बसेर आनन्दले रात काट्छन् । वनले यहाँ आउने पर्यटक रिझाएर बर्सेनि करोडौं रुपैयाँ आर्जन गरिरहेको छ । बाघमारा यतिबेला जंगल सफारीका लागि नमुना वन मानिन्छ ।

निकुञ्जले हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायी खुशी

साउन १२, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भित्र पर्ने सामुदायिक वनमा हात्ती सफारी गर्न अनुमति दिएपछि सौराहाका व्यवसायीमा केही आशा पलाएको छ ।  साउन १ गतेदेखि चितवन प्रशासनले होटल तथा रेष्टुरेण्ट निश्चित मापदण्ड तोकेर खोल्न अनुमति दिएपनि पर्यटक नआउँदा व्यवसायीहरु निराश बनेका थिए । हात्ती सफारी सञ्चालनमा आएपछि पर्यटक गतिविधि बढ्ने भन्दै अहिले उनीहरु खुशी भएका हुन् ।  ‘हात्ती सफारी खुलेपछि व्यवसायी, माउते, गाइड, स्थानीय सबैले काम पाउँछन् ।’ यूनाईटेड हात्ती सञ्चालन सहकारी संस्था, सौराहाका अध्यक्ष ऋषि तिवारीले भने । सौराहाको पयार्यवाचीनै हात्ती भएकोले हात्ती बिना सौराहाको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ ।  हात्ती सफारी सौराहाका पर्यटनको मेरुदण्ड र आम्दानीकोे मुख्य स्रोत भएकोले पनि हात्ती सफारी अपरिहार्य हुने व्यवसायीले बताएका हुन् ।  कोरोनाको दोस्रो लहर शुरु भएपछि बन्द भएको हात्ती सफारी, जीप सफारी र ढुंगा सयर करीब तीन महीनापछि खुला गरिएको हो । पछिल्लो पटक वैशाख १६ गतेदेखि सौराहाको सफारी बन्द भएको थियो । सौराहा होटल रेष्टुरेण्ट सञ्चालनमा आएको १२ दिनपछि सफारी खुल्ला गरिएको हो । सामुदायिक वनमा सफारीको लागि निकुञ्जले टिकट खुल्ला गरेको हो । सौराहा यही साउन १ गतेदेखि ३३ प्रतिशत पर्यटक राख्न पाउने गरी होटलहरु आंशिक रुपमा खुला गरिएको थियो । क्षत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई हात्ती सफारी खुलेपछि मात्र सौराहा खुल्यो भन्ने सन्देश अन्तरराष्ट्रिय स्तरमा समेत जाने बताए । ‘हिजोसम्मपनि सौराहा सुनसान जस्तै लागेको थियो, उनले भने, हात्ती सफारी खुल्ने भन्ने बित्तिकै केही गतिविधि बढेको अनुभव गरेका छौं ।’ हात्ती सफारी खुल्ने वित्तिकै होटलका कर्मचारी, गाइडहरु आउनुका साथै स्थानीय पसल, मासुजन्य व्यवसाय लगायत सबै व्यवसाय चलायमान हुन लागेको उनको भनाइ छ । वर्षामा निकुञ्ज भित्र जीप सफारी सञ्चालन नहुने भएपनि सामुदायिक वनमा हात्ती सफारी गर्न पाउँदा सबैलाई राहत मिल्ने उनले बताए ।  हात्ती सफारी खुल्ने वित्तिकै बुकिङ पनि बढ्ने, पर्यटकको बसाई अवधि पनि बढ्ने र चहलपहल पनि बढ्ने रेष्टुरेण्ट एण्ड बार एशोसियसनका रेबानका अध्यक्ष दिेपेन्द्र खतिवडा बताउँछन् । ‘मुख्य गरी हात्ती सफारी गर्न नै सौराहा आउने हो, हात्ती सफारी खुलेपछि मात्रै यहांँ चहलपहल बढ्ने गर्दछ ।’ खतिवडाले भने । सौराहाको विशेषतानै हात्ती सफारी भएकोले आफूलाई खुशी मिलेको उनको भनाइ छ ।  बीसहजारी तालसहित पर्यापर्यटन सञ्चालन गरिरहेका यहाँका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र ढुंगा शयरको लागि खुल्ला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । सौराहामा आन्तरिक पर्यटक आउन थालेपछि व्यवसायीहरुको आग्रहका आधारमा मध्यवर्तीभित्रका सामुदायिक वनमा सफारी खुल्ला गरिएको उनले बताए । कोरोना महामारीको जोखिम कायमै रहेकाले तत्कालका लागि निकुञ्ज खुल्ला गर्ने अवस्था नरहेको भन्दै उनले अवस्था सामान्य बन्दै गएपछि  वर्षापछि निकुञ्ज खुल्ला गरिने उनले बताए । निकुञ्ज सफारीका लागि बाटो मर्मत गरेर मात्र निकुञ्ज खुला गर्ने योजना रहेको छ । हात्ती सफारीको लागि यहाँ निजी र सरकारी हात्ती झण्डै डेढसयको हाराहारीमा छन् ।  सामान्य  अवस्थामा चितवन निकुञ्जमा वार्षिक करीब २ लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन् । सौराहाको मुख्य आम्दानीको स्रोत निकुञ्ज र सामुदायिक वनमा सफारी हो । यहाँ घुम्न आएका पर्यटकहरु दुई रात तीन दिनसम्म बस्ने गरेका छन् । सौराहामा १२० भन्दा बढी पर्यटकीय होटल तथा ८५ ओटाको हाराहारीमा रेस्टुरेन्ट छन् ।

माहुतेलाई पथप्रदर्शक तालिम पनि

निकुञ्ज घुम्न आउने प्रायः पर्यटक सौराहा पुगेर हात्ती चढेकै हुन्छन् । एउटा हात्तीमा चार जना बसेर निकुञ्ज आडको बाघमारा या चित्रसेन मध्यवर्ती सामुदायिक वन डुल्छन् ।