बजार प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै

धरान । सुस्ताउँदै गएको धरानको बजारलाई प्रवर्द्धन गर्न सुनसरी उद्योग वाणिज्य संघले १० दिने ‘धरान एक्स्पो–२०७९’ आयोजना गर्ने भएको छ । धरानको आर्थिक गतिविधि चलायमान बनाउने तथा उपभोक्तालाई स्थानीयदेखि अन्तरराष्ट्रिय उत्पादन सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । एक्स्पो धरान–१६ स्थित रंगशालामा फागुन ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुँदै छ । एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्त, तयारी कपडा र घरेलु सामानका ७० स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए । धरानले अन्तरराष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु एक्स्पोको मुख्य उद्देश्य रहेको उनले बताए । एक्स्पोका संयोजक गोपाल श्रेष्ठले एक्स्पो अवधिमा १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको बताए । दैनिक ३० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । एक्स्पोमा भारत, बंगलादेश, पाकिस्तानबाट समेत व्यवसायी आउने जानकारी उनले दिए । एक्स्पो अवधिभर विभिन्न गोष्ठी आयोजना हुने उनले बताए । ‘फागुन १३ मा स्वरोजगार गोष्ठी आयोजना गरिनेछ,’ उनले भने, ‘धरानका होटल, टेम्पो, बस व्यवसायीलाई समेत समेटेर पर्यटन गोष्ठी गरिनेछ, खानेपानी समस्या समाधानको विषयमा पनि गोष्ठीमार्फत छलफल गर्छौं ।’